लमजुङ, असार १४ : प्रहरीले लाइटस्टोन ९उज्यालो प्रकाश दिने ढुंगा० सहित एक पक्रउ गरेको छ । बेंसीसहर नगरपालिका-७, को घनपोखरा गेस्ट हाउसबाट लाइट स्टोनसहित गोरखा अजितकोट गाउँपालिका-४ का ५३ वर्षीय चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको हो ।
डीएसपी यादव ढकालका अनुसार अण्डा आकारको सेतो ढुंगा रातको समयमा उज्यालो प्रकाश दिने वस्तु किनबेचका लागि मोलमोलाई भइरहेको सुराकीको आधारमा प्रहरीले छापा मारेर बरामद गरेको हो ।
गेस्ट हाउसको कोठामा तामाङ बसिरहेको र उनको शरीर तथा कोठा खानतलासीका क्रममा लो–बेडको सिरानीमुनि कागजभित्र कपासले बेरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेको डीएसपी ढकालले बताए ।
अहिले अनुसन्धान कार्य थालिएको छ । अनुसन्धान अधिकृत इन्सपेक्टर राजेन्द्र अधिकारीका अनुसार उक्त वस्तुलाई परीक्षणको लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी गरिएको छ । मंगलबार पक्राउ गरिएका ती व्यक्तिलाई १ साताको म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर अधिकारीले बताए ।