संसदमा आज ७ मन्‍त्रीले पालैपालो जवाफ फर्काउने

| 2018 Jun 26 | 08:43 am 3226

काठमाडौं, असार १२: आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिकाे मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आजबाट शुरु हुँदैछ ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले धारणा राख्ने र आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रावधान अनुसार आजबाट मन्त्रीले जवाफ दिन लागेका हुन् ।

पहिलो दिन ७ मन्त्रीले जवाफ दिने छन् । संघीय संसद् सचिवालयका अनुसार सञ्चार, खानेपानी, कृषि, कानून, पर्यटन, युवा तथा खेलकुद र महिला बालिकालिका मन्त्रीले आफ्ना मन्त्रालयको बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

जवाफ दिने क्रम १४ गतेसम्म चल्ने संसद् सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा बजेट सार्वजनिक गरेपछि बजेटमाथिको छलफल संसदमा शुरु भएको थियो । योक्रममा सांसदहरुले बजेटमाथि प्रश्न उठाएका छन् । स्वयं सत्तापक्षका सांसदहरुले समेत बजेटमाथि असन्तुष्टि जनाउँदै जवाफ मागेका थिए ।

अब सम्बन्धित मन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुन्छ । आउँदो आर्थिक वर्षको बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.