काठमाडौँ २८ चैत / राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमाले सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबार राष्ट्रियसभा उपाध्यक्षका लागि भएको घिमिरेको पक्षमा ३९ मत परेको छ । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।
सत्ता गठबन्धनमा परिवर्तन भएपछि उपाध्यक्ष एमालेलाई दिने गठबन्धनमा सहमति भए अनुसार तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।
घिमिरेको पक्षमा बहुमत आएपछि अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन्। बैठकमा ५५ जना सांसद उपस्थित थिए।
घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सांसद दुर्गा गुरुङले पेस गरेकी थिइन् । सो प्रस्तावको पक्षमा बहुमत ३९ मत परेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।