यसरी गर्न सकिन्छ राष्ट्रवादी र राष्ट्रघातीको पहिचान

रिपोर्ट नेपाल | 2021 Jun 10 | 04:14 pm 217

  • देवप्रकाश त्रिपाठी

कुनै पनि मुलुकको राजनीतिमा सर्वाधिक प्रयोग हुने शब्द हुन् देशभक्ति र राष्ट्रवाद । हरेक देशका नागरिक आफूलाई देशभक्त र राष्ट्रवादी ठान्दछन्, यतिसम्म कि देशभक्ति र राष्ट्रवादको अर्थ नबुझ्नेहरू समेत आफू खाँटी देशभक्त र राष्ट्रवादी भएको दाबी गर्ने गर्दछन् । आफ्नो देश या राष्ट्रको स्मरणले हरेक मानिसलाई तरङ्गित गराउँछ र, राष्ट्रप्रतिको ममता नै राष्ट्रवाद या देशभक्ति भएको बुझाइ आममानिसमा हुने गर्दछ ।

देश र राज्यका बारेमा विश्वव्यापी समान धारणा पाइए पनि राष्ट्रका बारेमा युरोपियन परिभाषालाई जबर्जस्ती मान्य तुल्याउन खोजिएको छ । युरोपियनहरू भाषिक, सांस्कृतिक र धार्मिक समुदायलाई राष्ट्र ठान्दछन् र, सोही दृष्टिकोणबाट संसारलाई हेर्ने गर्दछन् । अल्पविकसित मुलुकहरूमा अस्थिरता पैदा गराइ आफूअनुकुल परिस्थिति निर्माण गर्न पनि पश्चिमाहरूले यही (राष्ट्र राज्यको) परिभाषालाई अस्त्रका रूपमा प्रयोग गर्दै आएका छन् । हरेक समुदाय (धार्मिक, साँस्कृतिक, जातिय र भाषिक लगायत) लाई आफू अरुभन्दा भिन्न (विशिष्ट) भएको अनुभूति पैदा हुने गरी प्रशिक्षित गर्ने र, अर्को समुदायका कारण ‘यो’ समुदायको उन्नति-प्रगतिमा ब्यवधान पैदा भएको सन्देश प्रवाह गराइ परस्पर विवाद, तनाव र युद्धसम्म गराउने युरोपियनहरूको पुरानो रणनीतिक परम्परा हो । नाइजेरिया, रुवान्डा, बुरुण्डी, चीन र अफगानिस्तानदेखि असंलग्न राष्ट्रहरूको बेग्लै सङ्गठन निर्माण गर्ने मार्शल टीटोको देश युगोस्लाभियासम्मको इतिहास अध्ययन गरियो भने पश्चिमाहरूले राष्ट्रवादको आफ्नो परिभाषा स्थापित गर्दै विभिन्न मुलुकमा कसरी अस्थिरता पैदा गर्ने गरेका छन् भन्ने तथ्य बोध हुन आउँछ । युरोपियनहरू आफै पनि जाति, भाषा, धर्म र संस्कृतिका नाममा शताब्दी लामो लडाइँ लड्नेहरूमा पर्दछन् र, पृथ्वीमा आफ्नो अघोषित शासन जोगाइराख्न उनीहरू एकतावद्ध रहिआएका मुलुकमा जात, भाषा, धर्म, सँस्कृति र क्षेत्रका नाममा विभाजनको बिउ रोपिदिन्छन् ।

