खोटाङ, भदाै २०: बिहीबार राति खाेटाङमा खुकुरी प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
खाेटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले आफ्नै ३० वर्षीया श्रीमती देवीका राईलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट देवीकाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार हत्या गरेलगत्तै स्थानीयवासीले प्रहरीमा दिएको जानकारीका अनुसार जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको बताए ।
त्यसरी भएकाे विभत्स हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाए ।
श्रीमतीकाे हत्यापछि पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । उनीहरूका एक छोरा रहेकाे बुझिकाे छ ।