काठमाडौं, जेठ २४: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै फोरमसँग एकता गर्नेगरी तयारी भइरहेको भन्ने अभिव्यक्ति दिएको तेस्रो दिन संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जवाफमा जनतालार्इ भ्रममा पार्ने प्रयास नगर्न भनेका छन् ।
संघीय समाजवादी फोरम, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग तत्काल एकीकरणको सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् । फोरम सरकारमा सहभागी भएसँगै नेकपाका नेताहरुले चाँडै फोरमसँग एकिकरणका लागि आवश्यक तयारी औपचारिक रुपमै अघि बढेको बताएका थिए ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि फोरम अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञप्ती जारी गर्दै तत्काल एकता सम्भव नभएको बताएका हुन्। विज्ञप्तीमा लेखेका छन्, ‘जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता छैन ।’
वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ।
सरकार नेतृत्वको दल नेकपासँग दुर्इ बुँदे सहमति गर्दै दुर्इ मन्त्रालयसहित यादव गत जेठ १८ गते सरकारमा सहभागी भएका थिए।