कास्की, बैशाख ६: फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण सुरु भएको छ। २०१७ सालमा राजा महेन्द्रले पुनर्निर्माण गराएको मन्दिर २०७२ को भूकम्पले दक्षिणतर्फको भाग दबेकाले पुरातत्व विभागको सहकार्यमा पुनर्निर्माण थालिएको तालबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।
मन्दिर पुनर्निर्माण गर्न एक करोड ४० लाख लाग्ने अनुमान पुरातत्व विभागले गरेको छ। पुनर्निर्माणका लागि पुरातत्व विभागले २५ लाख उपलब्ध गराउने र एक करोड १५ लाख मन्दिर व्यवस्थापन समितिले जुटाउने सम्झौता भएको छ।
६ महिनामा पुनर्निर्माण सक्ने लक्ष्य रहे पनि निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने भएकाले केही समय लम्बिने व्यवस्थापन समितिले जनाएको छ। पुनर्निर्माणका क्रममा थप सौन्दर्यकरणका काम पनि हुने भएकाले लागत बढ्ने अध्यक्ष कुँवरले बताए।
मन्दिर पुनर्निर्माणका लागि सहयोग संकलन पनि थालिएको छ। मन्दिरमा दर्शन गर्न आउने भक्तजनले स्वतःस्फूर्तरुपमा सहयोग गर्दै आएको समितिका उपाध्यक्ष पर्शुराम शर्मा पहारीले जानकारी दिए।
तालको मध्यभागमा रहेको तालबाराही मन्दिरबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सुन्दर दृश्य देखिन्छ। पर्यटकहरू मन्दिरमा दर्शन गर्न र हिमशृंखलाको अवलोकन गर्न पनि डुंगा चढेर मन्दिर पुग्ने गर्दछन्। तालबाराही देवीको दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वास छ। अन्नपूर्ण पाेस्टबाट