-
वसन्त भुजेल
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा व्यक्तिगत रुपमा म पराजित भएँ । केन्द्रीय सदस्यका लागि मैले दिएको उम्मेदवारीलाई बहुमत साथीहरुले अस्वीकार गर्नु भयो । तर पनि म धेरै खुसी छु । वीपी कोइरालको निधन पछि नेपाली कांग्रेसले सात वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । यी सात मध्ये ६ वटा महाधिवेशनले चार वर्षका लागि मात्रै नेतृत्वको सुनिश्चितता गरेका थिए भने भरखरै सम्पन्न १४औं महाधिवेशनले कम्तिमा दुई दशकसम्मका लागि नेपाली कांग्रेसको भविष्य सुरक्षित गरेको छ ।
आठौं महाधिवेशनसम्म प्रतिनिधिहरुले सभापति छान्ने र सभापतिले पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने परम्परा थियो । १२औं महाधिवेशन देखि प्रतिनिधिहरुले सभापति मात्रै होइन पदाधिकारी र केन्द्रीय सदस्य समेत छान्ने परिपार्टी सुरु भएको हो । १४औं महाधिवेशनले ७७ वर्षीय देउवालाई पुन एक कार्यकालका लागि सभापति पदमा निर्वाचित गरेको छ । उपसभापति पदमा ५५ वर्षीय धनराज गुरुङलाई निर्वाचित गरेको छ । उमेरको हिसावले सभापति देउवा र उपसभापति गुरुङ बाबुछोरा भन्न मिल्छ । यसैगरी ४५ वर्षीय गगन थापालाई माहामन्त्री पदमा निर्वाचित गरेको छ । ३५ वर्ष उमेर आसपासका थुप्रै केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बाजेदेखि नातिसम्मको प्रतिनिधित्व भएको छ ।
देउवा पहिलो पटक प्रधानमन्त्री बन्दै गर्दा प्रावि स्कुलमा पढ्दै गरेकाहरु अहिले देउवाकै नेतृत्वको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । कुनै पनि राजनीतिकदलका लागि यहाँ भन्दा सुखद भविय अर्को के हुन सक्ला ? त्यसैले केन्द्रीय सदस्यपदमा आफ्नो पराजयले मलाई रत्तिभर पनि दुखी तुल्याएन, बरु खुसी तुल्यायो । वास्तवमा यस पटम मेरो उम्मेदवारी प्रतिकात्मक मात्रै थियो । अपांगता भएकाहरुका लागि नेपाली कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गरेको सन्देश प्रवाहका लागि मेरो उम्मेदवारी थियो । केन्द्रीय सदस्यका रुपमा जिम्मेवारी पाए केही न केही गरेर देखाउन सक्छु भन्ने आत्माविश्वास थियो, तर चुनाव जित्नका लागि पूर्वतयारी खासै गरेको थिइन । चुनाव भनेको प्राविधिक कुरा पनि हो । मेचीदेखि कालीसम्मबाट प्रतिनिधिहरु आउँछन्, उनीहरुसम्म आफूलाई प्रस्तुत गर्नुपर्छ र विश्वास जित्न सक्नु पर्छ । तर मैले अचानक उम्मेदवारी दिएँ । धेरै महाधिवेशन प्रतिनिधिहरुले थाहा नै पाउनु भएन । करिव ५ सय उम्मेदवारको सूचिमा मेरो नाम खोज्ने, चिन्ने र मत हाल्ने साथीहरु कति रहेछन् त ? भन्ने परीक्षा दिन पनि मैले खोजेको थिएँ । आफूले पाएको नम्वरबाट म अत्यन्त सन्तुष्ट छु । अब अर्को महाधिवेशनको तयारीका लागि पाठ सिकेको छु ।
