कपिलवस्तु, फागुन २७ः कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी । पानी अर्थात् सिँचाइका लागि खेतसम्म पुग्नेगरी भरपर्दो पानीको व्यवस्था ।
‘अहिले गहुँमा लगाउन पानी चाहिएको छ, छिमेकीसँग भएको पम्पङ सेट चलाउँ त गहुँ बेचेर पेट्रोलको पैसा तिर्न नपुग्ला भन्ने पिर, नजिकै भएको शंकरपुर ताल बाँध फुटेर सुकेको छ । गरौं पानी छैन नगरौं के खाने रु’ उनले गुनासो गरे । गहुँमा पोटिलो दाना लागेको छ । कम्तीमा तीनपटक सिँचाइ गर्नसके राम्रो उत्पादन हुने उनले बताए । ‘अहिलेसम्म एकपटक मात्र पानी लगाएको छु, कारण शंकरपुर तालमा पानी छैन,’ रामनिवासले भने । शंकरपुर तालको पानी यस क्षेत्रका किसानलाई सिँचाइका लागि उपयुक्त माध्यम हो ।
यतिबेला सिँचाइका लागि पानी भएको भए गहुँ उत्पादन राम्रो हुने उनले गुनासो गरे । उनले भने, ‘तर ताल सुक्खा छ, पानीका लागि हामी लालायित छौं ।’ शंकरपुर ताल यस क्षेत्रको सबैभन्दा धेरै महत्व बोकेको ताल भएता पनि यसको उचित संरक्षण नहुँदा स्थानीय समस्यामा परेका छन् । तालको पानीले गाउँपालिकाका दर्जनबढी गाउँका किसानले सिँचाइ गर्दै आएका थिए ।
धानको सिजनमा माथिबाट पनि वर्षा हुन्छ (अकासे पानी) तर, गहुँ, दलहन सिजनमा यस क्षेत्रका किसानको एक मात्र सहारा शंकरपुर तालको पानी नै हो । तालको पानी नहरमार्फत खेतसम्म पुग्ने भए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था ‘गुल्जार’ बनाउने यस क्षेत्रका किसानको धोको छ । तर, ताल नै सुक्दा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन् ।
तोरीका लागि अहिले मौसमले साथ दिँदा केही राम्रो उत्पादन हुने अपेक्षा गरेका स्थानीय गहुँमा पर्याप्त सिँचाइ गर्न नसक्दा सुकेर पहेंलो हुँदै गएको बताउँछन् । सिँचाइको व्यवस्था नभए धानबाहेक अरू कुनै विकल्प नदेखेको स्थानीय रामलखन थारूले बताए । ‘सरकारले सिँचाइको व्यवस्था नगरिदिए खानका लागि पनि अन्न किन्नुपर्ने भयो,’ उनले दुखेसो पोखे ।
धानबालीबाहेकको बाली लगाए पनि लगानी नउठ्ने थारूको भनाइ थियो । पानी अभावले लगानी डुब्छ कि भन्ने उनको चिन्ता छ । सिँचाइको पर्याप्तता भइदिए खेतीकिसानीप्रति जनआकर्षण स्वाभाविक रूपमा बढ्दै जाने उनले बताए ।
करिब ५० विघामा फैलिएको तालको संरक्षण नगरिँदा यसको क्षेत्रफल दिन प्रतिदिन घट्दै गएको स्थानीयको भनाइ छ । जैविक विविधतामध्ये शंकरपुर तालमा सबैभन्दा बढी प्रजातिका स्थानीय ९रैथाने० माछा पाइएको प्रतिवेदनले देखाएको छ । प्राराम्भिक अध्ययनअनुसार शंकरपुर सिमसार क्षेत्रमा स्थानीय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, सर्प र कछुवा, विभिन्न २१ जातका स्थानीय जलीय वनस्पती पाइने गर्थे ।
स्थानीय भनाइअनुसार परापूर्वकालमा यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको थियोे । देवीले देवताहरूलाई जम्मा गरेर ताल खन्न लगाएकी थिइन् । गर्मी भएकाले नुहाउन भनी देवीका लागि ताल खनिएको थियो । शंकरपुर ताल पर्यटन गन्तव्य क्षेत्र बन्नेसमेत प्रचुर सम्भावना छ । प्राकृतिक सिमसार, धार्मिक र यस क्षेत्रको ठूलो ताल हो ।
यस तालको प्रचारप्रसार नहुँदा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन् । आसपासका गाउँका युवायुवतीको पिकनिक स्पट बन्न मात्र सफल यस ताललाई पर्यटकीय क्षेत्र बनाउन सकिए धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ । यतिबेला तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाका लागि खेलमैदान र गौचरनमा परिणत भएको छ ।
सिँचाइ, पर्यटन र व्यावसायिक रूपमा विजयनगरकै शानका रूपमा रहेको शंकरपुर तालको ड्याम भत्किँदा ताल सुकेर गौचरनमा परिणत भएको ताललाई मर्मत गर्न गाउँपालिकाले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जाउलाखेल काठमाडांैसँग एकीकृत योजनाअन्तर्गत कार्यक्रम समायोजन गर्न पहल गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वयन गरेर ताललाई व्यवस्थित गरी यहाँका किसानलाई टेवा पुग्नेगरी छिट्टै काम हुने उनको दाबी छ । राजधानी दैनिकबाट