नेपाली राष्ट्रियता युरोपियन परिभाषा र तिनको मान्यताभन्दा नितान्त भिन्न छ । युरोपियनहरू भाषा, धर्म, संस्कृति र जातिका नाममा लामो युद्ध लडे र, सोही आधारमा उनीहरूले देश (राज्य) खडा गरेका हुन् । विविधतालाई विशिष्टिकृत गरी त्यसै आधारमा राज्य खडा गर्ने पश्चिमाहरूको अभ्यासभन्दा ठ्याक्कै भिन्न अभ्यासमा नेपाली राष्ट्रियताको विकास भएको छ । अनेक जाति, भाषा, धर्म र संस्कृति समुदायको साझा र सामूहिक प्रयासमा नेपाल देश (राज्य) खडा भएको हो, यो राज्य अप्रत्याशित रूपले बिनायोजना अस्तित्वमा आएको होइन । छिमेकमा इसाइहरू पूर्वीय संस्कृति, भाषा, धर्म र जनताबीचको एकता ध्वङ्श तुल्याउँदै दक्षिण एशियाको पूरै भुगोल आफ्नो काबुमा राख्न अग्रसर भएपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले ‘असली हिन्दूस्तान’ बनाउने औपचारिक घोषणासहित नेपाल एकिकरणको अभियान प्रारम्भ गरेका हुन् ।

जतिबेला नेपालमा पृथ्वीनारायण शाह बेलायती उपनिवेशवादविरुद्ध देशभक्तिको युद्ध लडेर आफ्नो धर्म, संस्कृति, भाषा, सभ्यता, इतिहास र अस्तित्व रक्षाका निम्ति जनतालाई एकतावद्ध तुल्याउँदै थिए त्यसैताक अमेरिकामा पनि बेलायती उपनिवेशविरुद्ध स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो । उक्त आन्दोलनको अगुवाइ गर्नेमध्येका एक थोमस पेनले पृथ्वीनारायण शाहको देशभक्ति र बहादुरीको चर्चा गर्दै शाहले बृटिष सेनालाई पराजित गरेको घटनाबाट पाठ सिक्न अमेरिकी जनतालाई आग्रह गरी पर्चा छरेका थिए ।

अङ्ग्रेजी (इसाइ) हरूसँग कुटनीतिक एवम् भौतिक लडाइँ लडेर सनातनी सभ्यता, धर्म, संस्कृति र मौलिकताको रक्षाका निमित्त हिमालको काखमा एउटा बलियो राज्य (देश) खडा गर्ने योजनावद्ध प्रयासबाट आधुनिक नेपालको स्थापना भएको हो । यो देश पृथ्वीनारायण शाहको अगुवाइमा मगर, गुरुङ, ब्राह्मण, शिल्पी, नेवार, राई, लिम्बु, मुसलमान र मधेशीलगायत सबै भाषिक, सांस्कृतिक र जातीय समुदायको संयुक्त प्रयासबाट स्थापित भएको हुनाले सबै नेपाली देशप्रति स्वामित्व बोध गर्छन्, जो गर्दैनन् ती नेपाली होइनन्, हुन सक्दैनन् । सबै मिलेर एउटा देश स्थापना गरी नेपाली राष्ट्रियताको विकास गरेका हुनाले युरोपियन परिभाषाले हाम्रो राष्ट्रियतालाई समेट्न सक्दैन । विविधताभित्रको एकत्व नै नेपाली राष्ट्रवाद हो । पश्चिमाले झैँ यहाँ जाति, भाषा, भूगोल र संस्कृतिका आधारमा राष्ट्रियता निर्धारण गर्ने र सोहीबमोजिम राज्य निर्माण गर्ने हो भने यहाँ एक सयभन्दा बढी राज्य (देश) अस्तित्वमा आउने अनुमान गर्न सकिन्छ ।

चार वर्ण छत्तिस जातको साझा फूलबारीलाई पश्चिमा प्रायोजित अवधारणाअनुरुप बुझ्ने र विभक्त गर्दै जाने हो भने नेपालको अस्तित्व भूगोलमा नभइ युगोस्लभिया झैँ विश्व-इतिहासको पानामा मात्र सीमित हुन पुग्नेछ । त्यसैले जो व्यक्ति या समूह बहुराष्ट्रिय राज्यको वकालत गर्छन् तिनलाई नेपालको अस्तित्व मेट्न खटाइएका देशका बैरीका रूपमा बुझियो भने शतप्रतिशत गल्ती हुने छैन । विविधतामा उत्पन्न एकत्व नै नेपाली राष्ट्रवाद हो र, यसबाहेक अन्य अर्थ दिने कुनै पनि सोच नेपाल र नेपालीको हितप्रतिकुल छ ।