यस प्रसंगमा आफ्नै बारे केही कुरा उल्लेख गर्न चाहन्छु । आदरणीय पाठक वर्गले अन्यथा लिइदिनु हुने छैन भन्ने मलाई विश्वास छ । म भुजेल जात तथा कुलमा जन्मे । हाम्रो देशको संविधानले लोकतान्त्रिक गणतन्त्र मात्रै होइन मुलुकले समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्वन गरेको छ । नेपाली कांग्रेसले पनि आफ्नो विधानमा सोही अनुकुलको व्यवस्था गरेको छ । सबै जात जाति, समुदाय, भुगोलको प्रतिनिधित्वको सुनिश्चितताका लागि गरिएको यो व्यवस्थालाई सह्रानीय मान्नु पर्छ । तर यो व्यवस्था अन्तरगत भुजेल जातिका लागि ठाउँ खोइ त ? भन्ने प्रश्न पनि त्यतिकै पेचिलो छ । वास्तवमा भुजेल जातिले अहिलेसम्म सही पहिचान पाउन सकेका छैनन् ? के हो भुजेल जाति ? के कारणले यो जाति अहिलेसम्म बहिस्करणमा परिरहेको छ ? भन्ने तर्फ मुलुकका नीति निर्माताहरुले चासो देखाएको पाइन्न । भुजेल जातिको इतिहास खोतल्दै जाने हो भने सेन राजवंश सँग जोडिन्छ । पाल्पालाई गोर्खालीहरुले जितेपछि पाल्पाली सेनहरुको भागाभाग भयो । आफ्नो जातीय पहिचान दिँदा जिउ ज्यान, तथा सम्पत्ति माथि नै खतरा हुने अवस्था आएकोले धेरै जसो सेनहरु जहाँ जुन जातिको बाहुल्यता छ, त्यहीँ समाहित भए । यस क्रममा केही सेनहरु मगरमा र केही सेनहरु क्षेत्रीमा रुपान्तरण भए । केही सेनहरुलाई दास बनाइयो । केही सेनहरु राज्यको पहुँच भन्दा टाढा जंगलमा लुक्न थाले । साह्रा सम्पत्ति लुटिएकोले केही सेनहरु अरुको सेवक बनेर बसे । जसमध्ये एकथरी बाग्लुङ क्षेत्रको भुजेला जंगलमा लुकेर केही वर्ष जिवोकोपार्जन गर्दै छुट्टै सभ्यता कायम गरे । जो भुजेल जातका नामले चिनिए । राणाकालमा भुजेललाई मासिने मतुवालीको सुचिमा राखियो । न जग्गा जमिन, न धन सम्पत्ति, न शिक्षा दिक्षा, भुजेलहरु पुस्तौ पुस्तासम्म गरिवीको दुस्चक्रमा फँसे । अहिले पनि अधिकांश भुजेलहरु गरिवीको रेखामुनी छन् ।
मेरा पिताजी रुद्रबहादुर भुजेलले पंचायतीकालमै विद्रोह गर्नु भयो । पंचायतीशासन अन्त्यका लागि नेपाली कांग्रेसमा आवद्ध भएर संघर्ष गर्नु भयो । २०१८ साल, २०३६ साल, २०४२ साल र २०४६ साल लगायत जनअधिकार प्राप्तिका लागि नेपालमा भएका सबै आन्दोलनमा मेरा पिताजीले सक्रीय भुमिका निर्वाह गर्नु भयो ।
आफु तोते बोल्ने र वल्लोघर पल्लोघर हिँडडुल गर्न थाले देखि नै नेपाली कांग्रेसका लागि काम गर्न थालेको हुँ जस्तो मलाई लाग्छ । बाल्यकालमा नेपाली कांग्रेसका प्रचार सामाग्रीहरु झोलामा राखेर ओसार पसार गरेको याद मलाई छ, यद्यपी ति के थिए ? भनेर बुझ्ने बेला भइसकेको थिएन । २०३६ सालको विद्यार्थी आन्दोलन तथा २०३७ सालको जनमत संग्रहको बेला भने म बुझेरै बहुदलको पक्षमा सक्रीय भएँ । त्यतिबेला ९ कक्षा पढ्थेँ । गुल्मी जिल्ला सदरमुकाम तमघासमा रहेको महेन्द्र माध्यमिक विद्यालय विद्यार्थी राजनीतिकको केन्द्र थियो । त्यतिबेला गुल्मीमा क्याम्पस थिएनन् । सदरमुकामको हाइस्कुल भएका कारण त्यहीबाट विद्यार्थी राजनीतिको गतिविधि अघि बढ्यो । म नेवि संघको अध्यक्ष बने । मलाई अध्यक्ष तत्कालिन विद्यार्थी नेता त्रैलोक्य प्रताप सेनले बनाउनु भएको हो भने नेविसंघ तत्कालिन प्रधानाध्यापक ज्ञानहरी आचार्य, छवी खरेल, भेषराज पन्त, दीर्घबिक्रम शाह गुरुहरुले बनाउनु भएको हो । विद्यालयतहको परीक्षा उत्रिर्ण गरेपछि मेरा सामु दुई वटा बाटो