रिडी र काली गण्डकी नदी सभ्यता र यसको सेरोफेरो

रिपोर्ट नेपाल | 2023 Sep 14 | 06:47 pm 4141

युवराज पाण्डे छत्रदेव-४, केरुङ्गा, अर्घाखाँची

काली गण्डकी नदी अर्थात् शालिग्रामी नदीको तटमा रहेको रिडी अर्थात् रुरुक्षेत्र विश्वभरिका हिन्दु धर्मालम्बीहरूको एउटा पवित्र तीर्थस्थल हो र गुल्मी जिल्लाकै एउटा प्रमुख व्यापारिक केन्द्र पनि हो । मनोरम प्राकृतिक दृश्य र धार्मिक तथा पौराणिक महत्त्वको कारणले रिडी नेपालको एउटा प्रमुख पर्यटन केन्द्र पनि हो । काठमाडौबाट बुटवल र तानसेन भएर गुल्मी जिल्लाको सदरमुकाम तम्घास र अर्घाखाँची जिल्लाका उत्तर पूर्वी भेगका चिदिका, बल्कोट, केरुङ्गा, छत्रगञ्ज, ठुलापोखरा र अर्घातोससमेतका स्थानमा जाने र ती स्थानबाट तानसेन, बुटवल र काठमाडौ आदि स्थानतिर लाग्ने सार्वजनिक तथा निजी सवारी साधनहरू पनि रिडी भएर नै आवतजावत गर्ने हुनाले रिडी यस क्षेत्रको आवागमनको एउटा महत्त्वपूर्ण केन्द्र समेत हो । नेपालको उत्तरी सिमानादेखि दक्षिणी सिमानासम्म जाने उत्तर दक्षिण राजमार्गको सम्भाव्यता बोकेको यो स्थल अन्तर्राष्ट्रिय व्यापार र परिवहन मार्गमा पर्ने सम्भाव्यता बोकेको क्षेत्र पनि हो । पहिले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कदेखि गोरुसिंगेसम्मको मोटरबाटो नबनेको समयमा प्यूठानदेखि अर्घाखाँचीसम्मका मानिसहरू तानसेन, बुटवल, काठमाडौंतिर जानुपर्दा तानसेनसम्म पैदल नै हिड्नुपर्दथ्यो । म आफै पनि काठमाडौमा स्नातक तहको अध्ययन गर्ने बेला २०३७/०३८ सम्म काठमाडौं पढ्न जाँदा केरुङ्गाबाट बल्कोट, चिदिका, खर्ज्याङ्, गैरीखुट्टा, मनभाग, अँघाहा र सातमुरे हुँदै रिडीसम्म र रिडीबाट अर्गली, जोर्ते, भुल्के र चण्डीभञ्ज्याङ हुँदै तानसेनसम्म पैदलै ओहोरदोहोर गरेको थिएँ । रिडीसम्मको बाटो चल्न थालेपछि पनि २०४८/०४९ सम्म म आफू तानसेनबाट घर अर्घाखाँचीतिर लाग्दा रिडीसम्म पैदलै हिड्ने गर्दथे । नौ कक्षामा पढ्दा हो सायद, २०२८ सालतिर म ६/७ कक्षामा पढ्ने गाउँकै एक जना भाइ नवराज खनालसँग किताब किन्नको निम्ति तानसेन पुगेको थिएँ । त्यसबेला किताब किन्नको लागि हामीहरू तानसेनसम्म पुग्नुपर्दथ्यो ।

