कम्युनिष्टहरूको ‘कलमी’ !

रिपोर्ट नेपाल | 2021 Sep 29 | 02:52 pm 269

धर्मनिरपेक्षता, सङ्घीयता, जातिवाद, क्षेत्रीयतावाद र गणतन्त्रको मुद्दा बोक्न र कुनै पनि अवस्थामा नबिसाइकन उक्त मुद्दा बोकिरहने ठाउँमा पूर्वप्रजातन्त्रवादी पार्टी काङ्ग्रेस आइपुगेको छ । खास अवस्थामा कम्युनिष्टहरू बरु वर्तमान संविधानमाथिको स्वामित्व परित्याग गर्न सक्छन्, तर काङ्ग्रेस अब सहजै पछि हट्न नसक्ने-नमिल्ने अवस्थामा पुगिसकेको छ ।

  • देवप्रकाश त्रिपाठी

भिन्न विचार समूहका मानिसको ‘गर्धन ताक्न’ पाउनुपर्छ भन्ने विचार-सिद्धान्त अङ्गिकार गर्दै कोही अहिंशा र शान्तिको गीत गाउँछन् भने तिनलाई कसरी बुझ्ने ? वामपन्थी कम्युनिष्ट भएर प्रजातन्त्र तथा राष्ट्रियताको पक्षमा रहेको दाबी गर्नु र मानिसको गर्धन र धन ताक्नेहरूले अहिंशा र शान्तिको गीत गाउनुबीच तात्विक अन्तर रहन्न । मार्क्सवाद, लेनिनवाद र माओवाद वास्तवमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रविरुद्धको विचार, दर्शन हो । कम्युनिष्ट भएर पनि माओ त्से तुङ किन देशभक्त भूमिकामा देखापरे भन्ने विषयबारे बेग्लै अध्ययन छलफल गर्न सकिन्छ । उत्तर पश्चिम सीमामा तत्कालिक सोभियत सङ्घ (स्तालिन) र चीनबीच विवाद उत्पन्न हुँदा स्तालिनले ‘भविष्यमा साम्यवाद स्थापना भएपछि राज्यहरूको सीमाना मेटिनेछन्, यो एउटा सानो टुक्रा जमिनलाई लिएर किन विवाद गर्नुहुन्छ, छोडिदिनुहोस्’ भनी माओ त्से तुङ्सँग निश्चित भूभाग सोभियत सङ्घलाई हस्तान्तरण गर्न आग्रह गरेपछि माओले जवाफमा भनेका थिए- ‘ठिकै छ, साम्यवाद स्थापना भएपछि देशका सीमाहरू रहने छैनन्, अहिलेलाई तपाईं (स्तालिन)हरू हाम्रो सानो टुक्रा जमिनका निम्ति तनाव नबढाउनुहोस्, हामीलाई नै छोडिदिनुहोस् । साम्यवाद आएपछि मेटिने सीमाका विषयलाई लिएर तपाईंहरू झमेला पैदा नगर्नुहोस्, अहिले हाम्रो भूमि हाम्रै स्वामित्वमा छोडिदिनुहोस् ।’

माओको जवाफले स्तालिन स्तब्ध भए, भविष्यमा साम्यवाद आउँछ भन्ने भ्रममा परेर चीन आफ्नो एक इञ्च भूमि पनि छोड्न तयार भएन । वास्तवमा साम्यवाद (सीमाविहीन संसार) को वकालत गर्दागर्दै पनि रसिया र चीनका कम्युनिष्ट शासकहरू आफ्नो सीमा अदलबदल गर्न तयार भएनन् । यस प्रकरणले मार्क्सले परिकल्पना गरेको साम्यवादी व्यवस्था कुनै समय पृथ्वीमा स्थापित हुन सक्छ भन्ने विश्वास स्वयम् साम्यवादी नेताहरूमा समेत नभएको प्रमाणित गरेको छ । यहिँनेर स्मरणीय पक्ष के छ भने साम्यवादलाई लक्ष्य नबनाएपछि कम्युनिष्टहरूले समाजवाद, नयाँ जनवाद र आदित्यादि नाममा सत्ता प्राप्त गर्ने ध्येय नै राख्नु नपर्ने हो । लेनिनको विचारअनुसार ‘साम्यवादमा पुग्नका निम्ति संसारका सबै राज्यहरू विघटन हुनुपर्छ, पूँजिवादीहरू राज्यसत्ताको विघटनसँग असहमत हुने र साम्यवाद घोषणामा अड्चन बन्ने हुनाले कम्युनिष्टहरूले जसरी भए पनि सत्तामा सम्पूर्ण नियन्त्रण कायम गर्नुपर्छ र, प्राप्त सत्तालाई जोगाइराख्नुपर्दछ ।’ अब साम्यवादमा पुग्न नसकिने या नपर्ने भएपछि कम्युनिष्ट सत्तामा जाने किन भन्ने प्रश्न गम्भीर ढङ्गले उठाउन मिल्ने परिस्थिति निर्माण भएको छ ।

