प्रधानमन्त्रीको भारत भ्रमणवारे छलफल

रिपोर्ट नेपाल | 2023 Apr 13 | 07:55 am 2233

काठमाडौं, चैत ३०ः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री श्रेष्ठसँग बुधबार भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए ।

भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने विश्वास व्यक्त गरेका थिए । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्तावको विषयमा आवश्यक गृहकार्य गरिसकेको छ ।

वैशाखको पहिलो साता भारत भ्रमण हुने भनिएको भए पनि हालसम्म मिति तय हुन सकेको छैन । राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए ।

सो भेटमा सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले बताएको छ ।

सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताएको सचिवालयले जनाएको छ । भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताएका थिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.