म पहिलो पटक जिल्लाभन्दा बाहिरको महत्त्वपूर्ण र चर्चित स्थानमा तम्घासपछि रिडी नै पुगेको थिएँ । म अलिअलि जान्ने हुन थालेपछि मैले आफ्‌ना बुबाआमा, हजुरबुबा, हजुरआमा (बुढीआमा, बा, आबोई) र अरु छरछिमेकीहरूबाट बारम्बार नै रिडी र काली गण्डकीको विषयमा सुन्ने गर्दर्थे । ठूली एकादशी (हरिशयनी एकादशी र हरिबोधनी एकादशी), माघे संक्रान्ति, माघे औसी, वैशाख संक्रान्ति ग्रहण आदिको अवसरमा हाम्रो गाउँघरबाट धेरै मानिसहरू काली गण्डकीमा स्नान गर्न रिडी पुग्दथे । त्यसैगरी गाउँका कोही कसैको मृत्यु भयो भने अन्तिम संस्कारको निम्ति मृतकलाई बोकेर रिडी काली गण्डकीको किनारमा लैजाने चलन थियो र अहिले मोटरबाट लैजाने अवस्था बनेको भए पनि रिडीमा काली गण्डकी नदीकै किनारमा लगेर सदगत गर्ने चलन कायमै रहेको छ । माधे सङ्क्रान्ति, माघे औसी र ठुली एकादशी आदिका अवसरमा रिडीमा ठूलो मेला पनि लाग्छ । माघे सङ्क्रान्तिमा लगातार तीन दिन मेला लाग्ने गर्दछ त्यसबेला माघे सङ्क्रान्तिमा काली गण्डकीमा स्नान गर्न जाने तीर्थयात्रीहरूले आवस्यकताअनुसार राडीपाखी र अरू लत्ता कपडा र नुन चामल, गुँड (सख्खर) आदि सामान किनेर फर्कने गर्दछन् । अहिले अर्घाखाँचीका केरुङ्गा, बल्कोट आदि स्थानमा बस्ने मानिसहरू नुन, चामल आदि खरिद गर्न डोको बोकेर पैदल अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको पत्थरकोट बजारसम्म पुग्ने गर्दथे पत्थरकोट अलि टाढा भएकोले पत्थरकोटसम्म पुग्न नसक्ने मानिसहरू नुन चामल किन्न रिडी पनि आउने गर्दथे । २०५२ सालमा बहिनीको विवाहको निम्ति आवश्यक सामान खरिद गर्नको निम्ति म आफै पनि सिरिङ्गासम्म पैदल गएर त्यहाँबाट गाडीमा चढेर रिडी पुगेको थिएँ । यसरी रिडी वा रुरुक्षेत्रसँगको हाम्रो क्षेत्रको धार्मिक साँस्कृतिक र व्यापारिक सामीप्यको कारणले गर्दा मलाई म ५/६ वर्षको हुन थालेपछि नै रिडी र काली गण्डकी नदी कस्ता होलान् भन्ने खुल्दुली लाग्थ्यो । काली गण्डकी नदीको आकार कस्तो होला भन्ने विषयमा मैले गरेको कल्पनाअनुसारको काली गण्डकीको चित्र मैले एक दिन सपनामा देखेको थिएँ । सपनामा भए पनि काली गण्डकी देख्न पाएँ भन्ने अनुभूतिले मलाई एक प्रकारको गर्व नै लागेको थियो ।

