मगर संस्कृतिसँग रक्सीको सम्बन्धः

रिपोर्ट नेपाल | 2018 Oct 07 | 11:47 am 1972

-रक्सी स्वास्थ्यकोलागी कति हानिकारक हो वा होईन त्यो बेग्लै बहसको बिषय हो।जाँड रक्सीको सेवनले खासै कसैलाई पनि राम्रो गर्दैन।अत्यधिक मदिराको सेवनबाट स्वास्थ्यमा बिभिन्न रोगहरु त लाग्छ नै यसले मृत्युको मुखमा समेत पुर्याउँछ। नेपालका आदिवासी जनजाति मध्ये सबै भन्दा बढी जनसंख्या भएको जाति मगर जाति नै हो।

यस जातिमा अधिकांश जाँडरक्सीको सेवन हुने गर्छ।मगरजातिको उन्नति प्रगति हुन नसक्ने एउटा मुख्यकारण जाँडरक्सी पनि हो। हाम्रा पुर्खाहरुले मान्दै आएको कतिपय संस्कारहरु रीतीको रुपमा मान्दै आए पनि यसले कुरीतिको अगुवाई गरिरहेको छ। जाँडरक्सीको अत्यधिक सेवन,बालविवाह,छुवाछुत,छोरीलाई पढाउन हुदैन भन्ने मान्यता, दाईजो प्रथा,छाउपडी प्रथा आदि आदि। समाजमा संस्कृति जोगाउने नाँउमा विकृति पनि पालिरहेका हुन्छौं।

जाँडरक्सी मगरजातिको संस्कृतिसँग जति मात्रामा जोडीएको हुन्छ त्यत्तिकै मात्रामा यसले विकृति नजन्माओस भन्ने कुरामा सचेत हुन जरुरी छ।तथापी हाम्रो मगरजातिको र रक्सीको सम्बन्धको बारेमा केही चर्चा गरिन्छ।नेपाल चारजात छत्तिस वर्णको फुलबारी हो त्यसैले यहाँ बिविध संस्कृति र संस्कारहरु छन।यी परंपराको थालनी एक व्यक्त्तिबाट सम्भव भएको होइन। यसका पछाडी धेरै लामो ईतिहास हुन्छ। हाम्रा जाति वा जनजातिका रहनसहन, भेषभुषा, भाषाभाषी र लवाईखवाईको बारेमा जान्न पर्ने आवश्यक हुन्छ।

जाँड रक्सीको उत्पादन कहाँ र कसले गर्यो भन्ने बारे यसको खासै ठोस ईतिहास भेटिएको छैन।आठौं शताब्दीतिर ईस्लामिक हरुले प्रयोग गर्दै आएको भन्ने ईतिहास पनि पाईन्छ। तथापी यो केही मानव जातिको परंपरासँग जोडिएर आईरहेको छ।बिशेष गरेर विश्वका आदिवासी जनजातिमा जाँड रक्सीको परंपरा र खानपान पाईन्छ। यसको उत्पादन निश्चय नै तामस गुणका लागी भए होला। पहिला पहिला रुखविरुवाका पात जराका रसहरु नशाका रुपमा प्रयोग गर्दै आएका हुन।विस्तारै यसका प्रयोग विभिन्न ढंगले हुदै आयो। हाम्रा हिन्दु पुराणमा पनि रक्सीको बारेमा ऊल्लेख गरेको छ।

