इनरुवा, पुस ५ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंज टोलमा बिसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको रहेको सुनसरी प्रहरीले जनाएको छ ।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसीजी खोप लगाएकी थिइन । खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
खोप लगाउने क्रममा बेहोस भई शिशुको ज्यान गएपछि पीडित परिवार सहित आक्रोशित स्थानीयको भिडले स्वास्थ्य चौकीमा नारा जुलुस गर्नुकासाथै स्वास्थ्यकर्मी उपर हातपातको प्रयास गरेका छन् ।
खोप लगाउने स्वास्थ्य स्वयम् सेवीका ढकाललाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको जनाएको छ ।