काठमाडौं, जेठ २१: बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट विकास, समृद्धि र लगानीको वातावरण बन्ने अपेक्षा राखेका आम नागरिकहरु आर्थिक वर्ष २०७५/०७६ को बजेट आएसँगै निकै निराश बनेका छन् ।
कम्युनिष्ट सरकारको आगमनसँगै ओरालो लागेको शेयरबजार बजेट भाषणपछि झन धरासयी बन्दै गएको छ । साताको पहिलो दिन आइतबारमात्रै नेप्से ३३ दशमलन ७१ अंकले ओरालो लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर लगानीकर्ताहरुको टाउकोमा करको भार बढाएर आफु पूँजी बजारप्रति अनुदार रहेको प्रमाणित गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन्।
यसरी निरन्तर पूँजी बजार ओरालो लाग्दै गर्दा अर्थशास्त्र र नेपाली बजार राम्ररी बुझेका तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर रहेका अर्थमन्त्री खतिवडा ‘को’ मार्फत सञ्चालित भइरहेका छन् भन्ने प्रश्न उठेको छ । अर्थमन्त्री खतिवडाले मंगलबार संसद बैठक मार्फत सार्वजनिक गरेको बजेटमा सर्बसाधारण लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर पाँच प्रतिशतबाट साढे दुई प्रतिशत बढाएर सात प्रतिशत पुर्याएका छन् ।
शेयरबजारमा करिब २० लाख लगानीकर्ता रहेका छन् भने जसमा १८ खर्बको कारोबार हुन्छ । मुलुको सिंगो बजेटभन्दा ठुलो कारोबारलार्इ सरकारले निरुत्साहित पारेर देशको अर्थतन्त्रलार्इ नै सिध्याउने रणनीति अपनाएको लगानीकर्ताको आरोप छ । अर्थमन्त्रीको गलत चिन्तनका कारण अहिले शेयरमा लगानी गरेका झण्डै १५ लाखभन्दा बढी लगानीकर्तालार्इ सडकमा पुर्याइएको छ ।
अर्थमन्त्रीको अनुदार प्रवृतिको विरोधमा नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका छन् । उनीहरुले अर्थमन्त्रालय आन्तरिक राजस्व विभागले करको सर्वमान्य सिद्धान्तको नै अपमान हुने गरी करको दायरा बढाएको लगानीकर्ताको ठहर छ । ‘यस सरकारले मुलुकमा कहि नभएको अवैज्ञानिक र अव्यवहारिक रुपमा करको दायरा बढाएर समस्त पूँजी बजारको विकासमा नकारात्मक प्रभाव पार्ने पक्का छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सरकारले समृद्ध मुलुक सुखी नेपालीको सपना बाँडिरहँदा यति ठुलो लगानी रहेको पूँजीबजारलार्इ किन निरुत्साहित पार्ने काम गरेको छ भन्ने प्रश्न आम लगानीकर्ताहरुले गरेका छन् ।
सरकारी निर्णयको विरोध गर्दै लगानी कर्ताहरूले नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा प्रदर्शन गरेका छन्। उनीहरुले शेयरमा भ्याट लगाँउन पाइदैन, पुँजीबजार समृद्धिको आधार लगायतका व्यानार सहित १० बजेदेखि कार्यलयमा प्रदर्शन गर्न पुगेका थिए।