आफूहरूको लगानीमा हुर्कीबढेका कम्युनिष्टहरू जातीय-क्षेत्रिय भड्काव पैदा गर्न र कम्युनिष्ट मुलुक चीनलाई प्रहार गर्ने रमाइलो अस्त्रका रुपमा प्रयोग हुने पूर्ण विश्वास सम्भवतः पश्चिमाहरूमा थियो । र, जातीय एवम् क्षेत्रिय भड्काव सृष्टि गर्न कम्युनिष्टहरू पश्चिमाको सहयोगी पनि बनेका हुन्, तर चीनविरुद्ध प्रयोग हुन कम्युनिष्टहरूले आनाकानी गरेपछि पश्चिमाहरू झस्किन पुगेका छन् । विन लादेनलाई झैँ प्रयोग गर्ने र प्रयोजन सकिएपछि सिध्याउन पनि ढिला नगरिकन तयार रहने पश्चिमाहरूको दृष्टिमा नेपालमा कम्युनिष्टको उपादेयता सकिँदै गएको छ ।

कुनै समय रसिया, चीन, भियतनाम, क्युबा र पूर्वी युरोपका मुलुकहरूमा कम्युनिष्ट राज्यसत्ता स्थापना भएको र, संसारका दर्जनौँ मुलुकमा कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेको थियो । प्रथम विश्वयुद्धदेखि दोस्रो विश्वयुद्ध र त्यसपछिका केही दशकसम्मको स्थिति कम्युनिष्टहरू विजयउन्मुख भए जस्तो देखिन्थ्यो । तर अहिले विश्वब्यापी अभ्यासहरूले साम्यवाद एउटा कोरा कल्पना मात्र भएको तथा मानिसको प्रयासले साम्यवाद स्थापनाको कुनै सम्भावना नरहेको शिद्ध गरिसकेको छ । दृष्टिविहीन व्यक्तिको नाम नेत्रप्रसाद राख्नु र, कहिल्यै प्राप्त हुन नसक्ने साम्यवादको नाममा राजनीतिक धन्धा चलाउनु उस्तै-उस्तै हो । भोक, निन्द्रा, यौन, झगडा गर्ने प्रवृत्ति (युयुत्सा) र आर्जनात्मक गुण जन्मजात (स्थायी अर्थात् सिकाउन नपर्ने र कहिल्यै नमेटिने) प्राप्त मानिसले साम्यवाद स्थापना गर्ने र त्यसैमा रमाउने कुरा आफैंमा हास्यास्पद एवम् भ्रमपूर्ण थियो । विश्वव्यापी अभ्यासले समेत प्रमाणित गरिसकेको अवस्थामा अझै पनि कम्युनिष्ट बन्ने/भन्ने र, तिनको नाममा राजनीति र सत्ताको खेल जारी राख्नु भनेको मानिसलाई धोका दिनु हो भन्न सकिन्छ ।

