काठमाडौं विश्वविद्यालय हजार शय्याको शिक्षण अस्पताल बनाउदै

| 2023 Dec 14 | 08:05 am 505

काठमाण्डौ, मंसिर २८ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले हजार शय्याको शिक्षण अस्पताल बनाउने घोषणा गरेका छन् । मंगलबार आयोजित २९औँ दीक्षान्त समारोहमा उनले केयूले हजार शय्याको मल्टीस्पेसियालिटी शिक्षण अस्पताल बनाउने बताउनु भएको हो ।

केयूले यसअघि धुलिखेल सामुदायिक अस्पताललाई आफ्नै शिक्षण अस्पतालका रूपमा प्रयोग गर्दै आएको थियो । तर, केयू र धुलिखेल व्यवस्थापनबीचको द्वन्द्वका कारण सन् १९९५ मा ५० वर्षका लागि भएको सम्झौता तोडिने अवस्थामा पुगेको छ । धुलिखेल सामुदायिक अस्पतालले आफूलाई छुट्टै सामुदायिक विश्वविद्यालयका रूपमा विकास गर्न बागमती प्रदेश सरकारसमक्ष आवेदन दिइसकेको छ ।

‘स्वास्थ्य सेवालाई किफायती, पहुँचयोग्य र विश्वव्यापी विकासका साथ अद्यावधिक बनाउने दृढ प्रतिबद्धताका साथ काठमाडौं विश्वविद्यालयले निकट भविष्यमा सुपर स्पेससियालिटी अस्पताल स्थापना गर्ने महत्वाकांक्षी योजनाका लागि पहल गरिरहेको छ,’ थापाले भने, ‘मेन्टल हेल्थ रिसर्च सेन्टर सञ्चालनमा आइसकेको छ । निकट भविष्यमै डाइबेटिज रिसर्च सेन्टर र अस्पताल पनि सञ्चालनमा ल्याउन विश्वविद्यालय कटिबद्ध छ ।’ केयूले चौकोटमा फोक्सो रोगसम्बन्धी आफ्नै अस्पताल सञ्चालनमा ल्याइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केयूले हजार शय्याको शिक्षण अस्पताल बनाउने घोषणाको प्रशंसा गरे । उनले सरकारका तर्फबाट शिक्षण अस्पताल निर्माणका लागि सहयोग गर्ने बताए । प्रधानमन्त्रीले स्थापनाको ३२ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न काठमाडौं विश्वविद्यालयले गरेको प्रयास सराहनीय भएको भन्दै त्यसका लागि शुभकामनासमेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.