राक्षस पक्ष र देवता पक्षले बासुकी नागको नेटी र मन्द्राचल पर्वतको मदानी बनाई क्षीर सागरमा समुन्द्र मन्थन गरे। विभिन्न बहुमुल्य चिजहरु उत्पादन गर्ने क्रममा अमृतको घडा र मदिराको घडा पनि उत्पादन भयो।दानवहरुले रक्सी सेवन गरेका कारण अमृत जस्तो महत्वपुर्ण चिज सेवन गर्ने समयमा बिष्णु भगवानको मोहनी अवतारको छलछाममा परी अमृत खानबाटै बञ्चित हुन गएका हुन। द्वापर युगमा भगवान कृष्णको छपन्न कोटी यदुवंशी सन्तानलाई नाश गर्नाका लागी दुर्वासा ऋषिबाट श्राप पर्यो। श्रापबाट एउटा फलामको मुशल पैदा भयो। त्यसलाई सबैले नदिका किनारमा घोटेर भ्याईसके पछि खुशियालीमा वारुणी नामको मदिरा सेवन गरे।रक्सीको मातमा आपसमा झगडा गरी काटाकाट र मारामार गरेर सबै बिनाश भए। यसरी रक्सीको उत्पादनमा निकै पुरानो ईतिहास भएको पाईन्छ। आज भोली बिभिन्न नाम गरेका रक्सीका ब्राण्डहरु बजारमा प्रशस्त पाईन्छ।

मगरजातिको बिवाहमा संस्कारकैरुपमा जाँडरक्सीको प्रयोग हुन्छ। केटापक्षले केटीपक्षको घरमा रक्सी लिएर केटी माग्ने चलन हुन्छ। बिवाह गर्ने सहमत भयो भने रक्सी पिएर खुशी मनाउने चलन हुन्छ। बिवाह पछि धोगभेट गर्ने वा टीको फुकाउने भन्ने चलन हुन्छ।धोगभेट फुकाउने अर्थात माईति पक्षसँग टिको फुकाउने सल्लाह गर्नका लागी खटाईका मानिसहरुले रक्सी बोकेर कुरा फुकाउन जान्छन। माईति पक्षले घरपक्षकालाई खजना तोक्ने चलन हुन्छ। खजना वा खाने सामाग्री तोक्दा रक्सी अनिवार्य समावेश गरिन्छ। कटी पक्षका नजिकका प्रत्यक नातेदारलाई कम्तिमा एक बोटल रक्सीले सम्बोधन गरी धोग फुकाउने चलन हुन्छ। घर पक्ष र माइति पक्ष बिच रक्सी र रोटी मिलाएर पाका मान्छेहरुको समुह दुलहीको घर देखि केही टाढा गई सित्तो फाल्ने अर्थात रक्सी र रोटी चढाउने चलन हुन्छ।टिकोटालो सकेर जन्ती पक्ष घरतिर फर्कने बेलामा रक्सीको सगुन खुवाई बिदावारी गर्ने गरिन्छ।

जन्ती फर्कदा सागुरो बाटोमा दुलहीका संगीसाथिहरुले रक्सी,रोटी र सिमीको बिरमला समेतले बाटो छेक्ने चलन हुन्छ्।जन्तीहरु घरमा नआईपुग्दै बाटामा जन्तेबाख्रोको रुपमा रोटि रक्सी खाने चलन हुन्छ। मगरहरुको मृत्यु संस्कारमा पनि रक्सीको प्रयोग अनिवार्य जस्तै हुन्छ।घाटमा दाहसंस्कार गरी घरमा आए पछि मलामीहरुलाई नास्ता सँग जाँडरक्सी खुलाउने चलन हुन्छ।काजकृयाबाट निस्कने दिन चेलीबेटीले ल्याईदिएका रक्सी,अण्डा,माछा र मासु चेलीबेटिकै हातबाट कृया सकेर निस्केकाहरुले खाने चलन पनि हुन्छ।यसरी रक्सी प्रयोग मगरजातिमा सजिलै प्रयोग हुने भएकाले होला लडाई झगडा भयो भने पनि दण्ड जरीवानको रुपमा रक्सी बाटै मिलाउने चलन हुन्छ। पहिला जस्तो रक्सीको प्रयोग कम हुदै गए पनि संस्कारको रुपमा भने प्रयोग नै भईरहन्छ।

(लेखक नेपाली कांग्रेस गुल्मीका पूर्व सचिवः छन्द बहादुर पहराई मगर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.