बासबहादुर जिसी खासै औपचारिक शिक्षा लिने अवसर पाएको व्याक्तित्व थिएनन् । तर उनको मुल मन्त्र थियो- ‘समाज विकासका लागि पहिलो शर्त शिक्षा, दोस्रो शर्त शिक्षा, तेस्रो शर्त पनि शिक्षा । शिक्षा भयो भने विकासका अन्य मुलहरू आफै फुट्छन् ।’
महेन्द्र पाण्डेय
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । नेपालका हरेक गाउँहरूले इतिहास बोकेका छन् । सभ्यता बोकेका छन् । दुर्भाग्यवश बढ्दो बसाइँसराइका कारण नेपालको पहाडी क्षेत्रका गाउँहरू धमाधम रित्तिन थालेका छन् । गाउँ रित्तिनु भनेको इतिहास र सभ्यता समाप्तिको चरणमा प्रवेश गर्नु हो । अब धमाधम हरेक गाउँको इतिहास तथा सभ्यताको अभिलेख राख्न अब ढिला भइसकेको छ ।
गुल्मी जिल्लाको धुरकोट क्षेत्रका कर्मयोगी समाजसेवी बासबहादुर जीसीको संस्मरण सँगालो पुस्तक हालै प्रकाशित भएको छ । उहाँको स्मरणमा लेखिएको पुस्तक धुरकोट क्षेत्रको इतिहास तथा सभ्यताको अभिलेखको सँगालो हो । नेपाल एकीकरणअघि कुनै कालखण्डमा धुरकोट छुट्टै राज्य थियो । छुट्टै राज्यका रूपमा इतिहासकारहरूले समेटेका कारण इतिहासमा चासो राख्नेहरूका लागि धुरकोट अपरिचित नाउँ/ठाउँ होइन । नेपाल एकीकरणपश्चात पनि धुरकोट क्षेत्रले आफ्नै लयमा इतिहास र सभ्यतालाई निरन्तरता दिएको थियो, तर इतिहास लेख्नेहरूका लागि ओझेलमा पऱ्यो । किनकि राज्यको वा राजवंशको मात्रै इतिहास लेख्ने प्रचलन छ । विद्यार्थीलाई यस्तै इतिहास पढाउने प्रचलन छ । त्यसैले राजधानी तथा सदरमुकमबाट दुरदराजमा रहेका गाउँ समाजका इतिहास र ऐतिहासिक व्यक्तित्वहरू ओझेलमा परेका छन् । सौभाग्यवश गुल्मीको धुरकोट क्षेत्र ओझेलमा पर्न पाएन ।
धुरकोट क्षेत्रको इतिहास तथा सभ्यतालाई स्थानीय जीसी परिवारले निरन्तरता दियो । नेपाल एकीकरणपछि पनि धुरकोट क्षेत्रको सभ्यतालाई निरन्तर प्रवर्धन गर्न अमरसिंह जीसी, महावीर जीसी, खिमबहादुर जीसी, ऐमानसिंह जिसी बासबहादुर जीसीसम्मका पाँच पुस्ताको धेरै रगत र पसिना बगेको छ । त्यसमा पनि पाँचौ पुस्ताका बासबहादुर जीसी धुरकोटमा मात्रै सीमित भएनन् । गल्मी तथा त्यस आसपासका जिल्लामा समेत बासबहादुर जीसीको बाँसुरी बज्यो । यदि समयमै पुस्तक ननिस्किएको हुन्थ्यो भने केही दशकपछि धुरकोट क्षेत्रको पछिल्लो इतिहास र सभ्यता बिलाएर जान्थ्यो । बासबहादुर जीसी तथा उनका पुर्खाको योगदान विस्मृतिको गर्भमा विलिन हुन्थ्यो । सौभाग्यवश उनको बारेमा पुस्तक प्रकाशित भयो, मेचीदेखि महाकालीसम्मकाले गुल्मी जिल्लाका गौरव थाहा पाए ।
लुम्बिनी प्रदेशअन्र्तगत पर्ने १२ वटा जिल्लामध्ये गुल्मी एक पहाडी जिल्ला हो । गुल्मी जिल्लाको नामाकरण को सम्बन्धमा संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकरण गरिएको हो भन्ने भनाइ रहेको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको छ भने देशको संघीय राजधानी काठमाडौंबाट लगभग ३७० कि.मि. टाढा रहेको छ । बहु जातजाती, भाषाभाषी, संस्कृति, रीतिरिवाज, प्राकृितक श्रोत र साधन, ऐतिहासिक तथा धार्मिक स्थानले भरिपुर्ण रहेको गुल्मी जिल्ला देशको पश्चीम भेगमै रहेको उत्कृष्ट रमणीय जिल्ला हो । गुल्मी जिल्लामा थुप्रै ऐतिहासिक महत्वका ठाउँहरू छन्, जो विगतमा ओझेलमा परेका थिए । तर पछिल्ला वर्षहरूमा धमाधम उजार हुँदैछन् ।
नेपालका ७७ जिल्ला मध्ये राष्ट्रिय पहिचानमा यतिबेला गुल्मी अग्रलहरमा छ । विगत केही दशकदेखि गुल्मी जिल्लाबासीहरू नेपालको हरेक क्षेत्रमा निर्णायक तहमा पुगेका छन् । नेपालका उच्च पदस्थ निजामती कर्मचारी, सेना, प्रहरी, प्राध्यापक, डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी व्यवसायीहरूको संख्या हेर्ने हो भने गुल्मी सबै भन्दा अगाडि छ । चाहे लोकसेवा आयोग होस्, चाहे उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी छनौटको परीक्षा होस्, कुल सहभागीमध्ये करिव २० प्रतिशत गुल्मी जिल्लाबासी उत्तीर्ण हुन्छन् भने बाँकी ८० प्रतिशत अरु ७६ जिल्लाबासी । निजामती कर्मचारी, सेना, प्रहरी, प्राध्यापक, डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी व्यवसायीहरूमा गुल्मेलीको वर्चश्व किन धेरै छ ? लोकसेवाको परीक्षमा गुल्मेलीहरू किन धेरै उत्तीर्ण हुन्छन् ? भन्ने यथार्थ भन्दा पनि गुुल्मीबासीका लागि अर्को अझ गौरवको कुरा छ । त्यो गौरव हो- इमान्दारीता र लगनशीलता । नेपालका प्राइभेट कम्पनीहरूले कर्मचारी भर्ना गर्नुपर्दा सकेसम्म गुल्मी जिल्लाकै किन खोज्छन् ? नाम चलेका क्याम्पसहरूले विद्यार्थी भन्दा गर्दा गुल्मेलीलाई किन प्राथमिकता दिनछन् ? भन्ने प्रश्न पनि निकै पेचिलो बनेको छ ।
गुल्मेलीहरू कसरी यो हैसियतमा पुगे ? एकाएक चिट्टा परेर पुगेको होइन, दैवी शक्ति तथा ईश्वरको आशीर्वादले पनि गुल्मेलीहरूले यो ढंगको सफलता प्राप्त गरेका होइनन् । गुल्मीबासीको यो सफलताको पछाडि अग्रजहरूको धेरै ठूलो मिहेनत छ, रगत र पसिना बगेको छ । यसरी मिहेनत गर्ने, रगत-पसिना बगाउने अग्रजमध्येका हुन् बासबहादुर जीसी । एकीकरणअघिको समृद्ध र शिक्षित गुल्मी राणाकालको उत्तरार्धसम्म कस्तो अवस्थामा पुगिसकेको थियो भन्ने कुरा संविधानसभा सदस्य सुर्यबहादुर सेनले बासबहादुर जीसीबारेको पुस्तकमा सविस्तार उल्लेख गरेका छन् । बास्तवमा गुल्मीको मात्रै होइन सिङ्गो नेपालको अवस्था सुव सेनले उल्लेख गरेजस्तै थियो ।