‘मैले पनि काली गण्डकी देखें नि आमा’ भनेर अर्को दिन ओछ्यानबाट उठेर आमालाई सुनाएको थिएँ । कस्तो रहेछ त बाबू ? आमाले आश्चर्य मिश्रितं स्वरले सोध्नुभएको थियो । केरुङ्गा तिलाहारको हाम्रो घरको नजिकमा ३/४ सय मिटर जतिको दूरीमा एउटा सार्वजनिक पोखरी थियो । अहिले पनि छ । वर्षाको समयमा वर्षाको पानी भलको रूपमा जम्मा भएर त्यो पोखरीमा जान्छ र पोखरी भरिएपछि फेरि पोखरीको एउटा छेउबाट पानी निस्केर तलतिर बग्न थाल्छ । हामीहरू केटाकेटी छँदा कहिलेकाही त्यही पोखरीमा लगेर आमाले लुगा धुनुहुन्थ्यो र हामीहरूलाई नुहाइदिनु पनि हुन्थ्यो । अरू छरछिमेकीहरूले पनि पोखरीमा नुहाउने र लुगा धुने गर्दथे । काली गण्डकीमा पानी बगिरहन्छ भन्ने सुनेको बालमस्तिष्कले काली गण्डकी पनि ढुंग्यान भन्ने स्थानमा रहेको त्यही पोखरी जस्तै होला भन्ने कल्पना गरेछ । वर्षाको पानी भलको रूपमा बगेर पोखरीमा जम्मा भएको र पोखरी भरिएपछि त्यो पोखरीबाट पानी बगेर तलतिर झरेको दृश्य देखिरहेको हुनाले मेरो मनमस्तिष्कले काली गण्डकीको पनि त्यस्तै प्रकारको चित्रको कल्पना गरेको हुनुपर्दछ ।ढुङ्ग्यानको पोखरी जस्तै त रहेछ नि ?’ मैले खुबै जाने जस्तो गरेर आमालाई सुनाएको थिएँ । आमा हाँस्नुभएको थियो र मलाई नदी र पोखरीको फरक देखाउनका लागि घरको नजिकको मैले देखेका चौवा र मथुरा खोलाको उदाहरण दिनु भएको थियो । काली गण्डकी नदीमा ती खोलामा भन्दा धेरै बढी पानी रहेकोले काली गण्डकी डुंगाबाट मात्र तरेर जान सकिन्छ भन्ने कुरा आमाले बताउनुभएको थियो । आमाले आफ्‌नो विवाह नहुँदै आफ्‌ना बुबा आमासित रिडीमा घुम्न गएर काली गण्डकी नदीको किनारमा पुगेर नुहाएको कुरासमेत मलाई बताउनुभएको थियो । त्यसबेला आमा आफ्नी आमासँग डुंगामा बसेर काली गण्डकीपारि पुग्नुभएको रहेछ र डुंगाबाट फेरि फर्कनुभएको पनि रहेछ । वि.सं को २००० भन्दा अगाडिकै समय थियो त्यो । त्यसको धेरै पछिसम्म पनि काली गण्डकी नदीमा पुल बनेको अवस्था थिएन होला । त्यसबेला आमाले नदीको किनारमा एउटी बुढी आमाको मुखबाट आफ्ना बच्चासित डुंगामा चढेर नदी तर्न लागेकी एउटी महिला चढेको डुंगा नदीको बीचमा पुगेपछि धेरै ढल्फलाएको र बच्चा नदीमा खसेर बेपत्ता भएको कुरासमेत सुन्नु भएको रहेछ । ती बुढी आमाले ती महिलाले नदी नतर्दै झगडा गरिरहेको आफ्‌नो बच्चालाई ‘धेरै झगडा नगर, अहिले तँलाई बगाइदिएर जाउँला नि’ भनेर गाली गरेकी पनि रहिछिन् । नदीको किनारमा उभिएर त्यसरी गाली गरेपछि नदीलाई चढाँउला भनेर भाकल गरेजस्तो हुने भएकोले नदीको किनारमा उभिएर कसैलाई पनि तँलाई यही बगाइदिएर जाउँला वा जान्छु भनेर गाली गर्नु हुदैन भनेर ती बुढी आमाले बताएकी रहिछिन् । ती बुढीआमाको कुरा सुनेर आमा र मावलकी हजुरआमा धेरै नै डराउनु भएको हुँदो हो जस्तो मलाई लागेको थियो । धार्मिक आस्था राख्ने मानिसहरूले नदीलाई देवताको रूपमा, आमाको रूपमा श्रद्धा गर्छन र फूल तथा भेटी चढाएर सम्मानसमेत प्रकट गर्दछन् भन्ने कुरासमेत आमाले मलाई बताउनुभएको थियो । पछि अध्ययन गर्दै गएपछि म आफैले पनि मानिसहरूले काली गण्डकी र अन्य नदीहरूलाई माता अर्थात् आमा भनेर सम्बोधन गर्दछन् र नमस्कार गर्दछन् भन्ने कुरा थाहा पाएको थिएँ यसरी रिडी वा रुरुक्षेत्रदेखि २०/३० किलोमिटर टाढा रहेको स्थानमा बसोबास गर्ने मानिसहरूको परम्परा, विश्वास, सामाजिक संस्कृतिमा समेत काली गण्डकी सभ्यताको वा रिडी वा रुरुक्षेत्रको सभ्यता र संस्कृतिको गहिरो प्रभाव परेको रहेछ भन्ने कुराको प्रारम्भिक ज्ञान मलाई बालककालदेखि नै हुन थालेको थियो ।