देखा पर्यो । एकातिर निरंकुश पंचायती व्यवस्था विरुद्ध अन्तरआत्मादेखि नै ज्वालामुखी फुटिरहेको थियो । तर पठन पाठन र राजनीतिलाई सँगै अघि बढाउन घरयासी आर्थिक स्थितिका कारण असम्भब बनेको थियो । त्यो बेला बेलायती सेनामा भर्ती हुने चलन थियो । तलव र सुविधा निकै आकर्षक थियो । ब्रिटिश लाहुरेको सामाजिक प्रतिष्ठा अझ माथि थियो । १६–१८ वर्ष काम गरेपछि पेन्सन समेत हुने भएकोले मैले ब्रिटिश सेनामा भर्तीहुने बाटो रोजेँ । त्यस पछि राजनीतिमा लागौंला भन्दै व्रिटिश सेनामा गएँ । सौभाग्यबस मैले व्रिटिश सेनामा पनि इन्जिनियरिङमा उच्च शिक्षाको अवसर पाएँ । यसै त व्रिटिश सेनाको आकर्षक जागिर, त्यस माथि पनि इन्जिनियर । मेरा लागि यो चानचुने अवसर थिएन । पन्ध्र वर्षसम्म वेलायती सेनामा इन्जिनियरका रुपमा कार्यरतरहँदा मैले पैसा मात्रै कमाइन, धेरै उपयोगी अनुभवहरु हासिल गरे । अफ्रिका, एसिया र संयुक्त राष्ट्रसंघमा कामगर्दा आफ्नो मुलुक नेपालका लागि अनुकुल हुने धेरै अनुभव र सिप हासिल गरेँ । ब्रिटिश सेनावाट अवकास भई नेपाल फर्कदा बहुदलीय व्यवस्थाको स्थापना भइसकेको थियो । राजनीतिक संघर्ष गर्नु पर्ने अवस्था रहेन । भौतिक पुर्वाधार विकास र आर्थिक समृद्धि मलुकको एजेण्डा बनिसकेको थियो । आफूले सिकेको, ज्ञान, सीप तथा अनुभवलाई नेपालको उन्नतीमा लगाउने अभियानमा म होमिएँ ।
काठमाडौंको भैसेपाटीको संयुक्त आवास नेपालको सबैभन्दा नमुनामुलक मानिन्छ । त्यो मेरै अवधारणा तथा डिजाइन हो । यो नेपालको पहिलो संयुक्त आवास क्षेत्र समेत हो । आवास क्षेत्रको नमुना तयार गरेपछि सिंचाइको नमुना तयारीमा जुटेँ । बबई सिंचाई योजनाको डिजाइन मैरै अवधारणा हो । नमुनामुलक आवास क्षेत्र र नमुनामुलक सिंचाई आयोजना तयार गरेपछि नमुना मुलक सडक निर्माण गर्नुपर्छ भन्ने सोच मलाई आयो । मैले पहाडी र हिमाली क्षेत्र जोड्ने डुम्रे बेसिशहर सडक रोजेँ । त्यतिबेला राज्य सँग बजेट थिएन । विश्व बैंक सँग म आफैले सहजकर्ताको भूमिका निर्वाह गरे । किनकी विश्व बैंकले मलाई विश्वकै उत्कृष्ठ इन्जिनियरको सुचिमा राख्दै गोल्ड क्वालिटी अवार्ड पाएको थिएँ । मेरो प्रस्ताव विश्वबैंकले हतपत अस्वीकार गर्दैनथ्यो । तर मैले सोचे अनुसार डुम्रे बेशिशहर सडक बनेन ठूलो षड्यन्त्र भयो । मेरै आफ्नै कराडौं रुपैंया यो सडक निर्माणका क्रममा फस्यो । अझै फिर्ता पाएको छैन । तर म निरास भइन, कटारी हाइवेमा नेपाली सेना र वेलायती सेनाको लागि लजिष्टीक सपोर्टको काम समेत गरेर थोरै भए पनि आर्थिक उपार्जन गरेँ । त्यसपछि नमुना जलविद्युत आयोजना निर्माण गर्ने तर्फ मेरो सोच अघि बढ्यो । तर लगानी जुटाउने कसरी ? राजनीतिकदलका नेता तथा सरकारको लापरवाही तथा भ्रष्टाचारका कारण विश्व बैंकले अनेकथरी सर्त अघि सार्न थालिसकेको थियो । त्यसैले जलविद्युतका लागि लगानी जुटाउन म चीन तिर दौडेँ । सोचे भन्दा निकै राम्रो सफलता हात लाग्यो । चीनको सीएमआइसी नामक कम्पनी र बैंक अफ् चाइनाले नेपालमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने र काठमाडौंसम्म चिनिया रेल ल्याउने परियोजना सम्पन्न गर्ने कुरामा लगानी गर्न सहमति जनाए । त्यस पछि मैले लगभग एक दर्जन जति नेपालका ‘व्यूरोक्रेटस’ को टोलिलाई चीनको थ्री गर्जेजको ड्याम समेत घुमाएँ । जसको टोलि नेता थिए, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठ ।