अर्को स्मरणयोग्य पक्ष छ धर्मको । सन् १९१७ मा षडयन्त्रमूलक ढङ्गले राज्यसत्ता कब्जा गरिसकेपछि रसिया (तत्कालिक सोभियत सङ्घ) मा लेनिनले शिक्षा र सामाजिक ब्यवहारलाई धर्मविपरीत मार्गमा अघि बढाएका थिए । विद्यालय र विश्वविद्यालयहरूमा भौतिकवादी शिक्षा दिँदै धर्मलाई अफिमका रूपमा परिभाषित गर्ने गरिएको थियो । मानिसलाई आफ्नो धर्म मान्न निरुत्साहित गरिन्थ्यो र, हज्जारौँ चर्चहरू बन्द गरिएका थिए । धर्म र धर्मसापेक्ष व्यवहारलाई बर्जित तुल्याइएको थियो र, यस्तो अवस्था-व्यवस्था कम्युनिष्ट राजको बहत्तर वर्षसम्म चलिरह्यो । बोल्सेविक क्रान्तिको (सन् १९१७) समयमा जन्मिएका मानिसले आफ्नो जीवनकालको बहत्तर वर्षसम्म धर्म र धार्मिक व्यवहारको पक्षमा कुनै शिक्षा, दीक्षा र प्रोत्साहन पाएका थिएनन् । तर बहत्तर वर्षपछि सन् १९८९ मा कम्युनिष्ट शासन गर्ल्यामगुर्लुम ढलेको भोलिपल्ट लाखौंँ मानिस चर्च (गिर्जाघर) हरूमा प्रार्थनाका निम्ति उपस्थित भए । त्यस घटनाले मानिसमा स्वतः उत्पन्न हुने ईश्वरप्रतिको आस्था र धार्मिकता कुनै शक्तिले छेकेर छेकिन्न, मेटेर मेटिन्न भन्ने पुष्टि गरेको छ ।

साम्यवाद स्थापनाको सम्भावना कहिल्यै नरहने, भौतिकवाद र अधार्मिकतालाई मात्र प्रश्रय दिँदादिँदै पनि मानिसबाट धार्मिक तथा अध्यात्मिक चेत नमासिने भएपछि पनि माक्र्सवाद, लेनिनवाद र माओवादको गीत गाइरहनुको औचित्य आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले पुष्टि गर्नु पर्दैन ? हो, आत्महत्या र हत्या गर्नु अपराध भएको जान्दाजान्दै पनि कतिपय मानिस आत्महत्या र हत्याका निम्ति तयार भइरहेका हुन्छन् । चोरी, डकैती या यौनदुर्व्यवहारलाई आपराधिक कर्मका रूपमा बुझ्दाबुझ्दै पनि मानिसबाट त्यसप्रकारका कुकर्म भइरहेका हुन्छन् । त्यसैगरी मान्छे कम्युनिष्ट बन्नु सर्वथा गलत हुन्छ भन्ने जान्दाजान्दै पनि किन मानिसहरू कम्युनिष्ट बनिरहन्छन्, किन कम्युनिष्ट भनिरहन्छन्, यो प्रश्नको जवाफ खोज्ने दायित्व आममनिसमा थपिएको छ ।

क्रान्ति र परिवर्तनका नाममा बाबुआमा काट्न, धर्म संस्कृति मास्न, इतिहास र सभ्यताको बदनाम गर्न तथा हिंसा, अराजकता र कपटतन्त्रमा रमाउन सक्ने भएपछि मानिस कम्युनिष्ट बन्न सक्छन्, तर एकपटक विपरीत मार्गमा हिँड्न थालेको मानिसको मतिमा सुधार आउन निकै कठिन हुन्छ ।

सबै मानिस समान हुन्, मानिसको कुनै जात हुन्न भन्ने भिन्न विचार बोक्ने, तर मुलुकमा जातिवादी भावनालाई स्थायित्व दिन जातीय आरक्षण र समानुपातिक प्रणाली कार्यान्वयनमा ल्याउने, आफूलाई सर्वहाराकरण गर्ने भन्दै भीर-पखेरा र समतल भूभागका दुई-चार रोपनी जमिन तथा झोपडी कथित पार्टीलाई सुम्पिएको घोषणा गर्ने, तर राज्यको सम्पत्तिमा सुल्तानी मस्तीका साथ जीवन बिताउने, कम्युनिष्ट भएर धनसम्पत्ति आर्जन गर्नुहुन्न भन्ने शिक्षा दिँदै राज्य दोहन गरेर रातारात अर्बौंको मालिक बन्ने, बुर्जुवा शिक्षा ग्रहण नगर्न गरिबका सन्तानलाई पढाइलेखाइ कर्मबाट वञ्चित गराउने र आफ्ना सन्तानलाई देश विदेशका महङ्गा विद्यालय र विश्वविद्यालयमा पढाउने, साम्राज्यवादको विरोध गर्दै साम्राज्यवादी भनिएका मुलुकद्वारा प्रायोजित गैह्रसरकारी संस्थाहरूबाट नगद ग्रहण गर्ने, बुर्जुवा अर्थात् मायाप्रितिका गीत सुन्नु र सुनाउनु कम्युनिष्ट संस्कारविपरित कार्य भएको उर्दी जारी गर्दै मौका पाउँदा डान्सबार र सार्वजनिक स्थलमा समेत ‘बुर्जुवा फिल्म’का नायिकाहरूसँग नाच्दै हिँड्ने र महङ्गा गाडी तथा भब्य महलहरूमा रमाउने कार्य-व्यवहार कम्युनिष्टका नेताहरूबाट भइरहेको देख्दादेख्दै पनि मान्छे किन कम्युनिष्टसँग दूरी बनाउन खोजिरहेका छैनन् ? यसलाई पनि अनुसन्धान र अध्ययनको विषय बनाउनुपर्ने हो ।