२०५०/६० सालसम्मनै अर्घाखाँचीको केरुङ्गा, बल्कोट आदि जस्ता ठाउँहरूबाट रिडी जाँदा रिडीको बाटो तानसेन आदि स्थानतिर जाँदा र फर्कदा पैदल हिड्नु पर्थ्यो । मनभाग भन्ने ठाउँदेखि रिडीसम्मको पैदल मार्ग रिडी खोलाको किनारै किनार भएर गएको थियो । काली गण्डकीमा गएर मिसिने रिडी खोलाको विस्तार र निर्माण अर्घाखाँची जिल्ला भएर बगेका खाँची खोला, मथुरा वा चौवा खोला (ठूला खोला), सिस्ने खोला र दुर्गा खोलासमेतका खोलाहरू र अर्घाखाँची र गुल्मीको सीमा क्षेत्रबाट बग्दै खर्ज्याङ् भन्ने स्थानमा पुगेर खर्ज्याङ् खोलाको रूपमा परिचित हुन पुगेको खर्ज्याङ् खोला तथा बाटामा पर्ने अरू स-साना ठाडा खोलाहरू मिसिएर भएको देखिन्छ । मनभागमा मनभाग खोला र सातमुरेमा सातमुरे खोला पनि त्यही रिडी खोलामा मिसिन्छन् ।

