प्रधान सेनापति ट्रफि-२०७९ शुरु

| 2023 Apr 10 | 06:14 pm 945

काठमाडाैं, चैत २७ः प्रधान सेनापति महारथी प्रभुराम शर्माले साेमबार जङ्गी अड्डास्थित खेल
मैदानमा प्रधान सेनापति ट्रफि-२०७९ खेलकुद प्रतियोगिताको समुद्‍घाटन गरेका छन् । २०८० बैशाख १० गतेसम्म संचालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमहरुको सहभागिता रहेको छ ।

श्री सैनिक तालिम महानिर्देशक, उपरथी श्री बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको समुद्‍घाटन कार्यक्रममा सहभागी पृतना तथा बाहिनीहरुबाट मार्चपाष्ट तथा खेलाडीहरुबाट विभिन्न खेल विधा सम्बन्धी कला प्रस्तुत गरिएको थियो । नेपाली सेना संसारमै दुर्लभ एक सिङ्गे गैँडाको संरक्षणमा संलग्न भई विभिन्न वर्षहरुमा Zero Poaching Year मनाउन सफल भएको कुरालाई मध्यनजर गरी यस वर्षको प्रधान सेनापति ट्रफि प्रतियोगितामा एक सिङ्गे गैँडालाई मास्कटको रुपमा राखी खेलाडीहरुबाट एक सिङ्गे गैँडाको मास्कट समेत प्रदर्शन गरिएको थियो ।

समुद्‍घाटन समारोहमा आजै सम्पन्‍न महिला तथा पुरुष १५०० मिटर दौडका विजेतालाई प्रधान
सेनापतिले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु संचालन हुनेछन् ।

साेमबार आयोजित समारोहमा रक्षा सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव, सैनिक श्रीमति संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, खेलकुद सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, संचारकर्मी लगायतको उपस्थिति थियो ।

नेपाली सेना भित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ प्रधान सेनापति ट्रफि २०६५ सालबाट शुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.