आममानिसमा धर्मनिरपेक्षता र अधार्मिक व्यवहारलाई ‘वैज्ञानिकता’ र ‘महान् उपलब्धि’ भएको सन्देश छर्दै भैंसीसम्मको पूजा गर्न नछोड्ने ढोँगीहरूले अन्तर्राष्ट्रियवादी गीत गाउँदै सच्चा देशभक्त र राष्ट्रवादी पनि आफूहरू नै भएको भन्न भ्याएका छन् र, यिनकै कुरामा पत्यार गर्नेहरू मतपेटिकामा अझै भेटिँदैछन् ।

मान्छे भएर जन्मिएको प्राणी कम्युनिष्टमा रुपान्तरण हुन गाह्रो छैन, तर एकपटक कम्युनिष्ट बनेको प्राणीलाई मानिसमा पुनस्र्थापित गर्न निकै कठिन हुन्छ । कम्युनिष्ट बन्नका निम्ति अराजक, विद्रोही, अधिक नकारात्मक, अर्काको वैभवमा आँखा गाड्ने र आफूले कुनै उद्यम-व्यवशाय नगर्ने स्वभाव-चरित्र बनाए पुग्छ । क्रान्ति र परिवर्तनका नाममा बाबुआमा काट्न, धर्म संस्कृति मास्न, इतिहास र सभ्यताको बदनाम गर्न तथा हिंसा, अराजकता र कपटतन्त्रमा रमाउन सक्ने भएपछि मानिस कम्युनिष्ट बन्न सक्छन्, तर एकपटक विपरीत मार्गमा हिँड्न थालेको मानिसको मतिमा सुधार आउन निकै कठिन हुन्छ ।

कम्युनिष्ट मात्र होइन विगतमा प्रजातन्त्रवादी भनेर चिनिएको काङ्ग्रेस पार्टी, राष्ट्रवादीका रूपमा कुनै समय चिनिएका राप्रपा प्रजाति तथा बत्ति बाल्दा पैदा हुने ऐंजेरु झैँ राजनीतिमा उत्पत्ति भएका जातियता र क्षेत्रियतावादको वकालत गर्नेहरू वि.सं. २०६३ सालको कीर्ते परिवर्तनपछि एकै सोच, रुपरङ्ग र आकारप्रकारमा छन् । देशको एकता भत्काउने, अखण्डता नास गर्ने, धर्म संस्कृति र राज्यश्रोतको दोहन गरेर आफू र आफ्नो परिवारको भविष्य ‘सूरक्षित’ तुल्याउने एजेण्डामा उनीहरू सबै एकमत रहँदै आएका छन् ।

देख्दा र सुन्दा केचना र कैलाश जत्तिकै भिन्न महसूस हुने कम्युनिष्ट, काङ्ग्रेस, क्षेत्रियतावादी र राप्रपा प्रजातिबीच संविधान निर्माणका क्रममा कायम ऐक्यवद्धताले निरन्तरता पाइररहनुको अर्थ बुझियो भने नेपाली राजनीतिको अन्तर्य पत्ता लगाउन सकिन्छ ।

नेपालका बैरीहरू राज्य कमजोर बनाएर यहाँ आफ्नो भूमिका बढाउन चाहन्थे । त्यसनिम्ति नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका सम्पूर्ण आधारहरू ध्वङ्श गर्नुलाई उनीहरूले आफ्नो अभीष्ट बनाएका थिए । उक्त अभीष्ट पूरा गराउन क्रान्ति र क्रान्तिकारिताको आवरणमा मात्र सम्भव थियो । त्यसैले नेपालका कम्युनिष्टलाई प्रयोग-उपयोग गर्दै लक्ष्य हासिल गर्ने पराया योजना बन्यो ।

