एसीसी यू- १९ प्रिमियर कप क्रिकेट : साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा

| 2023 Oct 19 | 01:32 pm 1281

काठमाडौँ ।   एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज खेलेको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल रन अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेल मलेशियामा चलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको साउदीले भने १९.१ ओभरमा ४६ रन मात्रै बनाएर अलआउट हुन पुग्यो ।  उक्त प्रतियोगितामा नेपाललाई जित दिलाउन ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १ सय ४२ रन बनाएर अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका अर्जुनले १ सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका प्रहार गरेका थिए । ७१ रनको स्कोर पुग्दा नेपालले पहिलो विकेट गुमाएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउँदै आउट भएका थिए ।  त्यसपछि अर्जुन र आकाश त्रिपाठीले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय ६० रनको बलियो स्थितिमा पुर्‍याएका थिए । उनले ९८ बलको सामना गर्दै  ८९ रन बनाएर उत्कृष्ट खेल प्रदर्शन गरे ।

चौथो नम्बरमा ब्याटिङ्गका लागि आएका कप्तान देब खनाल भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रे पनि १४ बलमा १४ रन बनाउँदै आउट भए ।  विशालबिक्रम केसीले अविजित २४ रन थपे । उनले १८ बलमा तीन चौका पनि हिर्काए । मिलन बोहराले पनि नौ रन बनाए । दीपेश कँडेलले १४ रन जोडे । उनले ११ बलमा एक छक्का पनि हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो ।

साउदी अरेबियाका बलर मुहम्मद अहमद राजाले दुई विकेट लिएका थिए । मुहम्मद चायुर अहमदले पनि दुई विकेट लिएका थिए । अब्दुल्लाह सिराज, जुहाइर मुहम्मद र साजिब मजिबर रहमानले पनि एक—एक विकेट हात पारे ।  ठूलो विजयलक्ष्य पछ्याएको साउदीका एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । साउदीका लागि वरुण मुदालियरले सर्वाधिक ११ रन बनाए । अब्दुल्लाह सिराजले नौ रन बनाए । ओपनर रायन खान तीन र मोहम्मद अक्विल शून्य रनमै पेभेलियन फर्किएका थिए ।

नेपाली टोलीका बलर दीपेश कँडेल एक्लैले ६ विकेट लिए । उनले ९.१ ओभर बलिङ गर्दै केवल १८ रन खर्चिएका थिए । आकाश चन्दले पनि दुई विकेट हात पारे । उनले तीन ओभरमा १४ रन खर्चिए । सुवाष भण्डारीले एक विकेट लिए ।

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.