– आकृती पाण्डे
राज्यको सबै निकायमा पहुँच राख्ने प्रहरी कर्मचारीका कथा र व्यथा भने अत्यन्तै दयनीय छन् । जनताको जिउ ज्यान मात्र नभएर आपत विपतमा समेत हातेमालो र सहयोगि बन्ने गरेको प्रहरी कति आफू आर्थिक र भौतिक पक्षबाट सुरक्षित छ ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो । माथिल्लो दर्जामा बढुवा हुँदा खरायो शैलीले हुन्छ भने तल्लो दर्जाको बढुवा कछुवा शैलीमा हुने गरेको छ । २०६१ सालमा असईबाट सई बनेको नेपाल राष्ट्रको सुरक्षाकर्मी आजसम्म खड्क र खुकुरी क्रस काँधमा थप्न पाएको छैन । विवाह गरेर जन्मीएको सन्तान १२ कक्षा पढाई सकाएर आफू भन्दा एक तह तल असइमा आइसकेको हुन्छ तर २०६१ देखि २०६४ सम्मका सई बढुवा हुन सकेका छैनन् ।
सम्पूर्ण जीवनको महत्वपूर्ण समय अर्थात जवानी देश र जनताको सुरक्षार्थ र चेन अफ कमाण्डमा बसेको सई त्यही दर्जाबाट अवकाश हुनुपर्ने कस्तो विडम्बना । इन्स्पेक्टरमा सेवा प्रवेश गरेको र व्याचलर गरेको व्यक्ति कम्तीमा पनि ६ फूली थपि सकेको हुन्छ मात्र एक व्याच पढाई कम भएको व्यक्ति सईबाट अवकास हुनुपर्ने यो कुरा कम पीडादायी छैन । सईमा जाम भयो भनेर एउटा तारा थपिदिएर वरिष्ठ नाम त दिइयो तर त्यसको काम कर्तव्य र अधिकार के हो भन्ने कुरा समेत प्रष्टाइएको छैन । २०६३ सालका सई इन्स्पेक्टर हुँदा २०६१ का सई एउटा तारा थपेर चित्त बुझाएर बसेका छन् । २०६१।०६२ का करीब ९० जना सई वरिष्ठ त भए तर त्यसको औचित्य खासै देखिएन । ग्रेड पनि सई र वरिष्ठ सईको एउटै हुन्छ । बढुवा नगरीए पनि कम्तीमा सईको दुई र वरिष्ठको तीन ग्रेड बनाइदिएको भएपनि कम्तीमा थोरै भए पनि न्याय हुने हुन्थ्यो होला । सेवामा प्रवेश गरे देखि संगठनको हित, देश र जनताको सेवामा लाग्दा छिमेकीको नजरमा बर्षौ एकै दर्जाको देखिने र घर परिवारको नजरमा असक्षम भएर त होइन भन्ने आशंका पैदा हुने कुरा छर्लङ्ग छ ।
माथिल्लो दर्जाका अधिकृतहरु आफ्नो सेवा, सुविधा र बढुवाका लागि जति चिन्तित हुन्छन् त्यो समूहले उन्नाइस वर्षसम्म बढुवा हुन नसकेका सईका बारे सिस्टम बनाइदिनु पर्ने होइन र ! न्यूनतम पारिश्रमिकले अधिकतम सेवा प्रवाह गर्ने सई र त्यो भन्दा तल्लो दर्जाका कर्मचारीको मन कति पोल्छ होला । घाम, पानी भोक, प्यास, परिवार, आफन्त केहि नभनी जनताको सेवामा खट्ने सइको पीडाको कथा व्यथा कसले सुन्नु पर्ने हो ध्यान जान जरुरी छ । मुलुकमा युवाहरु धमाधम विदेश पलायन भइरहेकाे याे अवस्थामा बहालमा रहेका कर्मचारीले पनि विदेशको बाटो रोजेर हिडे भने के हुन्छ सोच्न जरुरी छ । चेतना भया !