नेपालमा शिक्षाको पिलपिले ज्योति बल्न थालेको २००७ सालको जनक्रान्तिपछि हो । गुल्मी जिल्लाका लागि सौभाग्य भनौँ या दुर्भाग्य ! ०७ सालको क्रान्तिपछि देशका धेरै जिल्लाले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने व्यक्तित्व पाए, तर गुल्मी जिल्लाले यो अवसर पाएन । राष्ट्रिय राजनीतिमा, देशको नीतिनिर्माण तहमा पहुँच राख्ने व्यक्तित्व गुल्मी जिल्लाले नपाएर के भयो त ? बरु बासबहादुर जीसी जस्ता व्यक्तित्व पायो, जो औंशीको त्यो अन्धकारमा शिक्षा र सामाजिक चेतनाको राँको बालेर गुल्मीका घर-घर पगे । शिक्षा र सामाजिक चेतनामै जोड दिए । त्यसैको प्रतिफल हो आज गुल्मेलीको यो राष्ट्रिय सान । प्रधानमन्त्री जन्माउने जिल्लाहरू भन्दा बासबहादुर जन्माउने जिल्ला गुल्मी आज अगाडि छ ।
बासबहादुर जिसी खासै औपचारिक शिक्षा लिने अवसर पाएको व्याक्तित्व थिएनन् । तर उनको मुल मन्त्र थियो- ‘समाज विकासका लागि पहिलो शर्त शिक्षा, दोस्रो शर्त शिक्षा, तेस्रो शर्त पनि शिक्षा । शिक्षा भयो भने विकासका अन्य मुलहरू आफै फुट्छन् ।’ उनले स्कुलहरू खोल्ने अभियान नै चलाए । स्कुल खोलेपछि विद्यार्थी चाहियो । छोराछोरी पढ्न पठाउ भन्दै उनी अगुल्टो बालेर रात-बिहान सबेरै गाउँ डुल्दथे । शिक्षाको महत्वका बारेमा अभिभावकलाई सम्झाउने उनको शैली गज्जबको थियो । उनी भन्ने गर्थे- ‘धान कोदो रोप्यौ भने ६ महिनापछि फल्छ । भैंसीको पाडी हुर्कायौ भने तीन वर्षपछि दुध खान पाउँछौ, छोराछोरी पढायौं भने १५ वर्षपछि सुख पाउँछौ ।’
आफ्नो सक्रियतामा स्थापना भएका विद्यालय कम्तिमा पनि साताको एक पटक पुगेर शिक्षकहरूलाई पनि त्यसरी नै बासबहादुर सम्झाउँथे । विद्यालय स्थापना मात्रै होइन गुणस्तीय शिक्षामा उनको जोड थियो । आफ्नो सक्रियतामा खुलेका विद्यालयहरू गुल्मी जिल्लाकै उत्कृष्ट बन्नुपर्छ भन्ने उनको अडान हुन्थ्यो । त्यो देखियो पनि । उनी राजनीतिलाई समाजसेवाको पर्याय ठान्थे भने व्यक्तिगत लाभ उनको शब्दकोषमा थिएन ।
अझ गर्वको कुरा के देखियो भने उनका सन्तान दरसन्तान एकसे एक अब्बल निस्किए । तिनले मुलुकलाई पुऱ्याएको योगदान अतुलनीय छ । पंक्तिकारको अनुमानअनुसार बासबहादुर जीसीको विषयमा जुन संस्मरणात्मक पुस्तक प्रकाशन भएको छ, त्यसमा सबैभन्दा ठूलो योगदान उनकै सन्ततीको छ । किनकि बासबहादुरलाई आफ्नै मात्रै पिता तथा परपिताका रुपमा सन्ततीले सीमित तुल्याएनन् । उनी गुल्मी तथा त्यस आसपासकै क्षेत्रका पितासरह हुन् भन्ने यथार्थतालाई नयाँ पुस्तासामु पस्किन योगदान पुऱ्याए ।
वास्तवमा यति राम्रो संस्मरणात्मक पुस्तक नेपालमा कमै मात्र लेखिएका छन् । ३ सय ७३ पेजको पुस्तकमा ६८ जनाको संस्मरण लेख समावेश गरिएको छ । सबै लेखहरू एक पटक मात्रै पढेर धित मर्दैन । अधिकांश लेखहरू दोहोऱ्याएर, तेहेऱ्याएर पढ्न मन लाग्ने खालका छन् । भाषा सम्पादन तथा शुद्धाशुद्धिमा ज्यादै नै धेरै मिहेनत गरिएको देखिन्छ ।