काठमाडौं, जेठ २८: सरकारले नेपाल प्रहरीमा ३१ सय एकजनाको दरबन्दी थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको संख्या वृद्धि गर्ने निर्णय गरेको हो । सरकारको निर्णयसँगै नेपाल प्रहरीमा जवानदेखि विभिन्न तहमा अधिकृतको दरबन्दी थप हुने भएको छ ।
नेपाल प्रहरीमा अहिलेसम्म ७२ हजार ७३३ दरबन्दी थियो। त्यसमा आइजिपी एक, एआइजी १६, डिआइजी ४१, एसएसपी ७६, एसपी १५७, डिएसपी ४१८ र इन्स्पेक्टर एक हजार ३५४ थिए। त्यस्तै, सई चार हजार ४४, असई सात हजार २२२, हवल्दार १३ हजार ६७२ र प्रहरी जवान ४२ हजार २८५ छन्।
अब ३१ सय एक दरबन्दी थप गर्दा एसएसपी, एसपी, डिएसपी, इन्स्पेक्टर, सई, असई, हवल्दार र प्रहरी जवानको दरबन्दी पनि स्वतः बढ्ने भएको छ । सरकारले नेपाल प्रहरीमा एआइजीको १३ दरबन्दी कटौती गरेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पालामा एआइजीको दरबन्दी बढाएर १६ पुर्याइएको थियो। सरकारले अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआइजीको दरबन्दी रहने निर्णय गरेको छ।