जतिबेला नेपालमा पृथ्वीनारायण शाह बेलायती उपनिवेशवादविरुद्ध देशभक्तिको युद्ध लडेर आफ्नो धर्म, संस्कृति, भाषा, सभ्यता, इतिहास र अस्तित्व रक्षाका निम्ति जनतालाई एकतावद्ध तुल्याउँदै थिए त्यसैताक अमेरिकामा पनि बेलायती उपनिवेशविरुद्ध स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो । उक्त आन्दोलनको अगुवाइ गर्नेमध्येका एक थोमस पेनले पृथ्वीनारायण शाहको देशभक्ति र बहादुरीको चर्चा गर्दै शाहले बृटिष सेनालाई पराजित गरेको घटनाबाट पाठ सिक्न अमेरिकी जनतालाई आग्रह गरी पर्चा छरेका थिए । देशको धर्म, संस्कृति एकता र अस्तित्व विरोधीहरूसँगको सहकार्यमा ज्यान पाल्दै आएका केही डलरजीवीहरू अहिले पनि पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन र अपमान गर्न तल्लीन छन् । पृथ्वीनारायणले नेपाल नामक देश खडा गरिदिएकोमा जुन पीडा तत्कालिक ब्रिटिष-इण्डियन शासकहरूले बोध गरेका थिए, तिनका पीडा बाबुराम आदि नेपाली नागरिकताको प्रमाणपत्रधारीहरूबाट यो समयमा प्रकट भइरहेका छन् । त्यसर्थ हामी नेपालीले आफ्नो अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका निम्ति एकतावद्ध भइ ‘केही गर्न’ विलम्ब भइसकेको छ ।

पृथ्वीनारायणले नेपाल नामक देश खडा गरिदिएकोमा जुन पीडा तत्कालिक ब्रिटिष-इण्डियन शासकहरूले बोध गरेका थिए, तिनका पीडा बाबुराम आदि नेपाली नागरिकताको प्रमाणपत्रधारीहरूबाट यो समयमा प्रकट भइरहेका छन् ।

राष्ट्रवाद र देशभक्तिको परिभाषा अलिक जटिल ढङ्गले भएका छन् । कैयन मानिस देश, राष्ट्र र राज्यलाई बेग्लाबेग्लै परिभाषामा बुझ्न खोज्दैनन् या सक्दैनन्, एउटै या उस्तै ठान्छन् । राष्ट्र, राज्य र देशलाई सरल ढङ्गले बुझ्न हामी घरलाई प्रतीक बनाएर हेर्न सक्छौँ । घर भनेको देश, घरमा बस्ने सदस्यहरू राष्ट्र र घर-सञ्चालनको संयन्त्र, प्रक्रिया र प्रणालीचाहिँ राज्य हो । सिङ्गै घर, करेसाबारी र खेतबारीसमेतमा साझा र समान स्वामित्व बोध गराउने प्रणालीलाई एकात्मक भनेर बुझ्न सकिन्छ भने करेसाबारीतर्फको मालिकत्व एउटालाई, कोठापिच्छेको स्वामित्वबोध बेग्लाबेग्लै सदस्यलाई, बार्दली, आँगन र कौशीको अपनत्व अर्कालाई गराउने प्रणालीलाई हामी सङ्घीयता भन्न सक्छौँ ।

