मिहिनेत र भाग्य सँगसँगै

रिपोर्ट नेपाल | 2024 Jan 28 | 09:24 am 549

काठमाडौँ, माघ १४। नेपाल यू–१९ क्रिकेट टोलीलाई दक्षिण अफ्रिका विश्वकप खेल्न जानुअघि विदाइका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको लक्ष्य दोस्रो चरण रहेको बताइरहेका थिए । पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान जस्ता राष्ट्रसम्मिलित कठिन समूहबाट उम्कन सजिलो नरहेको थाहा पाउँदापाउँदै पनि अध्यक्ष चन्द आफ्नो टोलीलाई हौस्याउन खोज्दै थिए ।

 

अध्यक्ष स्वयंले यो तथ्य बुझेका थिए, नेपालसामु यो समूहबाट दोस्रो चरण पुग्न ठूलो चुनौती छ । तर, उनले त्यसका लागि प्रशिक्षक जगत टमाटाको खेल पृष्ठभूमिलाई अगाडि सारेका थिए । उनी भन्दै थिए, ‘हामीसँग भाग्यमानी प्रशिक्षकको साथ छ, त्यसैले नेपाल दोस्रो चरणमा पुग्ने विश्वास लिएको छु ।’

अध्यक्षको विश्वाससँगै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा शुक्रबार इस्ट लन्डनको बफेलो पार्कमा नेपालले अफगानिस्तानमाथि १ विकेटको महत्त्वपूर्ण विजय हात पारेको थियो । धेरै अर्थमा अफगानिस्तानमाथि ऐतिहासिक रहेको यो विजयसँगै नेपाल समूह ‘डी’ बाट तेस्रो टोलीको रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले अब सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्नेछ ।

‘मलाई सबैले भाग्यमानी प्रशिक्षक भन्छन्, म भाग्यमानी नै हुन सक्छु । तर, मैले व्यक्तिगत रूपमा धेरै मिहिनेत गरेको छु । खेलाडीले पनि मेरो प्रशिक्षणमा राम्रो खेलेकै कारण नतिजा आएकाले भाग्यमानी बनेको हुनसक्छ,’ उनी आफ्नो गुरुमन्त्र सुनाउँछन्, ‘मैले टोलीका परिश्रम पनि धेरै गर्छु ।’

उनकै प्रशिक्षणमा गत वर्ष यूएईलाई फाइनलमा उसैको भूमिमा पराजित गरी नेपालले एसिया क्षेत्रको छनोट प्रतियोगिता जितेर यू–१९ विश्वकपको टिकट काटेको थियो ।

प्रशिक्षक टमाटाका लागि नेपाललाई यू–१९ विश्वकपको दोस्रो चरणमा पुर्‍याउनु भने यो कुनै नौलो होइन । उनकै प्रशिक्षणमा नेपाल सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपको क्वाटरफाइनल पुगेको थियो । त्यहाँ पनि नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।

संयोगले त्यसयता नेपाल ८ वर्षपछि पहिलो पटक युवा विश्वकप खेल्दै छ । नेपालले खेलेका आठ यू–१९ विश्वकपमा टमाटाको प्रशिक्षण जीवनको यो चौथो संस्करण हो । सन् २००८ मा श्रीलंकाका रोय डायस प्रशिक्षक रहँदा टमाटा सहायक प्रशिक्षक थिए । पारस खड्काको कप्तानीमा रहेको त्यो टोलीले मलेसियामा जिम्बावेलाई पराजित गरेको थियो । २०११ मा टमाटाकै मुख्य प्रशिक्षणमा नेपाली टोली एसीसी यू–१९ कपको फाइनल पुग्दै आयरल्यान्डमा भएको ग्लोबल छनोटबाट विश्वकप पुगेको थियो । अस्ट्रेलियामा नेपालले यू–१९ विश्वकप खेल्दा उनी पुबुदु दासानायकेका सहायक थिए ।

सन् २०१६ मा उनी पहिलो पटक मुख्य प्रशिक्षक हुँदा नेपाल यू–१९ ले न्युजिल्यान्डलाई सिकार बनाएको थियो र त्यसलाई निरन्तरता दिँदै शुक्रबार दक्षिण अफ्रिकामा अफगानिस्तानमाथि ठूलो विजय हात पारेको थियो । सन् २०११ अघिसम्म नेपाली यू–१९ ले अफगानिस्तानलाई नियमितजस्तै पराजित गर्ने गर्दथ्यो । त्यसयता भने अफगानिस्तानमाथि नेपालको पहिलो विजय हो । अर्को अर्थमा अफगानिस्तानमाथिको जित नेपाली यू–१९ को टेस्ट मान्यताप्राप्त राष्ट्रसँग अर्को विजय पनि थियो ।

