‘काँग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ , त्यो बुझ्न सकिएको छैन’- योगेश भट्टराई

रिपोर्ट नेपाल | 2018 Jun 15 | 03:51 pm 2968

काठमाडौं, असार १ :  नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता भट्टराईले भने “काँग्रेसलाई यति धेरै छटपटी किन भइरहेको छ । त्यो बुझ्न सकिएको छैन । विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत छ ।” सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कोही कसैले पनि आपत्ति गर्नु नपर्ने उहाँको भनाइ थियो ।

नेता भट्टराईले कम्युनिष्टहरूबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताए ।

नेकपाका स्थायी समिति सदस्य पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.