सङ्घीय या एकात्मक राज्यप्रणालीका बारेमा यहाँ वर्णन गर्न खोजिएको होइन । को राष्ट्रवादी/देशभक्त र को राष्ट्रद्रोही/देशघाती हुन् भनी पहिचान गर्ने मापदण्डका विषय बुझ्नुअघि देश, राष्ट्र र राज्यका बारेमा स्पष्ट हुनुपर्ने भएकोले मात्र यहाँ घरलाई प्रतीक बनाएर राष्ट्र, देश र राज्यबीचको अन्तर स्पष्ट गर्ने प्रयास गरिएको हो । निश्चित भौगोलिक सीमासहितको मानव बसोबास भएको, स्वतन्त्र सार्वभौमिक अभ्यास नै वास्तवमा देश हो भने जनताचाहिँ राष्ट्र हुन् । र, सार्वभौमिक स्वतन्त्रताको उपयोग गर्दै जनहित (भूगोल समेत) का निम्ति विधिसम्मत ढङ्गले स्थापित गरिएका संयन्त्र, प्रणाली र प्रक्रियाचाहिँ राज्य हो, जसको नेतृत्व र सञ्चालन सरकारले गर्ने गर्दछ ।

कुनै पनि घर खडा हुन मजबुत जगाधारको अनिवार्यता भएजस्तै देश अर्थात् राष्ट्र अर्थात् राज्य अस्तित्वमा रहन पनि जगाधारको अपरिहार्यता रहन्छ । यसर्थ, नेपाल राष्ट्र पनि निश्चित जगाधारमा उभिएको छ भनेर बुझ्नुपर्ने हुन्छ । नेपालको जगाधार के-के हुन् भन्ने विषयमा स्पष्ट भएपछि को-को जगाधार ध्वस्त पार्न लागिपरेका छन् र, के गरियो भने देशको जग बलियो हुन सक्छ भन्ने प्रश्नमा विचरण गर्नुपर्ने हुन्छ । जग भत्काउनेहरू कहिल्यै घरका संरक्षक या इमानदार सदस्य नभएजस्तै देशको जगाधार ध्वस्त गर्नेहरूलाई पनि देशभक्त या राष्ट्रवादी मान्न सकिँदैन । कम्युनिष्टहरू सिद्धान्ततः कहिल्यै देशभक्त या राष्ट्रवादी हुन सक्दैनन् । साम्यवाद बुझेका साम्यवादी अर्थात् कम्युनिष्टजनले कम्युनिष्टहरू देशभक्त/राष्ट्रवादी हुँदैनन् भन्ने कुरालाई खुशीसाथ स्वीकार गर्दछन् । कुनै अर्कै उद्देश्यले कम्युनिष्ट पार्टीसँग जोडिएका तर मार्क्सवाद र लेनिनवादबारे कुनै ज्ञान नपाएका ‘कम्युनिष्ट’लाई मात्र कम्युनिष्टहरू देशभक्त/राष्ट्रवादी हुँदैनन् भन्ने कुराले क्रुद्ध तुल्याउन सक्छ । लेनिनको राज्य-विलोपसम्बन्धी सिद्धान्त र मार्क्सवादलाई राम्रोसँग बुझ्ने कुनै पनि मानिस कम्युनिष्ट बन्नु भनेको देशभक्त र राष्ट्रवादी नबन्नु हो भन्ने विषयमा स्पष्ट हुन्छन् ।

