अमेरिकी नतिजालाई नेपालीले पाठका रुपमा लिनुपर्छ ।

रिपोर्ट नेपाल | 2020 Nov 11 | 03:58 pm 3505

  • बसन्त भुजेल

हालै सम्पन्न अमेरिकी निर्वाचनले ‘विद्याधनम् सर्वधनम् प्रधानम्’ भनेझैं गरी परिणाम दियो । पैसा भन्दा बुद्धि ठूलो हो भन्ने यर्थाथतालाई अमेरिकी चुनावले ऐना जस्तै छर्लङ्ग बनाएको छ । पैसा भएपछि पद किन्न पाइन्छ भन्ने दम्भलाई झुठो सावित गरिदिएको छ । वहालवाला राष्ट्रपति एवम् रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग जति सम्पत्ति छ त्यसको एक प्रतिशत पनि पूर्वउपराष्ट्रपति एवं डेमाेक्रट पार्टीका उम्मेदवार जाे बाइडेनसँग छैन । तर लोकप्रियतामा नयाँ किर्तिमान कायम गर्दै बाइडेनले चुनाब जिते । भोट पैसा सँग होइन इमानसँग साटियो । सही मान्छेको कदर भयो । मासु र रक्सीमा भोट विकेन ।

जनतालाई पैसाले किन्न सकिन्छ भन्दै मनपरी गर्ने नेपालका नेताहरुलाई पनि यो परिणामले सवक सिकाएको हुनुपर्छ । तरवार बन्दुक, रक्सी र पैसामा विक्ने झोले कार्यकर्ताको समय विस्तारै समाप्त भयो जस्तो छ । नेपाली जनताले प्रजातन्त्र भनेको के रहेछ ? भन्ने कुरा अमेरिकी जनतासँग सिक्ने बेला आएको मात्रै होइन जरुरी भइसकेको छ ।

नेपालमा लोकतन्त्रले प्रतिफल दिन नसकेको मुख्य कारण सर्वसाधरणको पहुँच नहुनु हो । उपल्लो निश्चित वर्ग र भ्रष्टाचार गरेर सम्पत्ति थुपारेकाहरुको हातमा दलहरुको नेतृत्व पुग्नु हो । नेपालको चुनाव गरिवले लड्न सक्ने अवस्था छैन । टिकट किन्नै ८–१० करोड रुपैंया लाग्ने र प्रचार प्रसार तथा मतदातालाई आफ्नो प्रभावमा लिन त्यति नै खर्च गर्नु पर्ने अवस्था छ । त्यसैले नेपालको प्रजातन्त्र पैसामा किनबेच भएको छ । मान्छे जति सुकै असल छ, विद्धान छ भने पनि उ आथिक रुपमा गरिव छ भने उसले टिकट पाउँदैन । बहुदलिय व्यवस्थामा स्वतन्त्र उमेदवारका रुपमा चुनाव जितेर पनि खासै अर्थ हुन्न । तर करोडौं खर्च गर्न नसक्नेले स्वतन्त्र उमेदवार बनेर चुनाव जित्न सक्ने अवस्था छैन । किन पनि छैन भने दलहरुको पहिलेदेखि नै संगठन हुन्छ, कार्यकर्ता हुन्छन्, मतदाता प्रभाव पार्ने साधन स्रोत हुन्छन् । दलहरुले प्रलोभन दिन सक्छन्, तर स्वतन्त्र उमेदवारका लागि यस्तो अवसर अत्यन्त कम हुन्छ । पैसा खर्च गरेर पद प्राप्ति गर्नेहरुले त्यो पदलाई देश र जनताको सेवामा लगाउलान कि ? आफ्नो आर्थिक लगानी फिर्ता गर्न उद्यत होलान ? निश्चिय नै आर्थिक लगानी फिर्ता गर्दै अर्को निर्वाचनका लागि स्रोत जुटाउन तल्लिन हुन्छन् । राजनीतिकर्मीहरुले आर्थिक स्रोत जुटाउने भनेकै भ्रष्टाचारको माध्यमबाट हो । अर्को विकल्प हुन्न ।

