प्रधानमन्त्रीद्वारा काठमाण्डौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरिक्षण भ्रमण

| 2023 Apr 18 | 07:48 pm 649

काठमाडाैं, बैशाख ५ः प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरुको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । भ्रमणदलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रामकुमार फुँयाल तथा विभिन्न मन्त्रालयका सचिवहरु सहभागी थिए ।

निरीक्षण भ्रमणको दौरान टाेलीलाई आयोजनाको वर्तमान अवस्थाको बारेमा जानकारी
गराइएको थियो । त्यस अवसरमा भ्रमणदलबाट महादेवटार सुरुङ्ग मार्ग तथा लेनडाँडा सुरुङ्ग मार्गको Inlet र उक्त आयोजना अन्तर्गत निर्माणाधिन सडक तथा पुलहरुको भ्रमण भएको थियो ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक परिमार्जनसहित उच्च गुणस्तरको निर्माण कार्य सम्पन्‍न गर्न विद्यमान सम्पूर्ण समस्याहरुको समाधानका लागि
सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजनाको हालसम्मको
प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आयोजनाको कार्यान्वयनमा संलग्न सकलदर्जालाई धन्यवाद ज्ञापन
गरे । साथै, उच्च हौसलाका साथ राष्ट्रिय गौरवको यस आयोजनालाई सम्पन्न गरी राष्ट्र विकासको प्रयासमा कोशेढुंगा थप गर्न सम्बन्धित सबैलाई आव्हान पनि गरे ।

मिति २०७८ जेठ २ मा ठेक्का सम्झौता सम्पन्‍न भई निर्माण शुरु भएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति २२.४४ प्रतिशत र वित्तिय प्रगति करिब २३ प्रतिशत रहेको छ । ठेक्का सम्झौता हुन बाँकी खण्डहरुको चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता गरिसक्ने ढंगले आवश्यक तयारी भईरहेको छ ।

भ्रमणदललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गर्दै आयोजना कार्यान्वयनका दौरान सरकारबाट प्राप्त सहयोग एवं नेपाली सेनामाथिको भरोसाका लागि आभार प्रकट
गरेका थिए । उनले द्रुतमार्ग आयोजनाका सामु विद्यमान जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कनको बाँकी कार्य लगायतका चुनौतिहरुको सम्बोधन हुने अवधिले समग्र आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्ने भएकोले सम्बन्धित निकायहरुको सहयोग जुटाई आयोजना पूरा गर्न नेपाली सेनाको प्रतिवद्धता प्रकट गर्दै यसमा सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त
गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.