कम्युनिष्ट भएर पनि चीनका माओ त्से तुङ र विघटित सोभियत सङ्घका जोसेफ स्टालिन राष्ट्रवादी र देशभक्त थिए भनियो भने त्यो पूरै गलत हुने छैन । यिनका देशभक्तिका कुरा आवश्यक परे कुनै सन्दर्भमा चर्चा गर्न सकिन्छ । लेनिनको मृत्युपश्चात ‘सोभियत सङ्घ’को सर्वेसर्वा शासक बनेका स्टालिनले सुदूर भविष्यसम्म सोभियत सङ्घ जोगिने राष्ट्रिय आधार खोजे, तर उनले एउटै आधार भेटेनन् । सबै पन्ध्र प्रान्त (राज्य)हरूलाई जोड्ने, जोडिरहने र, सबैका निम्ति साझा अपनत्व र स्वामित्व बोध गराउने कुनै एउटा पनि आधार नभेटिएपछि स्टालिनले सोभियत सङ्घको पन्ध्र वटै प्रान्तमा विद्यालय तहदेखि नै रसियाली भाषालाई अनिवार्य गरिदिए । शिक्षा र प्रशासनिक कार्यमा रसियन भाषा अनिवार्य भएपछि कालान्तरमा सबैले सो भाषामा साझा स्वामित्व बोध गर्ने र त्यसले (रसियन भाषाले) नै सोभियत सङ्घको एकता र अस्तित्व चीरकालसम्म जोगाइरहने विश्वास स्टालिनमा थियो । शुरु-शुरुमा कतिपय राज्यहरूले अस्वीकार गरे पनि स्टालिन आफ्नो निर्णय कार्यान्वयन गराउन सफल भएका थिए । तर पछि ‘ग्लास्नोस्त र पेरेस्त्रोइका’को नारासहित सोभियत सत्तामा उदाएका मिखाइल गोर्बाचोभले सन् १९८६ मा स्टालिनको नीति भङ्ग गर्दै सबै राज्यहरूले रसियन भाषाको अनिवार्यतालाई अस्वीकार गर्न सक्ने घोषणा गरिदिए । यस्तो घोषणापछि राज्यहरूले रसियन भाषाको बिदाइ मात्र गरेनन्, सोभियत सङ्घबाट अलग हुने निर्णयसमेत लिए । यसरी राष्ट्रियता र राष्ट्रिय एकताको एउटै आधार नरहेपछि ‘सोभियत सङ्घ नामक कुनै समयको महाशक्ति राष्ट्र विश्व इतिहासको एउटा पानामा सीमित हुनुपरेको छ ।

अरु कुनै उपलब्धि हासिल गर्न नसके पनि हिन्दूराष्ट्रका रूपमा पूरा जगतले नेपाललाई चिनेको थियो र, राष्ट्रियताका दृष्टिले हाम्रो जस्तो सानो तथा विपन्न मुलुकका निम्ति यो ज्यादै महत्वपूर्ण पक्ष हो ।

भौगोलिक र जनसाङ्ख्यिक दृष्टिले सानो भए पनि राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरूको तुलनात्मक अध्ययन गर्दा नेपाल विश्वकै ‘सम्पन्न’ मुलुकको कोटिमा पर्दछ । नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका कम्तिमा दश अधार रहेका छन् । जगाधार यथेष्ठ नभइदिएको भए दुई विशाल र शक्तिशाली मुलुकहरूको बीचमा नेपाल देश खडा हुन र यसको अस्तित्वले निरन्तरता पाइरहन सम्भव नरहन सक्थ्यो । नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका आधारहरूलाई यसरी बुझ्न सकिन्छ ।

(क) नेपाली भाषा

देवनागरी लिपिको नेपाली भाषा नेपालीहरूको साझा भाषा हो । नेपालमा नेवारी, तामाङ, गुरुङ, राई, लिम्बु, थारु, राजबंशी, शेर्पा, मैथिली र भोजपुरीलगायत दर्जनौँ भाषा बोलिन्छन् र यी भाषाहरूलाई नेपाल राज्यको आफ्नो सम्पत्तिका रूपमा लिइन्छ । तर सबै भाषिक समुदायबीच सञ्चार गराउने नेपाली भाषा सबै नेपालीको साझा भाषा बनेको छ र, सबैले स्वामित्वबोध पनि गरेका छन् । त्यसैले नेपाली भाषा नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको बलियो जगाधार बनेको छ ।

(ख) भौगोलिक सीमा

हरेक देशहरूको राष्ट्रियता र राष्ट्रिय एकताको एउटा प्रमुख आधार भौगोलिक सीमा बनिरहेको हुन्छ र, स्वाभाविक रूपले नेपाली राष्ट्रियताको एउटा मूख्य आधार यसको सीमाना हो । उत्तरतर्फ विकट हिमाल र दक्षिणतर्फ समतल भूमिमा निर्धारित सीमानाप्रति हरेक नेपाली संवेदनशील रहिआएका छन् ।