वर्षाको समयमा मानिसहरूलाई ती खोलाहरू तर्न हम्मेहम्मे पर्दथ्यो । कतिपय मानिसहरूले खोलाले बगाएर ज्यान गुमाएका घट्नाहरूसमेत घटिरहन्थे । प्रमाण- पत्र तह (अहिलेको ११, १२ कक्षा सरह) अध्ययन गर्दा दशैंपछि घरबाट काठमाडौंतिर फर्कदा सातमुरे र खर्ज्याङ् खोला तर्दा निकै सकस परेको कुरा सम्झदा अहिले पनि मेरो आङ सिरिङ्ग हुन्छ । त्यसबेला सँगै पढ्ने साथी कृष्ण पन्थी र प्यूठानबाट काठमाडौं जान हिडेका एक जना आदरणीय व्यक्ति हुकुम बहादुर सिंहसमेत हामीहरू तीन जना सँगसँगै थियौ । खर्ज्याङ् खोला अलि फराकिलो र समतल ठाउँबाट एक जना स्थानीय मानिसको सहयोग लिएर पार गरेका थियौ तर सातमुरे खोला तर्न त्यस्तो सहयोग गर्न पनि कोही तत्पर थिएन । खोला ठाडो भएकोले पानीमा पसेर तर्न सक्ने संभावना नदेखेपछि हामीहरू बाटाको अलिकति माथिपट्टि खोलाको किनारमा रहेको एउटा अग्लो ढुङ्गामा चढेर खोलापारिसम्म फट्कन सकिन्छ कि भन्ने टुंगोमा पुग्यौ । पहिले सबैले आ-आफ्‌ना झोलाहरू मुख बन्द गरेर खोलाको पारिपट्टि फ्याँक्यौ र हामीहरू ढुंगामाथि चढेर खोलापारि हाम फाल्न तयार भयौ । अरू दुई जना सहयात्रीहरू सहजै खोलापारि पुग्नुभयो । पछिल्लो पटक म पनि ढुंगामाथि चढेर खोलाको अर्कोपट्टि पुग्ने लक्ष्य राखेर हाम फाले । मेरो दाहिने खुट्टा अलिकति खोलामा परेर भिजे पनि म बल्ल बल्ल पारि पुगे । यसरी हामीहरू तीनैजना स- कुशल पारि पुग्यौ र रिडी हुँदै जोर्ते भन्ने स्थानमा पुगेर बास बस्यौ । अहिले त्यस ठाउँमा मोटरबाटो रहेको र मोटर हिड्ने पुलहरूसमेत ठाउँ-ठाउँमा बनेकाले त्यसबेला खोला तर्नका निम्ति हामीहरूले उठाएको जस्तो जोखिम उठाउनु पर्ने अवस्था रहेको छैन । तर २०६२ सालसम्म पनि खर्ज्याङ्लगायतका त्यस भेगका खोलाहरू पार गर्न यात्रीहरूलाई अहिले जस्तो सजिलो थिएन । २०६२ साल कार्तिक महिनामा मैले तत्कालीन स्थानीय विकास मन्त्रालयको सचिव पदमा नियुक्ति पाएपछि सातमुरे खोला र खर्ज्याङ खोलासमेतका रिडीबाट अर्घाखाँचीका बल्कोट, केरुङ्गा आदि स्थानमा आउँदा जाँदा तर्नुपर्ने खोलाहरूमा पुल बनाउने काममा मन्त्रालयबाट लगानी गर्न सकिन्छ कि भन्ने विषयमा मन्त्रालयमा छलफल गरेको थिएँ । छलफलपश्चात् हामीहरूले मन्त्रालयबाट प्राविधिकहरूको एउटा टोली सातमुरे खोला र खर्ज्याङ खोलाको साथसाथै अर्घाखाँची जिल्लाका मथुरा खोला, खाँची खोला, सिस्ने खोला र दुर्गा खोलासमेतका सबै क्षेत्रका खोलाहरूमा पुल चाहिने ठाउँमा पुल निर्माणको निम्ति लाग्ने खर्चको अनुमानसमेत पेश गर्ने जिम्मा दिएर सो क्षेत्रको भ्रमणमा खटाएका थियौं । उक्त टोलीले अरू खोलामा पुल राख्न २०/२५ लाखसम्म भए पनि पुग्ने र खर्ज्याङ् खोलामा पुल बनाउन एक करोड रूपैयाँभन्दा बढी रकम लगानी गर्नुपर्ने भन्ने प्रतिवेदन पेश गरेको थियो । ठूलो रकम लगानी गरेर बनाउनु पर्ने पुल बनाउन सकियो भने अरू ठाउँमा पुल बनाउन त्यति गाह्रो पर्दैन भन्ने निर्क्योल गरेर मैले शुरुमा खर्ज्याङमा पक्की पुल बनाउने प्रक्रिया अघि बढाउने प्रस्ताव राखेको थिएँ । मन्त्रालयका अरू सहकर्मी साथीहरू र प्राविधिकहरूसमेतको अनुकूल सल्लाह प्राप्त भएपछि खर्ज्याङमा पुल निर्माण गर्नको निम्ति बजेट छुट्टयाउने निर्णय भएको थियो र निर्माण कार्य पनि शुरू भएको थियो । पुल निर्माण गर्दै जाँदा रकम निकासा आदिको समस्या पर्दा जि.वि.स. अर्घाखाँचीका मित्रहरूले मसँग सम्पर्क गर्नुहुन्थ्यो र हामीहरूले समस्या समाधान गर्न पहल गर्दथ्यौ । ३/४ वर्षपछि सो पुलको निर्माण कार्य सम्पन्न भएको थियो । पुलको उद्घाटनको समयमा मन्त्रालयको कार्य व्यस्तताले गर्दा म आफै भौतिक रूपले उपस्थित हुन नसके पनि सो पुलको निर्माण गर्ने आफ्नो पहल सार्थक भएको कुराले मलाई निक्कै खुसी लागेको थियो र अहिले पनि मलाई त्यति नै खुसी र गौरवको अनुभव भइरहेको छ । त्यसको झण्डै तीन चार वर्षअघि २०५९ तिर शिक्षा तथा खेलकुद सहसचिव पदमा कार्यरत रहँदा मलाई आफूले पाँच कक्षासम्म पढेको शारदा प्राथमिक विद्यालयलाई एउटा माध्यमिक तहको शिक्षक दरबन्दी उपलब्ध गराउने काममा सफलता प्राप्त भएको कुराले पनि त्यतिकै खुसी प्रदान गरेको थियो । स्थानीय विकास मन्त्रालयको सचिव पदमा कार्यरत रहेको बेलामा हामीहरूले देशभरिका ७५ जिल्लाहरूमा जुन जिल्लामा स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको कुनै पनि विकास परियोजना छैन ती जिल्लाहरूमा कम्तीमा पनि एउटा परियोजनाको विस्तार गर्ने कार्यक्रमसमेत अधि बढाएका थियौ र खोलामा पुल नभएको कारणले आवागमनमा असजिलो पर्ने अवस्था केही वर्षभित्रैमा अन्त्य गर्ने कार्यक्रमसमेत बनाएका थियौ । यसरी पुलपुलेसा र सडकको निर्माण र सुधार भएपछि रिडी वा रुरुक्षेत्र जस्ता धार्मिक र व्यापारिक केन्द्रहरूको प्रचार-प्रसार र विकासमा मद्दत पुग्छ भन्ने हाम्रो सोच रहेको थियो । गत वर्ष २०७८ मा मात्र रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा तीनवटै जिल्ला जोड्ने तीनमुखे पुलको निर्माण भएपछि त्यस क्षेत्रको सुन्दरतामा चारचाँद लागेको अनुभव स्थानीय बासीहरूले गरेका छन् ।

