उहाँले राष्ट्रिसभा निर्वाचन सकेर फागुनमा महासमिति बैठक हुनसक्ने बताउनुभयो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये २५ निर्वाचन क्षेत्रको महासमिति सदस्यको निर्वाचन भएको छैन।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म १ सय ४० निर्वाचन क्षेत्रको मात्रै निर्वाचन सम्पन्न भएर नामावाली केन्द्रीय निर्वाचन समितिमा आइसकेकोे छ।
निर्वाचन समितिले पछिल्लोपटक म्याद थप गरेर मंसिर २० भित्र महासमिति सदस्यहरू निर्वाचित गरेर पठाउन सबै जिल्ला तथा क्षेत्रीय समितिलाई निर्देशन दिए पनि २५ क्षेत्रको निर्वाचन बाँकी रहेको श्रेष्ठले बताउनुभयो।
पार्टीले समेत मंसिर २४ सम्ममा सबै जिल्लाका महासमिति सदस्य निर्वाचन वा सहमतिबाट सदस्य छनौट गरी विवरण पठाउन अन्तिम मिति तोकेर निर्वाचन समितिलाई निर्देशन दिएको थियो। तर, पार्टीको महाधिवेशन भएको करिब दुई वर्षपछि महासमिति भेला गर्न पटकपटक निर्णय गर्दै सार्दै गरेको र भूगोलबाट पठाउने महासमिति सदस्यहरूसमेत निर्वाचित हुन नसक्नुले लोकतान्त्रिक पार्टीको चरित्रमाथि प्रश्न उठेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरूले टिप्पणी गर्दै आएका छन्।
केन्द्रीय पदाधिकारीसहितका शीर्ष नेताहरूले पार्टी केन्द्रीय समिति बैठकको निर्णयलाई पटकपटक ‘कू’ गरेर केन्द्रीय समितिमाथि प्रहार गरेको केन्द्रीय सदस्यहरूको गुनासो छ।
काठमाडौं–३, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घाखाँची, दैलेख, जुम्ला, मोरङका सुनसरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पाल्पा, कैलालीलगायत जिल्ला तथा निर्वाचन क्षेत्रको महासमिति निर्वाचन अझै हुन नसकेको निर्वाचन समितिले जनाएको छ।
उक्त क्षेत्रहरूलाई हालसम्म म्याद नथपिएकाले चाँडै विवरण पठाउन ताकेता गरिएको बताइएको छ। विधानअनुसार महाधिवेशन प्रतिनिधि छनोटलगत्तै महासमितिको मनोनयन हुने र महाधिवेशन प्रतिनिधिमध्येबाट त्यही बखत महासमिति सदस्यको छनोट गर्नुपर्ने व्यवस्था छ।
महाधिवेशन प्रतिनिधि जितेकाहरूबाट महासमिति सदस्यमा सर्वसहमत छनोट गर्ने वा क्षेत्रीय छनोट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूको मतदानबाट महासमिति सदस्य छनोट गर्नुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ। कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन्।
कोइराला समूहको छुट्टै बैठक
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी मंगलबार दिउँसो १ बजेका लागि आफू पक्षीय नेताहरूको बैठक बोलाउनुभएको छ।
आसन्न महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न कोइरालाले आफू पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापतिलगायतलाई बोलाइएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताउनुभयो।
कांग्रेसले आगामी मंसिर २९ देखि पुष २ गतेसम्म गर्ने भनिएको बैठक सार्ने छनक देखिएपछि कोइराला समूहले बैठकको तयारी गरेको बुझिएको छ। यस्तै, आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचनमा पठाउने उम्मेदवार र आफ्नो समूहले पाउने हिस्साका विषयमा समेत उक्त बैठकमा छलफल हुने बताइएको छ।
( नेपाल समाचारपत्रबाट )