(ग) हिन्दूराष्ट्रको पहिचान

हिन्दूराष्ट्रको पहिचानमा नेपाल रहने कुराले बहुसङ्ख्यक नेपालीको भावनात्मक प्रतिनिधित्व गर्दछ । संसारमा छपन्न मुलुकहरूले आफूलाई इस्लामिक पहिचान दिएका छन् भने चौहत्तर घोषितसहित कुल एक सय चौध मुलुकले इसाइत्वको अभ्यास गरिरहेका छन् । विश्वका नौ देशले आफूलाई बौद्धमार्गी र एउटाले यहुदी मुलुकका रूपमा आफ्नो पहिचान कायम राखेका छन् । साठी प्रतिशत मात्र मुसलमान रहेको मलेशियाले समेत आफूलाई इस्लामिक राष्ट्र घोषणा गरेको छ । संसारका सवा अर्बभन्दा बढी जनताले नेपाल एक मात्र हिन्दूराष्ट्र भएकोमा गौरव महसूस गरेका थिए । हाम्रो स्थितिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न नसक्नु राज्य सञ्चालकहरूको कमजोरी हो । अरु कुनै उपलब्धि हासिल गर्न नसके पनि हिन्दूराष्ट्रका रूपमा पूरा जगतले नेपाललाई चिनेको थियो र, राष्ट्रियताका दृष्टिले हाम्रो जस्तो सानो तथा विपन्न मुलुकका निम्ति यो ज्यादै महत्वपूर्ण पक्ष हो । त्यसैगरी तराइ र पहाडको भावना जोडी आन्तरिक एकतालाई सबल तुल्याउने सूत्र पनि हिन्दूत्वबाहेक अर्को अहिलेसम्म भेटिएको छैन ।

(घ) नेपाली सेना

विश्वका सबैभन्दा पुरानो सैन्य सङ्गठनहरूको सूचीमा नेपाली सेनाको नाम अग्रभागमा आउँदछ । जुन सेनाले देशको एकिकरण गऱ्यो, जसले हाम्रो धर्म, संस्कृति एकता र सीमाको रक्षा गरिरहेको छ, यो सेना नै नेपाली राष्ट्रियताको बलियो आधार बनेको छ र, बनिरहने छ ।

(ङ) राष्ट्रिय राजनीतिक दल

प्रजातन्त्रमा राष्ट्रिय राजनीतिक दलहरू पनि राष्ट्रिय र राष्ट्रिय एकताको बलिया आधार हुन्छन् । दलहरू विभिन्न तहका कमिटीहरू निर्माण गर्छन् र, निश्चित विचार-सिद्धान्तमा आस्था राख्ने सुदूर गाउँ-गाउँका मानिसलाई पार्टीमा जोडेर एउटै देश, एउटै राष्ट्र र एउटै लक्ष्य भएको अनुभूति दिलाउँछन् । जुन अनुभूतिले राष्ट्रियताको भाव जगाउँछ ।

(च) राजसंस्था

वैचारिक रूपमा कतिपय मानिस गणतन्त्रका पक्षपाती हुन सक्छन्, तर राष्ट्रियताका दृष्टिले राजसंस्था बलियो आधार हो । विश्वमा नेपाल मात्र त्यस्तो देश हो, जहाँ जुन राजाबाट देशको एकिकरण भयो तिनैको बंशले राजसंस्थाको प्रतिनिधित्व गरिरहेको छ । राजाहरूले अरु जुनसुकै कार्य गरे पनि राष्ट्र र राष्ट्रियता कमजोर तुल्याउने प्रकारका काम कहिल्यै गर्दैनन् । नेपालले २०६५ देखि हालसम्म गरेको गणतन्त्रात्मक अभ्यासले पनि राष्ट्रियताको सबलिकरणका निम्ति राजसंस्था नै उचित र अपरिहार्य रहेको सन्देश दिएको छ । राष्ट्रपतिलाई आलङ्कारिक बनाइएको हुनाले राष्ट्रपतिको विशेष भूमिका अपेक्षा गरिँदैन । जे निर्णय सरकारले गर्छ त्यसलाई पालना गर्न राष्ट्रपति बाध्य हुन्छन् । तर राजसंस्था सरकारले निर्णय नै गरे पनि राष्ट्रियतासम्वद्ध विषयहरूमा अलिक ज्यादा गम्भीर र संवेदनशील हुने गर्दछ । प्रजातन्त्रकालमा भएका कतिपय घटना-सन्दर्भले पनि राजाहरू देशभक्त र राष्ट्रवादी हुन्छन् भन्ने देखाएको हो । मौलिक सभ्यता, इतिहास, धर्म, संस्कृति र देशबासीहरूको एकता एवम् हित रक्षाका निम्ति राजसंस्थाको भूमिका महत्वपूर्ण हुने गर्दछ । दलगत भावनाभन्दा माथि उठेर तटस्थ भूमिका निर्वाह गर्न सक्ने र सबै देशबासीहरूले समान हक तथा स्वामित्व बोध गर्न पाउने राज्यसंयन्त्रभित्रको वजनदार निकाय राजसंस्था हो ।

