नेपाली राष्ट्रियताको विकास क्रम

रिपोर्ट नेपाल | 2018 Dec 28 | 01:41 pm 3661

काठमाडौं उपत्यकामा गोपालवंशी हुँदै मल्लकालसम्म पुगेका, पूर्वी र पश्चिमी पहाडमा बाइसी, चौबिसी आदि अनेक स–साना राज्यहरु रहेको र मधेस तराईमा चौदण्डी, मैथिली, अवधि , भोजपुरी र थरुहट सभ्यता र संस्कृति विकास हुँदै गरेको अवस्थामा गोरखा राज्यका पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको यो भूभागको राजनीतिक प्रशासनिक एकीकरण र सुरक्षित गर्ने भयो ।

गोरखालीहरुले काठमाडौंमा राजधानी कायम गरेर पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतिर आफ्नो प्रशासनिक सम्पर्क कायम गरे, एउटा राज्य हिमालको काखमा बन्न पुग्यो । जसको नाम नेपाल रह्यो । काठमाडौं उपत्यकामा नेपाल पहिलेदेखि थियो । पृथ्वीनारायणले नेपाल पनि स्वीकार गरे, यहाँको विकास भइसकेको सभ्यता र संस्कृतिलाई पनि स्वीकारे ।

यसको प्रभाव मेचीकाली फैलाए । नेपाली राष्ट्रियताको प्रादुर्भाव त्यहीबाट शुरु भयो । २००७ सालसम्म नेपालको शासन सत्तामा शाह, राणा र उनका गुरुपुरोहित र भारदारहरुकै हालीमुहाली रह्यो । अरु सबैजना के पहाडी, के मधेसी, के जनजाति, के थारु, के मुसलमान, के बाहुनक्षेत्री सबै नै उनका रैती रहेका पक्कै हुन् ।

२००७ सालको जनक्रान्ति नहुँदासम्म र नेपालमा प्रजातन्त्रको प्रादुर्भाव नुहुँदासम्म नेपाल लगभग एउटा प्रशासनिक इकाइका रुपमा मात्र थियो । २००७ सालको राजनीतिक परिवर्तनले नेपालको राष्ट्रियतामा प्राण भर्यो ।

त्यो परिवर्तनमा राष्ट्रसँग जनता जोडियो । तराई मधेसबाटै शुरु भएको जनक्रान्ति र लोकतन्त्रको लहरले विश्वेश्वर र मातृका कोइराला मात्र होइन रामेश्वरप्रसाद सिंह, सूर्यनाथ दास यादव, रामनारायण मिश्र, राधाकृष्ण थारु, डा खलिल मियाँ, शेख इद्रिश हुँदै धनमानसिंह परियार, बखान सिं गुरुङ, नरेन्द्रजंग, सर्वधन र धनवर्ण राई, जी बी याकथुम्बा, रामप्रसाद राई, प्रेमराज आङदेम्वे र गिरीबहादुर बुढाथोकी आदि नेताहरुको जन्म भयो र तिनको नेतृत्वमा राजनीति अघि बढ्यो र काठमाडौंमा टंकप्रसाद र शुक्रराज, गणेशमान, कृष्णप्रसाद भट्टराई र पुष्पलाल मात्र होइन सुवर्ण र महावीरहरु जस्ता राणा समेत परिवर्तनमा सहभागी भए र राष्ट्रियताको उद्घोषण भयो ।

बाहुनक्षेत्री र नेवारहरुबाट पनि जनजातिसँगै मिलेर परिवर्तनको नेतृत्व गरे । सार संक्षेपमा हिमाल, पहाड, तराई मधोस समग्र भूभागका जनताको संघर्षमा भाग लिएर परिवर्तन ल्याए । जनता तत्व प्रवल भएको नेपाली राष्ट्रियताको जग बस्यो ।

सामन्ती युगमा राष्ट्रियताको प्रतीक राजा हुन्थे । शासक हुन्थे । लोकतन्त्रको प्रादुर्भाव भएपछि राष्ट्रियताका प्रतीक जनताको ऐक्यभाव अगाडि आयो । विभिन्न जातजातिको ऐक्यभाव विविधतामा एकता नै नेपाली राष्ट्रियताको स्वरुप अगाडि आयो । सहअस्त्विको भाव अघि आयो ।

भूगोलमात्र राष्ट्रियताको आधार होइन

लोकतन्त्रमा राष्ट्रियता निश्चित सीमाभित्रका जनताको ऐक्यभावना र सामूहिक भावनामा निहित हुन्छ । भौगोलिक सीमाको महत्व छदैछ तर भूगोलमात्र राष्ट्रियताको आधार होइन भन्ने नेपाली काँग्रेसको मान्यता हो ।

जनताको ऐक्यभाव महत्वपूर्ण कुरो हो । मेचीमहाकाली, हिमाल, तराई ,मधेस सीमाभित्र राजनीतिक रुपले सँगेटिएका सबैथरीका जनताका आ–आफ्ना भाषा संस्कृति र भेषभूषा सबै मिलाएर नेपाली राष्ट्रियता बनेको छ ।

जसरी यूरोपमा असलीरुपमा राष्ट्रियताको प्रादुर्भाव तव भयो जब फ्रान्सेली राज्यक्रान्ति भयो, अमेरिकी स्वतन्त्रता संग्राम र “हामी जनता” भन्ने सामूहिक चेतनाको प्रादुर्भावले लोकतन्त्र र राष्ट्रियताको भावनाको उदय सँगसँगै भयो त्यसरी नै नेपालमा पनि लोकतन्त्रको लहरसँगै नेपाली राष्ट्रियताको सच्चा स्वरुप सामुन्यमा आएको कुरामा नेपाली काँग्रेस विश्वास गर्दछ । नेपालमा २००७ साल नआएको भए छिमेकीहरुको क्षेत्रीय एकीकरणको अभियान क्रममा सायदै नेपाल कुन अवस्थामा पुग्थ्यो ?

जनताको अधिकारको लडाइले राष्ट्रको स्वतन्त्रताको उचाइ बढाएको छ । लोकतन्त्रले नै प्रत्येक व्यक्तिको सार्वभौम सत्तालाई सम्मान प्रदान गर्छ भने यहाँका जनजाति, मधेसी, थारु, मसलमान र दलित समुदायमा निहित राष्ट्रियतालाई र स्वाभिमानलाई पनि सम्मानित दर्जा दिलाउँछ । सबैको सम्मानको सम्मिलित रुपनै राष्ट्रियता हो । भन्ने कुरामा नेपाली काँग्रेस अटल विश्वास राख्दछ ।

त्यसैले काँग्रेसको राष्ट्रियता सबल बनाउन विभेद भयो भनेर असन्तुष्टि जनाइरहेका समुदायहरुलाई अरु उत्तेजित गरी टाढा धकेल्ने होइन सहानुभूतिपूर्ण व्यवहार गरेर मूलधारमा ल्याउने काम गर्दै आएको छ । हिमाल, पहाडी, मधेसी सबै समुदायका जनतलाई राष्ट्रको उन्नतिका समान हकदार बनाएर नेपाललाई एकताको सुत्रमा बाध्ने काम गर्दै आएको छ ।

पुरानो जमानामा जस्तो छिमेकीप्रति आशंका मात्र गर्ने नकारात्मक राष्ट्रियता होइन आफ्नो राष्ट्रको हित संरक्षणको पहिचान तदनुकूलको अडानको निरन्तरताको साथै कुटनीतिक सुझबुझ काँग्रेसको राष्ट्रियता हो । (नेता रामचन्द्र पाैडेलद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.