जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ:   रेसुङगा तपोभूमि

| 2023 Jul 19 | 07:22 pm 7105

– भोजराज पाण्डेय

लुम्बिनी प्रदेश धार्मिक, सांस्कृतिक, जैविक  र पर्यटकीय हिसाबले अत्यन्त महत्व र सम्भावना बोकेको प्रदेश हो । यस अन्तरगत पर्ने प्रत्येक जिल्लाहरुले  नेपाललाई आन्तरिक र बाह्य रुपमा पहिचान गराउने कुनै न कुनै बिशेषता र सम्भावनाको प्रचुरता  रहेको छ । चाहे सांस्कृतिक होस वा  धार्मिक अथवा पर्यटकीय क्षेत्र नै किन नहोस प्रत्येक जिल्लाको आफ्नो बेग्लै पहिचान रहेको छ । साच्चै भन्ने हो भने भैगोलिक बिबिधता र नागरिकको बसोबासको आधारमा बिश्लेषण गर्ने हो भने लुम्बिनी प्रदेशका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरु बीचमा रहेको  सहिष्णुता, सद्भाव र सहयोगी भावना अन्य प्रदेशमा बसोबास गर्ने नागरिकहरुको लागि पनि प्रेरणाको श्रोत बन्न सक्दछ ।

यस प्रदेशको पहाडी जिल्लाहरुको भौगोलिक बिकटताको बावजुद पनि त्यहाँ बसोबास गर्ने नागरिकहरुको जुन खालको दृढ  लगनशीलता छ त्यो अत्यन्त सकारात्मक पक्ष हो ।  नेपालको राजनीतिक वा प्रशासनिक क्षेत्रको बारेमा कुरा गर्ने हो भने त यसको तुलना अरुसँग हुन्छ जस्तो लाग्दैन । राज्यका हरेक प्रशासनिक निकायहरुमा तल्लो तह देखि उच्च तहसम्म यहाँका नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

साबिक नेपालको नक्सा अनुसार लुम्बिनी अञ्चलको ३ वटा पहाडी जिल्लाहरुमध्ये गुल्मी जिल्ला सधै चर्चामा रहने जिल्ला हो । प्रजातन्त्र र लोकतन्त्रको प्राप्ती पश्चात हरेक पटकको निर्वाचनमा एउटा राष्ट्रीय चर्चाको बिषय समेत बन्ने गरेको छ । कसैको हार वा जितमा यसले चर्चाको हद पार गरेको हुन्छ ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी तथा ब्यापारिक केन्द्र  बुटवलबाट करिब १३८ किमी उत्तरतर्फ पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बाँया हुँदै तिनाउँ नदीको तिरैतिर पहाडको अनकन्टार खोंचमा पहरो कोपेर बनाइएको सिद्धार्थ राजमार्ग सडकको बाटो हुँदै गाडीमा झ्यालको शिशा खोलेर अगाडी बढ्दै गर्दा पहाडको खोचबाट बगेको कञ्चन झरनाको छवाङ छवाङ आवाजसँगै सिरसिर गर्दै आउने चिसो हावाको  आनन्द सायद कुनै किताब वा लेखमा वर्णन गर्दा पनि अपुरो नै हुन्छ होला ।

छिमेकी जिल्ला पाल्पाको सदरमुकाम  तानसेन पुग्नु भन्दा अगावै साँघुरो र घुम्टी नै घुम्टी पार गर्दै बर्तुनमा पुगे पछि  सिद्धार्थ राजमार्गलाई छोडेर बायाँ पट्टिको झनै साँघुरो सडक समाते पछि जो कोहीले पनि सहजै अनुमान गर्न सक्छन की गुल्मी जाने सवारी मार्ग यही नै हो भन्ने  ।

पाल्पा जिल्लामा रहेका मनोरम प्राकृतिक सौन्दर्यहरुको असीम आनन्द लिदैं तानसेन बजार पार गरि बतासेडांडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुँदै यात्रा गर्दा आउने खुशी र आनन्दको वर्णन कम्तिमा पनि यो एउटा लेखमा मात्र कदापी सम्भव छैन । बाइसे चौबिसे राज्यहरुमध्ये पाल्पा राज्यको इतिहासमा सधै चर्चा हुने गर्दछ । इतिहासको स्वर्णिम कालखण्डमा उक्त राज्यको उत्तर पट्टीबाट हुन सक्ने आक्रमण निस्तेज पार्न प्राकृतिक रुपमा रक्षा कबचको रुपमा रहेको बतासेडांडा पार गरेपछि पबित्र तीर्थस्थल भैरवस्थान मन्दिरलाई दाहिने पार्दै अगाडी बढ्दै गर्दा हार्थोक नपुग्दै अलि वरबाट  उत्तरपट्टी पारी नियाल्दा गुल्मी जिल्लाको बलेटक्सार र भार्से माथिको सत्यवती लेकको मनोरम र लोभलाग्दो दृश्य झट्ट आँखामा कैद गर्न सकिन्छ ।