(छ) एकिकृत सार्वभौमिकता

नेपाल जस्तो सानो, विपन्न र संवेदनशील भूअवस्थितिमा रहेको मुलुकका निम्ति सार्वभौमिकताको खण्डिकरण राष्ट्रियता र राष्ट्रिय एकताका दृष्टिले सर्वथा गलत हुन्छन् । तीन तहको सरकार नेपालका निम्ति अधिक खर्चिलो र बोझिलो हुने र कालान्तरमा राज्य असफलताको कारण बन्ने त छँदैछ, यसले राष्ट्रिय एकता र सुदृढ राष्ट्रियतामा पनि सदैव चुनौती दिइरहेको हुन्छ । त्यसैले नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका निम्ति अखण्डित सार्वभौमिकता नै शतप्रतिशत उपयोगी र उपयुक्त हुन सक्छ । खण्डित सार्वभौमिकता स्थायी तनाव, विवाद र कालान्तरमा मुलुक विभाजनको मूख्य कारण बन्ने भएकोले पनि एकात्मकता नेपाली राष्ट्रियताको एउटा बलियो आधार बनेको हो ।

(ज) जातीय एकता र सामाजिक सद्भाव

नेपाल नामक देश अस्तित्वमा आउनु र गौरवमय इतिहास बनाउँदै सुन्दर भविष्यको आशा कायम राख्न सक्नुको एउटा कारण विभिन्न जातीय समुदायबीच एकता र सामाजिक सद्भाव कायम रहनुलाई मानिन्छ । जातीय एकता र सामाजिक सद्भावबिना नेपालको अस्तित्व जीवित रहने विश्वास गर्न सकिँदैन । पृथ्वीनारायण शाहले जातीय एकता र सद्भावमा निकै जोड दिनुको कारण पनि यही थियो । पछिल्ला दशकमा कृत्रिम ढङ्गले उठाइएका जातीय मुद्दाहरूले नेपाललाई सम्भावित जातीय द्वन्द्वको डिलमै पुऱ्याइदिएको छ । कुनै पनि निहुँ र समयमा यदि जातीय द्वन्द्व शुरु भयो भने त्यसले नेपालको स्वतन्त्र राष्ट्रिय अस्तित्व मेटेर मात्र विश्राम लिने सम्भावना देखिएको छ । त्यसर्थ जातीय एकता र सामाजिक सद्भावलाई पनि नेपाली राष्ट्रियताको मजबूत आधार मान्न सकिन्छ ।

