छ जना अामाकाे अकालमै मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 08 | 12:20 pm 2199

सल्लेरी, सोलुखुम्बु, जेठ २५: चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ ।
चालू आबको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्।
मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा शेर्पाको भनाइ छ ।
मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो । यस्तै सोही गाउँकी १८ देखि ३० वर्षकी अर्की महिलाको समेत अत्यधिक रक्तश्राव भएर तत्काल थप उपचार गर्न नसक्दा मृत्यु भएको डा शर्पाले बताए ।
यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नहुँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया महिलाको समेत समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको डा शेर्पाले बताएका छन् ।
उनीहरुमध्ये चारजनाको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनुका साथै अस्पतालमा प्रसूति नगराउँदा मृत्यु भएको र जिल्लामा कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य संस्थामा नियमित जाँच नगराउनु, धेरै बच्च जन्माउनु खानपानमा ध्यान नदिनुलगायतका कारण आमाको ज्यान जाने गरेको कार्यालयले जानकारी दिएको छ । जनचेतना अभावकै कारण मातृ मृत्युदर कम हुन नसकेको डा शेर्पाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.