काठमाडौं, २५ जेठ : रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । रेल्वे विभागमा बरिष्ठ इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार शुक्रबारबाट रक्सौलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको अध्ययन सुरु भएको हो ।
पहिलो चरणमा चोभारमा उनीहरुले रेल्वे स्टेशन रहने स्थान हेरेका छन् । यो रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुने अनुमान छ । केरुङ हुँदै काठमाडौं आउने रेलमार्गसाग जोड्ने गरी यो रेलमार्ग बनाउन लागिएको हो । यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशतसुरुङ र पुलमा निर्माण गर्नुपर्छ ।
रक्सौलबाट वीरगञ्ज, निजगढ र बागमती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने उपाध्याय बताउँछन् । प्रराम्भिक सम्भाब्यता अध्ययनको रिपोर्ट अबको ३ महिनापछि मात्रै आउनेछ । यसको डीपीआर निर्माणका लागि भने करिब थप १५ महिना खर्चिनुपर्छ ।
करिब २ वषपछि मात्रै वीरगञ्जदेखि काठमाडौसम्म रेलमार्ग निर्माणका लागि खोस्रने कामसम्म सुरु गर्न सकिने अनुमान छ । रक्सौलदेखि वीरगञ्जसम्म खण्डमा भने यसअघि नै रेलमार्ग बनिसकेको छ । तर, यो रेलमार्ग यात्रु ओसारपसारका लागि नभई कोलकाता हुँदै रक्सौल आएको मालसामान वीरगञ्जको ड्राइपोर्टसम्म ल्याउनका लागि प्रयोग भएको छ ।