स्याङजा, गुल्मी र पाल्पा जिल्लाको सँगम स्थलको रुपमा रहेको  प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी साँध सीमाना भएर बग्ने रिडी खोलामाथि एक पटकमा एउटा गाडी मात्र अट्ने गरि बनाइएको साँघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्लामा थपक्कै पाइला टेक्न सकिन्छ । रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी साँघुरो सडकको यात्रा पार गरेपछि प्रसिद्ध ऋषी ऋङयले तपस्या गरेको पबित्रस्थल रहेको रेसुङगाको काखमा अबस्थित तमघास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय स्थल दार्जिलिङ पुगेको भावानुभुति हुन्छ । पूर्वमा रेसुङगा र पश्चिममा अर्जुनको गगनचुम्बी पहाडको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन लोभ्याउने सायदै कोही नहोला ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा घना जङगलको माथि डाडोमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकीय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण रहेको एउटा पबित्र क्षेत्र मानिन्छ । सवारी साधनको उपलब्धता र सडक सञ्जालको सुबिधा नहुँदासम्म तमघास बजारको खोंच देखि माथि रेसुङगा लेकमा पुग्न करिब डेढ घण्टाको कठिन उकालो यात्रा पार गर्नु पर्दथ्यो । नेपाली साहित्यकार डा. तारानाथ  शर्मा उ बेला सायद बैतडी र डडेल्धुराको बीचमा अबस्थित लेक घनघस्यातिर नगएर गुल्मी जिल्लाको यात्रामा निस्कनु भएको भए सायद  सदरमुकाम तमघासको शीरमा रहेको रेसुङगाको बारेमा उहिले नै “रेसुङगाको उकालो काट्दा” भन्ने लेख प्रकाशित गर्नु हुन्थ्यो होला  । फरक यति मात्र हुन्थ्यो सायद घनघस्यामा “बाटामी गाड पडन्छ”  भन्ने उत्तर दिने मानिस फेला पार्नु भएको थियो तर यता बरालिनु भएको भए तमघास देखि उकालो यात्रा गरेपछि माथि डांडोको शिरमा रहेको तपोभूमी नपुगुन्ज्याल सम्म घना जङगल सिबाय अरु फेला पर्दैनथ्यो ।

गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा सांस्कृतिक सम्पदाहरु रहेका छन, रिडी क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, आँपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सरायँ नाच गुल्मीको अलावा अर्घाखाँचीमा मात्र खेलिन्छ । तर रेसुङगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा जुन परिचर्चा छ त्यो सायदै अरुसँग तुलना होला ।

गुल्मी जिल्लाको गहनाको  रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र प्राकृतिक  सौन्दर्यले भरिपूर्ण रहेको छ । यसलाई जिल्लाको प्रयायवाची नै मानिन्छ । जिल्ला सदरमुकाम तम्घासलाई काखमा छपक्कै राखेर शिरमा रहेको रेसुङ्गाले गुल्मीलाई चिनाएको मात्र छैन एउटा मनमोहकरुपी आनन्द समेत प्रदान गरेको छ । प्रायश शीरमा बादलको घेराले लपेटिने रेसुङगा साउनमा हरियो सारीको सप्को हालेको कुनै सुन्दर महिला भन्दा कम देखिदैन ।  धार्मिक,ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताबमा मात्र सीमित राख्नु पनि मुर्खता हुन जान्छ ।

नेपालमा लोकतान्त्रिक गणतन्त्रको  बिकाससँगै नेपालको आन्तरिक पर्यटनमा उछाल आउने गरि विकास भएको छ । पर्यटनको सम्भावना रहेका जुनसुकै स्थानमा राज्यले प्रशस्त लगानी गरेर पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ । यसैको ज्वलन्त उदाहरणको रुपमा नै रेसुङगा-रुरु क्षेत्रको विकासलाई लिन सकिन्छ । केही वर्षयता डेढ घण्टा पैदल हिडेर पुग्ने ठाउँ रेसुङ्गामा  अहिले पर्यटकीयस्थल गर्जुराको बाटो हुँदै प्रसिद्ध स्थल रेसुङगा पोखारीसम्म सवारीका साधनमा बसेर २० मिनेटमा पुग्न सकिन्छ  । पोखरीदेखि करिब १५ मिनेटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्य स्थल चुचुरोमा पुगिन्छ । माथी डाँडामा  पुगेपछि जो कोही पनि स्वच्छ हावा, वरीपरि रहेका सुन्दर पहाडका चुचुराहरु र उत्तरमा सेतै चाँदी जस्तै फैलिएर रहेको हिमाल श्रृंखलाको  मनोरम दृष्यमा रमाउन सकिन्छ । यहाँ रहेको भ्यूटावरबाट बिभिन्न प्राकृतिक मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङ्जा, अर्घाखाँची र बाग्लुङ जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ ।