राष्ट्रियता, प्रजातन्त्र, संसदीय व्यवस्था, संवैधानिक राजतन्त्र, गैह्रजातिवाद, आर्जनात्मक स्वतन्त्रता, धर्मसापेक्षता र समाजवादी आर्थिक कार्यक्रमको पक्षमा रहेको काङ्ग्रेस पार्टीबाट राज्य कमजोर बनाउने कुनै पनि एजेण्डा ग्रहण हुन र देशविरोधी एजेण्डा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न त्यो समयमा सम्भव थिएन । नेपालका बैरीहरू राज्य कमजोर बनाएर यहाँ आफ्नो भूमिका बढाउन चाहन्थे । त्यसनिम्ति नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका सम्पूर्ण आधारहरू ध्वङ्श गर्नुलाई उनीहरूले आफ्नो अभीष्ट बनाएका थिए । उक्त अभीष्ट पूरा गराउन क्रान्ति र क्रान्तिकारिताको आवरणमा मात्र सम्भव थियो । त्यसैले नेपालका कम्युनिष्टलाई प्रयोग-उपयोग गर्दै लक्ष्य हासिल गर्ने पराया योजना बन्यो । कसैलाई आइएनजीओ र एनजीओमार्फत तथा कुनैलाई चर्चहरूमार्फत परिचालन गरी क्रान्तिको आवरणमा नेपाली राष्ट्रियता र राष्ट्रिय एकताका सम्पूर्ण आधारहरू समाप्त गर्ने र, त्यसरी प्राप्त कथित उपलब्धिहरूको दस्तावेजीकरण गरी संस्थागत गर्न संविधान जारी गराउनेसम्मको कार्य कम्युनिष्टकै अगुवाइमा सम्पन्न गरिएको छ । आफूहरूको लगानीमा हुर्कीबढेका कम्युनिष्टहरू जातीय-क्षेत्रिय भड्काव पैदा गर्न र कम्युनिष्ट मुलुक चीनलाई प्रहार गर्ने रमाइलो अस्त्रका रुपमा प्रयोग हुने पूर्ण विश्वास सम्भवतः पश्चिमाहरूमा थियो । र, जातीय एवम् क्षेत्रिय भड्काव सृष्टि गर्न कम्युनिष्टहरू पश्चिमाको सहयोगी पनि बनेका हुन्, तर चीनविरुद्ध प्रयोग हुन कम्युनिष्टहरूले आनाकानी गरेपछि पश्चिमाहरू झस्किन पुगेका छन् । विन लादेनलाई झैँ प्रयोग गर्ने र प्रयोजन सकिएपछि सिध्याउन पनि ढिला नगरिकन तयार रहने पश्चिमाहरूको दृष्टिमा नेपालमा कम्युनिष्टको उपादेयता सकिँदै गएको छ । ‘एमसिसी प्रकरण’पश्चात नेपालबाट कम्युनिष्ट उन्मूलनका निम्ति पश्चिमी सक्रियता बढ्यो भने त्यसलाई स्वभाविक रूपले लिनुपर्ने अवस्था देखिँदै छ । पश्चिमाहरू बक्री भइदिँदा हिंसाकालीन मुद्दाहरू बौरिने सम्भावना त रहने नै छ, नेपाली राज्यसंयन्त्रको भूमिका र तरिकासमेत फेरिन सम्भव छ । अब सैन्य र न्यायिक निकायहरूले आफ्नो काम-कर्तव्यमा ‘निखार’ ल्याए भने पनि आश्चर्य मान्नु पर्दैन । धर्मनिरपेक्षता, सङ्घीयता, जातिवाद, क्षेत्रीयतावाद र गणतन्त्रको मुद्दा बोक्न र कुनै पनि अवस्थामा नबिसाइकन उक्त मुद्दा बोकिरहने ठाउँमा पूर्वप्रजातन्त्रवादी पार्टी काङ्ग्रेस आइपुगेको छ । खास अवस्थामा कम्युनिष्टहरू बरु वर्तमान संविधानमाथिको स्वामित्व परित्याग गर्न सक्छन्, तर काङ्ग्रेस अब सहजै पछि हट्न नसक्ने-नमिल्ने अवस्थामा पुगिसकेको छ । यस्तै सङ्केतहरू देखापरेकोले हुन सक्छ केपी ओली नेतृत्वको नेकपा एमाले आफूलाई ब्यापक परिवर्तन गरी समयानुकुल सूरक्षित रहने दिशातर्फ अग्रसर छ । यस्तो पृष्ठभूमिमा युरोपियन युनियन, स्काण्डीभियन मुलुक र भ्याटिकन सिटीद्वारा संरक्षित कम्युनिष्ट नेताहरू बाबुराम भट्टराई, माधव नेपाल, प्रचण्ड र उनीहरूप्रति आश्रित व्यक्तिहरूको भविष्य के होला, गहिरो प्रश्नवाचक जिज्ञाशा उत्पन्न भएको छ ।

