नेपालको शैक्षिक नीति सुधारका चुनौती

| 2023 Aug 21 | 12:36 pm 3565

शिक्षा एक आधारभूत मौलिक अधिकार हो। शिक्षा क्षेत्रलाई समृद्ध राष्ट्र निर्माणको मेरुदण्ड मानिएको हुन्छ तर नेपालमा शिक्षाको गुणस्तर भने दिनप्रतिदिन अत्यन्त नाजुक अवस्थामा पुगिरहेको छ।

विकास र समृध्दिमा अगाडि बढेका जति पनि मुलुक छन्, ती सबैले शिक्षालाई विशेष महत्व दिएका कारण त्यो सम्भव भएको हो । तर नेपालको शिक्षामा न्युनगुणस्तर,असमान पहुँच, लिंग, आर्थिक (सामाजिक तथा जातीय विभेद आदि समस्याहरू व्याप्त छन्। गरिबी, सामाजिक बहिष्कार, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सकेका छैनन् ।

नेपालको शिक्षा नीति नियम एकातिर र नियत अर्कैतिर भएको छ। विद्यालय भनेको नै शिक्षक हो, भवन होइन। शिक्षक यदि गहिरो ज्ञान भएको छ भने उसले रुख मुनि बसेर पढाए पनि विद्यार्थीको विकास हुन्छ । शिक्षकले आफ्नाे कर्तव्य पूरा गर्न सक्दैन भने  राम्राे भवनको औचित्य हुदैनअर्थात भाैतिक संरचनाले विद्यार्थीले लिने ज्ञानमा तात्विक फरक पार्दैन ।

वर्तमान शिक्षालयको संचालन नै प्रदूषित भएको छ किनभने शिक्षालय संचालन गर्ने अधिकाशं मानिसहरूले व्यापारको उद्देश्य राखेका हुन्छन। हरेक क्षेत्रमा स्वार्थ भएपनि शिक्षाको क्षेत्र भने निस्वार्थ हुनुपर्दछ । विद्यालयले पढाइमा विशेषतः कक्षा १० का विद्यार्थीलाई प्राथमिकता दिन्छन्  तर यो विद्यार्थीको निमित्त नभई आफ्नै स्वार्थपूर्तिका निम्ति हुन्छ किनभने विद्यार्थी राम्रो अंकका साथ पास भए विद्यालयमा विद्यार्थी खोज्न हिड्नु पर्दैन । जति धेरै विद्यार्थी भए त्यति धेरै पैसा आर्जन हुन्छ ।

जबसम्म बालकको मस्तिष्क विकास गर्ने तर्फ लक्ष्य नबनाई पास गराउनेतर्फ मात्र शैक्षिक संस्था सीमित हुन्छन तबसम्म विद्यार्थीको विकास सम्भव छैन। एउटा नर्तक वा नर्तकीले कसरी शरीर,भाव प्रकट गरेर नाचेको  हुन्छ त्यो सबै जसरी एउटा नृत्य सिक्ने व्यक्तिले हेरेको हुन्छ र त्यसको प्रभाव आफ्नो कलामा उतारेको हुन्छ,यसै गरी एउटा विद्यार्थीले आफ्नो शिक्षकको बोल्ने तरिका,शब्द चयन गर्ने तरिका आदि सबै अनुकरण गर्ने प्रयास गरेको हुन्छ।त्यसैले शिक्षकको आचरण र यावत् क्रियाकलाप एउटा विद्यार्थीको निम्ति जीवन्त ज्ञानको स्रोत हुन्छ।

वास्तवमा मानिसको विकास चिन्तन र मननबाट हुन्छ।कुनै विषयमा चिन्तन गरी यसबाट जुन निचोड निस्किन्छ यहीँ नै ज्ञान हो।यो कसैले सुनाएर र सुनेर प्राप्त हुने तत्व होइन यो त स्वयंले अनुसन्धान गरी प्रकट गर्ने तत्व हो। एउटाले मोटर बनायो र अरुले चढेर हिँडे । यहाँ मोटरमा चढेर हिड्ने कहिले पनि ज्ञान नभएर मोटरको आविष्कार गर्नु चाहिँ ज्ञान हो।हाम्रो समाजमा मोटर चढ्नुलाई ज्ञान मानेर मात्र अरुले लेखेको किताब पढी पास गर्ने लाई मात्र शिक्षा मान्नु नै  दुर्भाग्य हो।