कसै कसैले त नियालेर हेर्यो भने भारतको गोरखपुरसम्म पनि देखिन्छ भन्ने गर्दछन् । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमश्रृङ्खलाहरु पनि यहाँबाट सजिलै अवलोकन गर्न सकिन्छ ।

रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजा/आजा गर्ने गरिन्छ । जसको कारण यसको गरिमा चुलिंदो छ । साउन महिनामा रेसुङ्गाको पोखरीमा स्नान गर्नाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता र बिश्वास  रहि आएको छ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहेको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रहेको रेसुङ्गाको महत्व धेरै वेद पुराणहरुमा समेत उल्लेख गरिएको छ ।

बि.सं. २०४१ सालमा योगी नरहरिनाथले १ महिनासम्म होम गरेर रेसुङगाको महिमा बढाउन  गरेको पबित्र प्रयास आज पर्यन्त गुल्मीबासीको मन-मनमा छ । यस महायज्ञ पश्चात उनले यस क्षेत्रको लागि नगद ३६ हजार  र २१ वटा गाई छोडेर गएसँगै रेसुङगाको फेदी साउनेमा गौशाला निर्माण र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको छ । हुनत त्यतिबेला नरहरिनाथको उक्त कार्यलाई व्यवस्था परिवर्तनको लागि गरिएको कार्य भनि तत्कालीन अबस्थामा  उक्त कार्यक्रम रोक्ने प्रयास पनि भएको थियो  । तर यज्ञ रोकिएन ।  तथापी योगी नरहरीनाथको सो प्रयासले गर्दा नै आजको रेसुङगा बनाउन मद्धत पुगेको कुरामा कुनै मतभेद नहोला । रेसुङगाको उत्तर पुछारमा रहेको साउने जङगलको बीचमा रहेको गौशालामा त्यतिवेला हवन गरेर छोडेका गाइलाई २०४२ सालदेखि व्यवस्थित रुपमा पाल्न थालिएको हो । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गामा रहेको गौशालामा व्यवस्थित रुपमा गाइहरु हाल रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन् । बिगतमा  रेसुङगा मन्दिरमा रहेका अमुल्य मूर्ति तथा धातुहरु चोरी हुने समस्या रहेको भए तापनि हाल सुरक्षा निकायको सकृयताले अपराधिक घटनामा कमी आएको छ ।

अन्य महिनाहरुको तुलनामा साउन महिना रेसुङगाको महत्व अझ ब्यापक छ । हरेक बर्ष जस्तै यस बर्ष पनि  साउन १ गते देखि  रेसुङगामा होम तथा पूजाआजा एवं पबित्र पोखरीमा स्नान गरि पुन्य आर्जनको लागि दैनिक सयौंको संख्यामा श्रदालु भक्तजन तथा पर्यटकहरुको घुंइचो लाग्ने गरेको छ  ।  तमघास तथा आसपासमा ठूलो संख्यामा बसोबास गर्ने बशिष्ठ गोत्रीय पाण्डे समाजले पुर्खौ देखि साउन महिनामा रेसुङगामा खिर चढाउने गरेका छन, जुन आज पर्यन्त  निरन्तर छ  ।

सडक सञ्जालको साँघुरो उपलब्धता र बिगतदेखि चर्चामा रहेको रेसुङगा बिमानस्थल सञ्चालनमा आएपछि हवाईमार्गको पनि केहि हद सम्मको सुगमताले गर्दा रेसुङगाको ब्यापकतालाई अझ बिस्तार गर्नु पर्ने देखिन्छ । सडक सञ्जाललाई ब्यबस्थित बनाउने कार्यहरु पनि भैरहेको छ । यसको ब्यापकताको लागि राजधानी काठमाण्डौ तथा पोखरा एवं बुटवल र भैरहवाका ठूला होटेल ब्यवसायीहरु, पर्यटन व्यवसायीहरु र ट्राभल एजेन्सीहरुको सहकार्यमा प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रिडी-रेसुङगा तथा पाल्पाको रानीमहल समेतलाई जोड्ने गरि पर्यटकीय  गुरु योजना सहित कार्यान्वयन गर्न सकेमा रेसुङगा रुरु क्षेत्र  सँगसँगै समग्र गुल्मीको  विकासमा समेत थप टेपा पुर्याउन सकिन्छ ।

(लेखक जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.