जबसम्म मुलबाटै धमिलो पानी आउँछ त्यसलाई सङ्लो बनाउन सजिलो हुन्न । हाम्रो मुहान नै खराव छ । यदी लोकतन्त्रलाई जनमुखी बनाउने हो भने व्यक्तिगत लोभलालचका आधारमा भोट हाल्ने प्रथा जनता आफैले अन्त्य गरिदिनु पर्छ । जनताको भेटले नै नेता मोटाएका हुन् । जनताले भोट नदिने हो भने यिनिहरु भोलि नै मुसोजस्तो भएर दुलाभित्र छिर्नेछन् । पैसा सबै थोक होइन भन्ने जनताले बुझ्नु पर्यो । पैसाको बलमा चुनाव जित्न खोज्ने उम्मेदवारलाई बहिष्कार गर्दै असल उम्मेदवारलाई जिताउने हो भने पछिल्ला चुनाव देखि राजनीतिक दलहरुले टिकट बेच्न छाड्छन् ,असल उम्मेदवार खोज्न थाल्छन् ।

उदाहरणका लागि गुल्मीको भाँडागाउँमा पिएचडी गरेका टीकाराम पन्थीले वडाध्यक्षमा पराजित भएपछि काठमाडौं आएर विश्वविद्यालयमा पढाउन सुरु गर्नु भएको थियो । उहाँ व्याकरणमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँको सन्दर्भलाई हेर्ने हो भने कलम ठूलो कि ? तरवार ठूलो ? वा विद्या ठूलो कि ? पैसा ठूलो ? भन्ने बादविवादको विषय बन्न पनि सक्छ । नेपालका सन्दर्भमा भन्नु पर्दा ल्पस टु र माइनस टु को पनि चर्चा गर्न सकिन्छ । यदी प्लस टु सँग पैसा छैन, माइनस टु सँग पैसा छ भने चुनाव कसले जित्ला ? अहिलेको वेथितिमा माइनस टु ले नै चुनाव जित्छ । हाल नेपाल चलाएको माइनस टु ले हो ।

यहाँ प्लस टु भनेर कम्तिमा १२ कक्षा भन्दा माथि पढेकालाई भन्न खोजिएको हो, माइनस टु भनेर ८–९ कक्षा फेल भएकालाई भन्न खोजिएको हो । नेपालमा धेरै नेता माइनस टु छन् । पढेलेखेकाहरु राजनीतिमा टिक्ने अवस्थै छैन । उनीहरु त राजनीतिबाट मात्रै होइन देशबाटै पलायन भइसके ।

पेट्रोलियम पदार्थ, औषधी तथा फलाम किन्न रेमिट्यान्सबाट प्राप्त बैदेशिक मुद्राले पुगिरहेको छ । नेताहरुलाई खासै टाउको दुखाउनु परेन ।

अमेरिकी चुनाव एक ज्वालन्त उदाहरण हो । अमेरिकामा पैसाले मात्रै काम गर्दैन । पैसाले काम गर्ने भए जो बाइडेनले जित्ने थिएनन्, अर्बपति डोनाल्ड ट्रम्पले सजिलै चुनाव जित्ने थिए । तर ट्रम्पको पैसा काम लागेन । किनकी अमेरिकी प्रणाली यस्तो छ कि आम्दानी र खर्च पुरै पारदर्शी हुनु पर्छ । के केमा खर्च भयो ? सबै हिसाव किताव राज्यलाई बुझाउनु पर्छ । जति सुकैधनी उम्मेदवार भए पनि उसले आफ्नो पैसाका बलमा मतदातालाई प्रभाव पार्न सक्दैन । विगतमा पनि ट्रम्पले प्राविधिक कारणले चुनाव जितेका हुन् । उनकी प्रतिस्पर्धी हिलारी क्लीन्टनले २४ लाख बढी मत पाएकी थिइन, तर चुनाव ट्रम्पले जिते । किनकी इलेक्टोरल कलेजका सदस्यहरु डेमोक्रेटिक पार्टीका धेरै चुनिएका थिए । हरेक राज्यमा इलेक्ट्रोल कलेजको निर्धारण जनसंख्याका आधारमा मात्रै नभएर भौगोलिक आधार, विकासको सूचांक लगायतका मापदण्डका आधारमा निर्धारण गरिएको छ । जसका कारण पपुलर भोट ल्याउनेले हार्ने र थोरै ल्याउनेले जित्ने अवस्था पनि रहन्छ । त्यसरी जितेको नेताले जनतालाई सन्तुष्ट पार्न सक्दो रहेनछ भन्ने कुरा यतिबेला पुष्टि भयो । दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति निर्वाचित हुने सिलसिला यस पटक तोडियो । यस पटक वाइडेनले चुनाव मात्रै जितेनन् । अहिले सम्मकै सबै भन्दा बढी पपुलर मत प्राप्त गरे ।