रिडी र रुरुक्षेत्रको धार्मिक महत्त्वको विषयमा हुनुपर्ने जति प्रचार-प्रसार भएन जस्तो मलाई पहिले नै लागिरहन्थ्यो । २०५४ सालमा सूचना विभागको माहानिर्देशक भएपछि हामीहरूले सूचना विभागबाट नियमित रूपमा प्रकाशित हुने नेपाल पत्रिकामा नेपालका विभिन्न ठाउँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक आदिका हिसाबले महत्त्वपूर्ण स्थल, मठ मन्दिर आदिको चिनारी दिने सूचनाहरू प्रकाशित गर्ने नीति बनाएका थियौ । म २०५८ सालसम्म चार वर्षे सूचना विभागमा कार्यररत रहेको बेलामा रिडी वा रुरुक्षेत्र नेपालका पवित्र चारधाममध्येको एउटा धाम हो भन्ने कुरालाई सरकारी दस्तावेजमा औपचारिक रूपले लिपिबद्ध गराएका थियौ । नेपाल पत्रिकाको वर्ष ३१, पूर्णाङ्क १३५, असोज कार्तिक अङ्कमा नेपालमा आफ्‌नै चार धाम खोजौं भन्ने अर्जुनमणि आ.दी.को लेख प्रकाशित भएको थियो ।

काली गण्डकी नदीको धार्मिक महत्त्वका विषयमा वराह पुराणलगायतका पौराणिक ग्रन्थहरूमा समेत उल्लेख भएको पाइन्छ । वराह पुराणको अध्याय १४६ मा रुरुक्षेत्र एवं हृषीकेशको महिमाको वर्णन रहेको छ । भृगुवंशी देवदत्त नामक ऋषिले अनेकौ वर्षसम्म तपस्या गरेको देखी विचलित भएका इन्द्रले प्रम्लोचा नाम गरेकी अप्सरालाई देवदत्तको तपस्या भङ्ग गर्न पठाएको र प्रम्लोचासंग मोहित भएका देवदत्तले प्रम्लोचालाई आफूसँग बस्ने प्रस्ताव गरेको कुरा सो अध्यायमा उल्लेख भएको पाइन्छ केही समयपछि देवदत्तलाई आफू मोहमा परेको बोध भयो र उनले प्रम्लोचालाई बिदा गरेर भृगु मुनिको आश्रममा गई गण्डकी नदीको सङ्गममा स्नान गरेर गण्डकी तटमा रहेको भृगुतुङ्गमा शिवको तपस्या गर्न थाले भन्ने कुरा वराह पुराणमा उल्लेख छ । उनको तपस्याबाट प्रकट भएका शिवले उनलाई गण्डकीतीर्थमा गरेर सङ्गम नामक स्थानमा शिवलिङ्गको पूजा गरेमा योगको उत्तम फल प्राप्त आशीर्वाद दिन्छन् । देवदत्तले शिवले बताएको मार्गको अनुसरण गरेर मुक्ति प्राप्त गर्छन् । अर्कातिर मुनिसँगको सम्पर्कबाट गर्भवती भएकी प्रम्लोचाले आश्रमकै नजीकमा एउटी कन्यालाई जन्म दिन्छिन् र कन्यालाई त्यही छाडेर स्वर्ग जान्छिन् । ती कन्यालाई रुरु नामक मृगले पालेकी हुनाले नाम रुरु हुन गयो । उनी पिता देवदत्तकै आश्रममा बस्थिन् । त्यही उनले भगवान् विष्णुको तपस्या गरिन् । उनको तपस्याले विष्णु हृषीकेशको रूपमा प्रकट भए र विष्णु हृषीकेशको रूपमा त्यही ठाउँमा रहने र सो क्षेत्र रुरुक्षेत्रको नामले विख्यात हुने तथा ३ रातसम्म सो स्थानमा बसेर स्नान गरी हृषीकेशको दर्शन गर्ने मानिसका सबै पाप नष्ट हुने र पवित्र हुने वरदान दिएर विष्णु त्यही अन्तरधान भएको कुरा वराह पुराणमा उल्लेख छ । यस स्थानमा स्नान गरेर हृषीकेशको दर्शन गरेमा मानिस देवऋण, पितृऋण र ऋषी ऋणबाट मुक्त र निस्पाप हुने विश्वास रहेको हुनाले नै यस स्थानको नाम रिडी रहेको हो भन्ने मान्यता छ । यसरी रिडी नामले मानिस तीन प्रकारका ऋणबाट मुक्त हुने कुरालाई जनाउँछ भन्ने श्रद्धालुहरूको विश्वास रहेको पाइन्छ ।

