पर्साका एसपीको हुण्डी कारोवारीलाई लाइन

| 2023 Feb 06 | 01:52 pm 1197

वीरगञ्ज, माघ २३ः जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुँवरको निर्देशन विपरित अन्यत्र दरबन्दी भएकालाई दरबन्दी नपठाई घुमुवा राखेको समाचार प्राप्त भएको छ ।

नेपाल प्रहरीमा अपराधिको पहिचान गर्नका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्ने चलन छ । पर्सामा भने सादा पोशाकमा खटिने प्रहरी कालो मरिच तस्करी गराउने र हुण्डी कारोवारीलाई संरक्षण गर्ने गरेको बुझिएको छ । प्रहरी उपरीक्षक कोमल शाहले बरिष्ठ प्रहरी नायव निरीक्षक बिनोद सिंह राणाको कमाण्डमा घुमुवा परिचालन गरेको समाचार प्राप्त भएको छ ।

सिंहको दरबन्दी विपत व्यवस्थापन वीरगञ्ज हो । सिंहलाई रकम असुल्न सहयोगीका रुपमा जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भएका प्रहरी सहायक निरीक्षक बलबहादुर तामाङ जिप्रका सप्तरी दरबन्दी भएका सिताराम खतिवडा हवल्दार निरज कुमार सिंह, जवान फिरोज आलमलाई खटाईको छ । आलमको दरबन्दी सप्तरी भएको बुझिएको छ ।

पर्साका हुण्डी कारोबारीलाई एसपी शाहले दश लाख भित्रको लाईन दिएको भन्दै सहजिकरण गरिदिए बापतको रकम असुली गर्ने गरेको समाचार स्रोतको दाबी छ ।

पर्साका हुण्डी कारोवारी उमेश साह नगुवा, दिपेन्द्र उपाध्याय, मुकेश गुप्ता, राजेश कुमार गुप्ता, विकास गुप्ता, आनन्द गुप्ता, रंजित गुप्ता, श्याम किशोर साहलाई हुण्डीको रकम सहित स्कटिङ्ग गर्न प्रहरी जवान फिरोज आलमलाई मोटरसाइकलको चालक सिताराम खतिवडालाई मोटरसाइकलको पछाडी राखेर खटाइने गरिएको सामाचार स्रोतको दावा छ ।

स्मरण रहोस बरिष्ठ सई बिनोद सिंह राणाको टोलीले कालो मरिचका तस्करलाई समेत लाइन दिने गरेको बुझिएको छ । मधेस प्रदेशका प्रमुख डिआईजी वसन्त कुँवरले सबै नाका टाइट गर्न र अवैध कार्य गर्नेलाई कानुनको दायरामा ल्याउन दिएको निर्देशनलाई एसपी साहले धज्जी उडाउँदै दश लाख भित्र हुण्डी गर्न लाइन दिएको बताइन्छ ।

स्मरण रहोस केहिदिन अघि इनरुवा गाउँको चौकीका असईले श्याम किशोर साह समेत हुण्डीको बीस लाख रुपैयां समाएको थियो । हुण्डीको पैसा ल्याउने गिरोहलाई असई सिताराम खतिवडा र प्रहरी जवान फिरोज आलमले मोटरसाइकलबाट स्कटिङ्ग गरेका थिए ।

प्रदेश प्रहरी प्रमुखले दिएको निर्देशनलाई अटेर गर्दै काखा र पाखा गरिएको छ । सोझा साझा प्रहरीलाई रमाना थमाएर लखेटिएको छ भने वर्षौदेखि वीरगञ्जलाई बपौती बनाएर बसेकाहरुलाई एसपीको पैसा उठन्तीका लागि रमाना नदिई आफ्नै कार्यालयमा खाटईको गुनासो त्यहाँ कार्यरत प्रहरीको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.