निर्मला हत्या प्रकरण २६ प्रहरीमाथि छानबिन

| 2018 Oct 13 | 02:21 pm 2990

कञ्‍चनपुर, असोज २७: कञ्‍चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ ।

‘अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गर्छौं ।’ शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने, ‘छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।’

संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबै पक्षसँग आग्रहसमेत गरेका छन्। शुक्रबार यहाँ पुगेलगत्तै पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ।

गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.