काठमाडौँ, २० जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका बझाङ जिल्लाका पूर्वसभापति ज्योतिप्रकाश जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत नेता जोशीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित जोशीको शनिबार कैलालीको धनगढीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले स्वर्गीय जोशीले पु¥याएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै जोशीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए। स्वर्गीय जोशीले विसं २०३६ को जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०४२ को सत्याग्रह, विसं २०४६ को ऐतिहासिक जनआन्दोलन र विसं २०६२/०६३ मा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलनका क्रममा जेल जीवन व्यतित गरेका थिए ।
स्वर्गीय जोशी दुई कार्यकाल बझाङ जिल्लाको सभापति थिए । उनले नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका काँग्रेसले जनाएको छ । उहाँका श्रीमती, दुई छोरी र तीन छोराहरु छन् ।