नियमित प्रशिक्षणबाहेक उनी अरू बेला पनि खेलाडीलाई लिएर जान्छन् । हरेक तीन दिनको प्रशिक्षणपछि एकदिन विश्राम हुन्छ । उनी विश्रामका दिन संयुक्त प्रशिक्षणमा लय मिलाउन नसकेका खेलाडीलाई ‘अप्सनल प्रशिक्षण’ मा लिएर जान्छन् । अर्थात् उनी साता, महिनाभर नै प्रशिक्षणमा व्यस्त हुन्छन् । रणनीतिमात्र होइन खेलाडीहरूलाई ‘इन्जोय’ गर्न उनी आफैं जोड गर्छन् र सकारात्मक पक्ष खोज्छन् । मुख्य कुरा उनी धेरै मिहिनेत नै गर्छन् ।

नेपालले यसअघि खेलेका सात विश्वकप कहिल्यै अफ्रिकाको भूमिमा थिएन । त्यसैले दक्षिण अफ्रिकामा विश्वकप खेल्नुलाई उनले ठूलो चुनौतीको रूपमा लिएका थिए । आकाश चन्दको ५ विकेट र कप्तान देव खनालको अर्धशतकपछि नेपालले अफगानिस्तानमाथि पाएको विजयमा उनी आफ्नो प्रशिक्षण टोलीमा रहेकाहरूप्रति कृतज्ञ छन्, जसले अफगानिस्तानबारे नेपाली टोलीलाई पुरापुर सूचना दिएको थियो ।

‘त्यही भिडियोअनुसार बनाएको रणनीतिमा बलरहरूले जहाँ बल फाल्नु भनेको थिएँ, त्यहीं बल फालेका थिए । आकाश र गुलशन (झा) ले बलिङमा राम्रो सुरुआत गरे, स्पिनरहरूले पनि त्यही लयमा बल फालेका थिए,’ इस्ट लन्डनबाट प्रशिक्षक टमाटाले भने, ‘उनीहरू यस विश्वकपको पहिलो दुई खेलमा सानो स्कोरमा आउट भएकाले ब्याकफुटमै थिए । त्यसको फाइदा पनि हामीले लिएका हौं । त्यही योजनाअनुसार उनीहरूलाई १ सय ५० रनमा अलआउट गरेमा खेल जित्न सकिन्छ भन्ने थियो ।’

देवले कप्तानी जिम्मेवारी लिएर खेलेको भन्दै प्रशिक्षक टमाटा तल्लोक्रममा ब्याटिङ गरेका सुवास भण्डारीको विशेष तारिफ गर्छन् । १ सय ४६ रनको लक्ष्य पाएको नेपालले स्कोर बराबरी गरेको अवस्थामा सुवासले विजयी चौका प्रहार गरेका थिए । उनी ९ रनमा अविजित रहे । ‘उनले तीनवटै खेलमा तल्लोक्रममा गएर राम्रो ब्याटिङ गरेका छन्,’ न्युजिल्यान्डविरुद्ध अविजित ३३ र पाकिस्तानविरुद्ध २० रन बनाएका सुवासका बारेमा टमाटाले भने, ‘उनले उपयोगी रन बनाउनुका साथै महत्त्वपूर्ण साझेदारी पनि गरेका थिए ।’

डिसेम्बरमा दुबईमा भएको एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई पराजित गर्ने नेपाललाई राम्रो मौका थियो, तर राम्रो स्थितिमा रहेको नेपाल ४० ओभरमा १ सय ८८ रनमा अलआउट भएपछि ७३ रनले पराजय स्वीकार्न बाध्य भएको थियो । यो प्रदर्शनलाई एक तह माथि लैजाने हो भने अफगानिस्तानमाथि विजय हात पार्न सकिन्छ भन्ने नेपाली टोलीले बुझेको थियो । त्यसैमा नेपालले आफूलाई प्रमाणित गरेको थियो ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । पहिलो दुई खेल हारे पनि नेपालले राम्रो क्रिकेट खेल्दै चुनौती दिएको मान्छन् प्रशिक्षक टमाटा । जति मिहिनेत गर्नुपर्ने हो अफगानिस्तानसँगको खेलमै गर् भनेर आफूहरू मैदानमा उत्रिएको टमाटा सुनाउँछन् । यू–१९ को स्तरमा टोलीले बनाएको योजना खेलाडीहरूलाई मैदानमा उतार्न निकै गाह्रो हुन्छ । तर, प्रशिक्षकको भाषामा आफ्ना खेलाडीले अफगानिस्तानसँग टिमले बनाएको योजना टपक्कै टिपेर उतारे । जसमा मिहिनेत र भाग्य दुवै मिसिएको थियो । (कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.