अमेरिका भनेको विश्वका सबै महादेशका जनता मिलेर बनाएको देश हो भन्ने यर्थाथता ट्रम्पको दिमागमा प्रवेश गरेन । तर जे वाइडेनलाई यो कुरा राम्रैसँग थाहा थियो । उग्रराष्ट्रवादको नाराले मात्रै भोट पाइँदैन । भोट पाउनका लागि राम्रो काम गर्नुपर्छ ।

अमेरिकाको यो चुनावी परिणामले विश्व जगतलाई नयाँ सन्देश दिएको छ । पैसा र तरवारको हार भएको छ, कलम र विद्याको जित भएको छ । यसबाट नेपाली जनताले सिक्नु पर्छ । नेपाली जनताको बुद्धिको बिर्को खुल्नु पर्छ । यसैगरी अमेरिकी चुनाव पनि दोष रहित भने छैन । उदाहरणकालागि अहिलेकै चुनावमा पनि दलका र स्वतन्त्र गरी राष्ट्रपति पदमा करिव १ हजार जना उमेदवार थिए । तर प्रतिस्पर्धा दुई ठूला पार्टीका उम्मेदवारबीच मात्रै भयो । अहिले मात्रै होइन सँधै यस्तै हुन्छ । यसको मुख्य कारण आर्थिक नै हो । सभा तथा र्यालीमा जाने फुर्सद जनतालाई हुन्न । मिडियामा आएका समाचार तथा विज्ञापनका आधारमा जनताले उम्मेदवार चिन्ने हुन् । यी दुई ठुला पार्टी बाहेक अन्य पार्टीहरुले सबै राज्यहरुमा इलेक्ट्रोरल कलेजका उम्मेदवार उठाउन सक्दैनन् । स्वतन्त्रले त झन सक्ने कुरै भएन । इलोक्ट्रोरल कलेजका उम्मेदवार सबै ठाउँमा उठाउन नसक्ने पार्टी तथा व्यक्ति जो राष्ट्रपतिका उमेदवार हुन्छन् उनीहरुले चुनाव जित्ने सम्भावना रहन्न । यस्ता उम्मेदवारलाई मिडियाले वास्ता गर्दैनन् । यदी आफै मिडिया खोज्दै जाने हो भने ज्यादै महंगो पर्छ । अरबौं खर्च हुन्छ । पराजय निश्चित रहेको चुनावमा कसले खर्च गर्ने अरबौं रुपैंया ? त्यसैले अन्य उमेदवारहरु नाम मात्रैका हुन्छन् । अमेरिकाको राजनीतिमा धेरै लामो कालखण्डसम्म यी नै दुई पार्टी हावी छन् । तर यी दुई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनौट गर्दा हदैसम्मको पारदर्शीता अपनाइन्छ । सुरुमा पार्टीका तर्फबाट उम्मेदवारका आकांक्षीहरुको आव्हान गरिन्छ । आकांक्षी मध्येबाट पार्टीका सुचिकृत कार्यकर्ताहरुले निर्वाचनको माध्यमबाट उमेदवारको छनौट गर्छन् । पार्टीका तर्फबाट उम्मेदवारको छनौट गर्ने काम निर्वाचन आयोगले नै गरिदिन्छ । त्यस कारण उम्मेदवार बन्नका लागि पैसा खर्च गर्ने गुन्जायस नै रहँदैन । उम्मेदवार बनिसकेपछि मिडियाहरुले नै चुनावी क्याम्पेन गरिदिन्छन् । तर उम्मेदवारले मिडिया मालिकहरुलाई प्रभावमा पार्ने झिनो सम्भावना भने हुन्छ । गत चुनावमा ट्रम्पले केही मिडिया मालिकहरुलाई प्रभावमा पारेरै आफ्नो पक्षमा माहौल बनाएका थिए ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.