नौबाट सुरु, पुजिए नौ हजार

| 2023 Sep 07 | 06:56 am 477

केशब राज पौडेल

काठमाडौँ,भदौ २१। काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार बुधबार नौ हजार कन्या पुजिएका हुन् । यस पूजालाई सनातन कन्या पूजा सञ्चालक समितिले निरन्तरता दिइरहेको छ । यस वर्ष बुधबार नौ हजार कन्या पूजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

बुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरि कन्यालाई राखेर पूजा गरिन थालिएको हो । बुधबार पूजा गरिएका कन्या काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट ल्याइएका हुन् । पूजाका लागि सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा ३१७ रुपियाँ ५० पैसा जगेडा कोष स्थापना गरिएको अभिलेख पाइन्छ ।

बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गर्नुभएको हो । ३१७ रुपियाँबाट सुरु भएको अक्षयकोषमा यतिबेला १९ लाख रुपियाँ मौज्दात छ ।

भोलाखा टोलबाट सुरु भएको कन्या पूजाको इतिहास अहिले बनेपाकै पुलबजार, नाला, बुडोलसँगै शारदा बतासे, पनौती र दाप्चासम्म पनि फैलिएको छ । यस वर्ष पाँच स्थानबाट १५ हजारभन्दा धेरै कन्याको पूजा गरिएको आँकलन गरिएको छ । त्यसमध्ये बनेपामा मात्रै नौ हजार कन्या पुजिएका हुन् ।

शिशुको भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने संस्कार झाँगिदै गएको समयमा हजारौँ कन्यालाई प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपा सहरमा पूजा गरेर छोरीको महŒवलाई बढावा दिएको बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले उल्लेख गर्नुभयो ।

प्राचीनकालमा भुजुङ र प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपामा भोछिभोया खलकले अन्यन्तै दुःख पाएपछि दुःख हट्ने विश्वाससाथ प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमी र भाद्र कृष्ण सप्तमीका दिन १० वर्षमुनिका कन्यालाई पूजा गरिँदै आएको छ । त्यतिबेला सातगाउँ भनिएको बनेपाका भोछिभोया खलक चण्डेश्वरी देवीका सन्तति मानिन्छन् ।

चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यता अनुसार यस पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहन्छन् ।

दक्षिणा, स्वारी, मालपुवा, सेल, हलुवा र मिठाइलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्या पूजा गरिन्छ । समितिका कोषाध्यक्ष दिनेश कायस्थले यस वर्ष अक्षयकोषबाट आएको ब्याजको चार लाख रुपियाँ खर्च गरेको उल्लेख गर्नुभयो । दुई सय दाताले स्वतःस्फूर्त रूपमा दक्षिणा, चक्लेट, कापी, कलम उपहार दिन खर्च गरेका छन् ।

रजस्वला नभएका १० वर्षमुनिका कन्या बनेपा सहरको दायाँबायाँ लस्करै बस्छन् । बाजागाजासहित पुरोहितको पूजासँगै अन्य स्थानीय व्यक्तिले साथ दिन्छन् । अन्धविश्वास त्याग्नुपर्छ, सत्यलाई खोज्नुपर्छ र समाजको कन्यामा आत्मविश्वास भर्नुपर्छ भन्ने उद्घोषसाथ बर्सेनि यो पूजा हुने गरेको स्थानीय नवराज मानन्धरले बताउनुभयो ।

विसं २००१ सालमा माथिल्लो र तल्लो टोलबिच झगडा भयो । त्यसयता भने यो पूजा दुई पटक हुने गरेको छ । पूजाको एक दिन अगाडि ढोल र बाजा बजाएर नगर परिव्रmमा गरी पूजाबारे घर घरका कन्याबारे जानकारी लिएर टिकट दिने प्रचलन छ । पञ्चमी पूजामा बनेपा नेवाः कन्या पूजा समितिले करिब दुई हजार कन्यालाई बनेपामै टिकट प्रथामा यसअघि नै पुजिसकेको छ ।

बनेपामा बर्सेनि देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेतलाई मानवकन्या मानी पूजा गर्ने गरिन्छ ।

नेपाली बृहत् शब्दकोशमा कन्या भन्नाले ‘अविवाहित केटी, कन्ने केटी, विवाहका निम्ति ठीक पारिएकी केटी, दुलही, बेहुली, रजस्वला नभएकी खासगरी १० वर्ष ननाघेकी बालिका’ भनिएको छ ।

चार सय वर्ष पुरानो जात्रा 

चार सय वर्ष पुरानो कृष्ण जन्माष्टमीको विशेष जात्रा दाप्चामा सुरु भएको छ । पञ्चमीदेखि पाँच दिनसम्म चल्ने यो जात्रा तल्लो हटियामा पाटनबाट आएका विष्णु र विश्वरामले विसं १६६४ सालदेखि र माथ्लो हटियामा कालसिंह नेवारले विसं १९६० देखि चलाउँदै आएको शिलालेखमा उल्लेख छ ।

शुम्भ निःशुम्भ, महिषासुर, चन्डमुन्डलगायतका राक्षसले देवतालाई दुःख दिएपछि देवीले शरणमा आएकालाई जोगाउन राक्षसको वध गरेको खुसियालीमा यो जात्रा मनाउने गरिएको छ । जात्रामा नवदुर्गा, गणेश महादेव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी, कुकुर, हंशभारत र लाखे नाच नाच्ने गरिएको छ ।

जात्रा गर्दा घरपरिवार र शरीरमा भएको कुनै पनि समस्या भए नाश हुने विश्वास छ । पञ्चमीमा भीमसेन र हिलेजात्रा, षष्ठीमा देवी भैरव नाच, सप्तमीमा सामूहिक भोज गरिन्छ भने कृष्ण जन्माष्टमीमा दिनभर व्रत बसी पूजा र नाचगान गरिन्छ । नवमीका दिन कृष्ण जन्मेको खुसियालीमा अबिर खेल्दै रथजात्रा गरेपछि जात्रा सकिन्छ । तल्लो हटियामा बिहान र माथिल्लो हटियामा दिउँसो रथजात्रा निकाल्ने गरिन्छ ।

(गोर्खापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.