यो महत्वकांक्षी कार्यक्रम अगाडि बढाउन तत्कालिन राजा विरेन्द्रले समेत उत्साहित हुँदै सहयोग गरेका थिए । मलाई लाग्छ –‘यहि कार्यक्रमप्रति देखाएको सक्रियताकै कारण विरेन्द्रको वंशनास गरिएको हो ।’ किनकी राजा वीरेन्द्रको बंशनासपछि मेरो पनि दुर्गती सुरु भयो । राजा वीरेन्द्रको वंस विनासपछि राजा बनेका ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए , त्यसपछि पहिलो निशाना म भएँ । तत्कालिन डिएसपी नवराज सिलवालले गुण्डाहरुको समेत प्रयोग गरी घरबाट अपहरणको शैलिमा हनुमानढोका पुर्याए । मैले तयार पारेका सबै योजना र कार्यक्रम असफल पार्ने अनि मलाई सडकमा ल्याउने षड्यन्त्र रचिएको रहेछ । मैले गरेका लगानीको स्वामित्व लुट्ने र सबै सम्पति हत्याउने एक मात्र उद्देश्य पुरा गर्न डिएसपी सिलवाल प्रयोग गरिएको रहेछ । पक्राउ पछि हातमा कहिले सेतो त कहिले खैरो लागूऔषधको पुरिया थमाएर तस्विर खिच्दै सिलवालले धम्कि दिँदै भने –‘तलाई जेलमा नै सडाइ दिन्छु । की जंगलमा लगेर गोलि हान्दिन्छु, अनि आतंकवादी भन्दिन्छु । के ठानेको छस् आफुलाई, चिनेको छस ? मलाई चिनेको छस ? अखिर शासन ज्ञानेन्द्रको थियो, हार गुहार गर्ने ठाउँ नै थिएन । जसरी पनि ज्यान जोगाउनुको विकल्प देखिएन । ठाने, बाँचे भने मुलुकको सेवा गर्ने मौका त पछि पनि पाउँछु । जहाँ जहाँ सहि र ल्याप्चे लगाउन भने सोहि सोहि गरें । आफ्नो भाइका नाममा मेरो सम्पति हस्तान्तरणको कागज बनाइएको रहेछन् डिएसपी सिलवालले ।
गोर्खा हाइड्रो पावर लिमिटेडको ५ मेगावाटको जलविद्युत परियोजना धम्क्याएकै भरमा सिलवाल दाजुभाइले आफ्नो बनाए । भैसेपाटीमा रहेको मेरो थुप्रै रोपनी जग्गा अझै पनि नवराजका भाई सुदर्शनकै नाममा छ । भैसेपाटी अबस्थित रेडियो नेपालको टावर अगाडि रहेको आलिसान महल चाहीं नेपाली काँग्रेस काठमाडौंका नेता मनमोहन भट्टराई र उनका नेवार थरका साढु दाइको नाममा पास गरिएको छ । यो सबै सम्पत्ति शक्ति, पद, पहुँच र गुण्डागर्दीको भरमा लुटेरै लगेका हुन् । त्यतिबेला घर बस्नै सकिंदैन थियो । छिन–छिनमा गुण्डा आएर धम्काउंथे । नेपाली सेना र प्रहरीका जवानहरु सादा पोशाकमा आएर घरमा आतंक मच्चाउँथे । यही संकटका कारण मेरो व्रेन ह्यामरेज भयो । म अपांग बने, तर यति ठूलो संकट आउँदा पनि मैले हरेस खाइन् । आफ्नो सीप र क्षमतालाई सुदपयोग गर्दै अघि बढेँ । आफ्नो बाँकी जिवन आफू जस्तै अपांगता भएकाहरुका लागि समर्पित गर्ने निधोका साथ सामाजिक काममा होमिँदै गर्दा आफ्नो गृह जिल्ला गुल्मीका साथीहरुले राजनीतिलाई निरन्तरता दिन आग्रह गर्नु भयो । पहिलो पटक नै महाधिवेशन प्रतिनिधि बनाएर पठाउनु भयो । जिल्लाबासी साथीहरुको यो गुण म कहिल्यै विर्सन सक्दिन ।