कतिपय मानिस मार्क्सले नै पहिलो पटक समाजवाद र साम्यवादको परिकल्पना गरेको ठान्दछन् । तर इसाइधर्मीहरूले धेरै पहिलेदेखि नै साम्यवादको परिकल्पना गरेका थिए । पाँचौँ शताब्दिमा युरोपमा भएको मज्दाक (MAZDAK) आन्दोलनलाई साम्यवादमुखी आन्दोलन भनिन्थ्यो । ब्रिटिष लेखक थोमस मोरेले आफ्नो रचनाहरूमा साम्यवाद र सामाजिकीकरणको परिकल्पना गरेका थिए । सम्पत्तिमा साझा स्वामित्वलाई मोरेले जोड दिएका थिए ।सत्रौँ शताब्दिमा ब्रिटेनमा प्युरिटन धार्मिक समूह अस्तित्वमा आएको थियो, जसलाई ‘DIGGERS’ भनेर पनि चिनिन्थ्यो । वास्तवमा जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर साम्यवाद स्थापनाको परिकल्पनालाई क्रिश्चियन कम्युनिज्म भन्ने गरिन्छ । बाबुराम भट्टराई, प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवाहरू एउटै मोर्चामा आबद्ध रहेको पक्षलाई भ्याटिकनसँग नजोडिकन तथ्य बुझ्न सकिँदैन । तर अमेरिकासँग अन्तरविरोध बढेको अवस्थामा अब प्रचण्ड-माधवहरूको रक्षा भ्याटिकनले कसरी गर्ला त्यो हाम्रानिम्ति जिज्ञाशाको विषय हो ।

बाबुराम भट्टराई आफ्नो रक्षाप्रति निकै सचेत रहँदै छन्, त्यसैले जहाज डुब्नुअगावै समुद्रमा फालहान्ने मुसाको अनुशरण गर्न उनले भ्याइसकेका छन् । माओवादी बनेर हिंसात्मक एवम् ध्वङ्सात्मक क्रियाकलापमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भट्टराईलाई बहुराष्ट्रिय राज्यको मुद्दा उठाएको र एमसिसी अनुदानमा निर्वाह गरेको सहयोगी भूमिकाका कारण पश्चिमाहरूले रक्षा गर्न खोजे भने पनि आमनेपाली जनताको दृष्टिमा उनी देशको वैरी साबित भइसकेका छन् । अब भट्टराईको रक्षा पश्चिमाहरूले कसरी गर्लान्, त्यो पनि हाम्रानिम्ति चासोको विष हो ।

‘एमसिसी’ अनुमोदन नभएको या भएको दुवै अवस्थामा पश्चिमाशक्तिको अभीष्ट ‘नेपालबाट कम्युनिष्ट उन्मूलन’ बन्न सक्ने कुरामा अब धेरै शङ्का या माथापच्ची गरिरहनु पर्ने स्थिति होइन । २०७२ मा रहस्यमयी किसिमबाट जारी संविधानप्रति विमति जनाउने नयाँ भारत र अमेरिकाबीच नेपालप्रतिको दृष्टिमा समानता देखापऱ्यो भने त्यो कम्युनिष्टकै विषयमा हुन सक्नेछ । यसर्थ नेपाल यतिबेला अकल्पनीय राजनीतिक परिवर्तनको पूर्वसन्ध्यामा छ भनियो भने गलत हुने छैन । जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.