काठमाडौँ, भदौ १५ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका साथीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् । उनीहरुले आफ्नो साथी निर्मलाका हत्यारा पक्राउ नपरेकोबारे प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका हुन् ।
निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले पक्राउ पर्छन भनेर प्रश्न गरेका छन् ।

साथीको हत्यारा पक्राउ नपर्दा आफुहरु मानसिक तनावमा र असुरक्षित समेत रहेको उनीहरुले बताएका छन् । उनीहरुले छिटोभन्दा छिटो हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।
कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते हत्या भएको थियो । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो।