एमबाप्पे फ्रान्सकाे राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

रिपोर्ट नेपाल | 2023 Mar 22 | 03:09 pm 1305

काठमाडौं, चैत ८ः फ्रान्स राष्ट्रिय फुटबल टोलीको कप्तानमा युवा स्टार केलियन एमबाप्पे नियुक्त भएका छन् । फ्रान्स फुटबल महासंघले मंगलबार राति २४ वर्षीय एमबाप्पेलाई टोलीको कप्तानमा नियुक्त गरेको हो ।

फ्रान्सका नियमिति कप्तान ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सको कप्तान पद रिक्त रहेको थियो । फ्रान्सले रिक्त रहेको कप्तान पदको नयाँ जिम्मेवारी एमबाप्पेलाई दिएको हो ।

सन् २०१७ देखि फ्रान्सको सिनियर टोलीमा डेब्यु गर्नुभएका एमबाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीं) का रोजाईका स्ट्राईकर हुन् । उनले फ्रान्सका लागि ६६ खेल खेल्दै ३६ गोल गरिसकेका छन् ।

कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा सर्वाधिक गोल कर्ता बनेका एमबाप्पेले आठ गोल गर्दै गोल्डेन बुट पुरस्कार पाएका थिए । एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले सन् २०१८ को विश्वकप जित्नुका साथै २०२२ मा उपविजेता बनेको थियो ।

फ्रान्सले सन् २०२४ को युरोकप क्वालिफायरको लागि राष्ट्रिय टोलीको घोषणा र कप्तानको नियुक्त गरेको हो । युरोकप क्वालिफायरमा फ्रान्सले शुक्रबार नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्स फुटबल महासंघले टोलीको उपकप्तानको जिम्मेवारी एन्टोइन ग्रिजम्यानलाई सुम्पिएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.