(झ) मिश्रित समाज र निश्चित समुदायको विस्तारित बसोबास

नेपाल विभिन्न संस्कृति तथा जातजातिको सङ्गम भूमि हो । जातिअनुसारको रोजाइ र रोजाइअनुसारको बसोबासले नेपालको कुन भूक्षेत्रमा कुन जातिको बसोबास छ भन्ने तथ्य नेपालप्रति रुचि भएका हरेकलाई अवगत हुन सक्छ । तथापि केही समुदायको बसोबास नेपालको हरेक पालिकामा विस्तारित भएको पाइन्छ । खासगरी नेवार, क्षेत्री, ब्राह्मण र शिल्पी (हाल दलित भनिका) समुदायको बसोबास विस्तार भएर देशको अधिकाङ्श भूभागसम्म पुगेको छ । यसले बेग्लै ढङ्गको सामाजिक सम्बन्धको सञ्जाल बनाएर राष्ट्रियता र राष्ट्रिय एकता प्रवर्द्धनमा विशिष्ट योगदान पुऱ्याइरहेको छ । झापाको नेवारको सिलगुडीका नेवारसँग, ताप्लेजुङको क्षेत्रीको कञ्चनपुरको क्षेत्रीसँग, झापाका ब्राह्मणको दार्चुलाका ब्राह्मणसँग र कालिकोटका शिल्पीको भोजपुर या वीरगञ्जका शिल्पीसँग कायम हुने वैवाहिक या अन्य सामाजिक सम्बन्धले अन्ततः भित्रभित्रै राष्ट्रिय भाव र राष्ट्रिय एकताको प्रत्याभूति दिलाइरहेको हुन्छ ।

(ञ) झण्डा, भगवान बुद्ध र सगरमाथा

हरेक नेपाली आफ्नो विशिष्ट राष्ट्रिय झण्डाप्रति गौरवबोध गर्दछन् । त्यस्तै, भगवान गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथा पनि नेपालीहरूले गौरव महसुस गर्ने साझा सम्पत्ति हो । विश्वमै एक मात्र त्रिकोणात्मक राष्ट्रिय झण्डा, भगवान बुद्ध र सगरमाथाले नेपाल र नेपालीको राष्ट्रिय पहिचानमा उच्च योगदान दिएको छ । सबै नेपालीले अपनत्व बोध गर्ने हुनाले उल्लिखित तीनवटै निधिले राष्ट्रिय एकत्वको भाव पनि पैदा गराउँदै आएको छ ।

तर २०६३ को राजनीतिक परिवर्तनपश्चात उल्लिखित दशवटै आधार कमजोर बनाइएको छ । नेपाल उभिएको जगका दशमध्ये सबैजसो आधारहरू नष्ट गरिएको छ । सबै नेपालीहरूको मौलिक धर्म संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र मेटिएको छ, राजसंस्था विस्थापित गरेर गणतन्त्रात्मक अभ्यास गरिएको छ, नेपाली सेनालाई दुर्बल, बदनाम र कमजोर पार्ने अनेकौँ प्रयास हुँदै आएका छन्, एकीकृत सार्वभौमिकता विभाजन गरेर सात खण्डमा भाग लगाइएको छ र निश्चित भूक्षेत्रमा निश्चित जातीय या क्षेत्रिय समुदायको मात्र बसोबास रहने गरी पृष्ठभूमि बनाइएको छ । सगरमाथा र बुद्धमाथिको एकलौटी स्वामित्व कायम हुन सकेको छैन । राष्ट्रिय झण्डा फेर्नुपर्ने आवाज पनि उठिरहेका छन् । राष्ट्रिय राजनीतिक दलहरू पनि जातीय र क्षेत्रियतावादी समूहहरूको उदयका कारण आफ्नो राष्ट्रिय बर्चस्व राख्न असफल भएका छन् ।

उल्लिखित दश आधारहरूका पक्षमा उभिनु भनेको देशभक्त राष्ट्रवादी बन्नु हो र, जसले राष्ट्रियता र राष्ट्रिय एकताका दश जगाधारका विपक्षमा आफूलाई उभ्याएका छन् तिनलाई राष्ट्रवादी या देशभक्त मान्न किमार्थ सकिँदैन । कतिपय मानिसमा भारतको विरोध गर्नुलाई मात्र राष्ट्रवाद ठान्ने प्रवृत्ति पनि संस्कारका रूपमा विकसित भएको छ । सबैको विरोध राष्ट्रवाद या देशभक्तिको स्थायी आधार हुन सक्दैन, नेपालको पक्षमा बन्ने दृष्टिकोणले मात्र मानिसलाई राष्ट्रवादी-देशभक्त सिद्ध गर्न सक्दछ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.