शिक्षा जीवनोपयोगी नभएकोमा शिक्षाप्रेमीहरुको चिन्ता

रिपोर्ट नेपाल | 2018 Jun 18 | 08:20 am 2529

रुपन्देहीको सदरमुकाम भैरहवामा काशी नोबल एकेडमीको आयोजनामा शैक्षिक उन्नयनमा भैरहवा क्षेत्रका अवसर र चुनौती विषयमा शैक्षिक बहस भएको छ । उक्त बहसमा अहिलेको शिक्षा जीवन उपयोगी र गुणस्तरीय नभएको प्रति शिक्षाप्रेमीहरुले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञान र प्रविधिको तीब्र विकास भइरहेको र त्यस्को प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्रमा देखिएको छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा स्वीकारेको र देश संघीयतामा प्रवेश गरे सँगै अधिकार सम्पन्न स्थानीय तहको जिम्मेवारी बढेता पनि त्यसतर्फ स्थानीय निकायले ध्यान नदिएको प्रति शिक्षाप्रेमीहरुले आपत्ति जनाएका हुन् ।

उक्त सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्न र संस्थागत विद्यालयका शिक्षकलाई राज्यले तोके बमोजिमको पारिश्रमिक दिलाउन स्थानीय सरकारले ताकेता गर्ने बताए । मुलुक संघीयतामा गइसकेको र स्थानीय सरकारलाई पूर्ण अधिकार आएकोले राज्यले एकद्वार करप्रणाली लागु गर्नुपर्ने प्रमुख अधिकारीले बताए ।

६५ वर्ष अगाडि आफूले भैरहवामा अध्ययन गरेको बताउँदै अहिले शिक्षा नीति परिवर्तन भइसकेको र विद्यालयको भौतिक संरचना पनि परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने शिक्षाप्रेमी नारायणप्रसाद अग्रवालले बताए । विगतमा बुटवलबाट उच्च शिक्षाकालागि विद्यार्थीहरु भैरहवा आउने गरेता पनि समयको माग अनुसार भैरहवा क्षेत्रका शिक्षण संस्था परिवर्तन हुन नसक्दा अहिले भैरहवाबाट उच्च शिक्षाका लागि बुटवल जाने क्रम बढ्दै गएको शिक्षाविद् बालकृष्ण भट्टराईले बताए । विगतमा शिक्षाको विकासको लागि सिद्धार्थ उद्योग वाणिज्य संघले अग्रहणी भूमिका खेलेको र अहिले पनि शिक्षा विकासमा महत्वपूर्ण योगदान गर्ने अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

भैरहवा क्षेत्रमा रहेका संस्थागत विद्यालयले शिक्षकको पारिश्रमिकमा कन्जुस्याई, विद्यार्थीसँग यातायात, शैक्षिक सामग्री, खेलकुद सामग्रीको लागि पैसा असुले पनि यातायातको राम्रो प्रबन्ध, खेलकुद सामग्री, खेल्ने मैदान अभाव जस्ता कारणले गर्दा भैरहवा शिक्षा क्षेत्रमा पछि परेको वक्ता मोती सुवेदी, डा. शम्भुप्रसाद गुप्ता, लक्किप्रसाद जोशी, विजय पाण्डे, पुनहरि बेल्बासे लगायतले धारणा राखेका थिए ।

कार्यक्रम काशी नोबल एकेडमीका अध्यक्ष मणिराम भट्टराईको अध्यक्षता प्रिसिन्सपल राजेन्द्र प्रसाद घिमिरेको स्वागत मन्तव्य, भ्वाइस प्रिन्सिपल श्रीबहादुर रायमाझीको कार्यपत्र प्रस्तुत र शिक्षक हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.