काली गण्डकीको पानी कालो देखिने भएको वा मगर भाषामा रि भन्नाले कालो र डी भन्नाले पानी भन्ने बुझिने भएकोले रुरुक्षेत्रलाई रिडी भनिएको हो भन्ने अर्को मान्यता पनि रहेको पाइन्छ ।

मुक्तिक्षेत्रमा विष्णु भगवान्‌को गण्डस्थलबाट काली गण्डकी उत्पन्न भएको पौराणिक मान्यता छ । काली गण्डकीको उद्गमस्थल मुक्तिनाथक्षेत्र, मध्य खण्ड- रुरुक्षेत्र, काली गण्डकी र त्रिशूली अर्थात् त्रिशूल गङ्गाको सङ्गम भएको स्थान देवघाट तीनवटै प्रसिद्ध धार्मिक धामलाई काली गण्डकीको स्पर्शले गरिमापूर्ण बनाएको कुरा पनि स्पष्ट छ । तसर्थ उत्तर दक्षिण काली गण्डकी कोरिडोरको निर्माण र सुधारले यी तीनोटै धार्मिक तथा पर्यटन स्थलको आवागमनलाई थप सहज बनाउने देखिन्छ र त्यसबाट रुरुक्षेत्रको प्रचार-प्रसार र विकासमा समेत थप योगदान पुग्ने विश्वास गर्न सकिन्छ ।

पाणिनि ऋषिले यसै रुरुक्षेत्रमा नटराज महेश्वरको आराधाना गरी महेश्वरले बनाएका आद्य विवर्त माहेश्वर व्याकरण पढेर १४ सूत्र आदि त्यसैको सारस्वरूप पाणिनीय व्याकरण अष्टाध्यायीको अर्घाखाँचीको पणेनामा बसेर रचना गरेको कुरा नरहरिनाथ योगीले उल्लेख गरेका छन् (हाम्रो देशदर्शन, २०७७) । यस कुराले पाणीनीले अध्ययन गरेको ठाउँको हिसाबले पनि रुरुक्षेत्रको महत्त्व रहेको मान्न सकिन्छ ।

रिडीको विषयमा थप अध्ययन अनुसन्धान हुनु र रिडीको धार्मिक तथा पर्यटकीय महत्त्वका विषयमा थप प्रचारप्रसार हुनु जरूरी छ । यस विषयमा भविष्यमा थप अध्ययन अनुसन्धान हुँदै जाने र त्यस्ता अध्ययन अनुसन्धानबाट रिडी वा रुरुक्षेत्रको महत्त्वका विषयमा अरूअरू नयाँ कुराहरू थाहा हुँदै जाने विश्वास पनि लिन सकिन्छ । यसको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व र विशिष्टताको प्रचारप्रसार हुँदै जाँदा संसारकै एउटा महत्त्वपूर्ण स्थलको रूपमा यस स्थानको प्रतिष्ठामा वृद्धि हुँदै जाने अथाह संभावनाहरू रहेका छन् । नेपालीहरूले र त्यसमा पनि लुम्बिनी, धौलागिरि र गण्डकी अञ्चलका बासिन्दाहरूले यसको निम्ति बढी प्रयत्न गर्नु जरूरी छ ।

( किरण पुस्तकालय, तम्घास, गुल्मी बाट प्रकाशित हाम्रो पुरुषार्थ रुरुक्षेत्र विशेषाङ्क बाट साभार गरिएको )

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.