आजको विश्व एउटा परमाणुलाई लिएर कहाँ पुगिसकेको छ तर यो परमाणुको मर्म नबुझ्ने व्यक्ति विज्ञानको शिक्षक भएर विद्यार्थीलाई घोकाइ रहेको छ र विद्यार्थी घोकी रहेको छ किनभने मात्र पास गर्न । विद्यार्थीको मस्तिष्कमा विषयगत ज्ञान पुर्याउन सकेमात्र मस्तिष्क अनुसन्धानको यात्रा तर्फ लाग्छ अन्यथा विद्यार्थीलाई केवल सजाय मात्र हुन्छ। किनकी पास गर्नु परेको छ,त्यसको लागि कण्ठ पार्नु परेको छ अनि ऊ टेपरेकर्डर बन्न प्रयास गर्छ । विद्यार्थी जो अध्ययन गर्छन् त्यसमा आनन्दित हुनुपर्यो । जवरजस्तिले जुन काम गरिन्छ त्यसले परिणाममा अवनति नै प्रकट गर्छ। त्यसैले बिना बुझाइको पढाइले आनन्द दिन सक्दैन र यस्तो पढाई विद्यार्थीको निम्ति ठूलो भार हो। तसर्थ जबर्जस्ती कलिलो मस्तिष्कलाई लाद्न गयो भने यसले विद्यार्थीलाई लाभ होला कि नोक्सानस सोच्नु पर्ने विषय छ।

कुनै समयमा आइन्स्टाइनले विद्यालय जान मानेनन्। उनका मातापिताले स्कुल जाऊ भन्दा उनी भन्थे “I hate school. It’s like being in prison. The teachers are like prison guards marching up and down between the rows of desks.” हाल नेपालका विद्यार्थीहरु पनि यहीँ भन्न बाध्य छन्। विद्या सिर्जनाका निमित्त हो। सिर्जना विहीन शिक्षा छाना विहीन घर जस्तै हुन्छ। हाल विद्यार्थीको मस्तिष्कमाथि ठूलो आक्रमण भइरहेको छ। वर्तमान समयमा ९० प्रतिशतभन्दा ज्यादा विद्यार्थी चिट चोरेर पास गरेका हुन्छन्।लगभग २५-३० वर्ष लगाएर मानिसले मास्टर्स डिग्रीको प्रमाणपत्र हात पार्छन् तर उसले जुन विषयमा प्रमाणपत्र पाएको हुन्छ उक्त विषयमा किन, के को निम्ति र कसरी भनेर सोध्यो भने थाहा हुदैन। यो कस्तो दु:ख लाग्दो विषय बनेको छ ? हाम्र शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै बनेका छन्  ।

शिक्षक विद्यार्थीको ज्ञान श्रष्टा हो : श्रष्टाको शक्तिले विद्यार्थीले सृष्टि गर्छ। सृष्टि लक्ष्य हो, पुस्तक नक्सा हो, अनुसन्धान मार्ग हो, विद्यालय गाडी हो, शिक्षक चालक हुन् र विद्यार्थी यात्री हुन्। यात्रा तबमात्र समाप्त हुन्छ जब लक्ष्यमा पुगिन्छ।

तसर्थ राष्ट्रिय प्रतिभा उत्पादन गर्ने उनीहरुलाई फलाउने फुलाउने तथा मनोभावनालाई उच्च राख्ने खालका शैक्षिक नीति र कार्यक्रम राज्यले तर्जुमा गर्नु आजको युगमा अत्यावश्यक छ।

(लेखक शंकरदेव क्याम्पस नेविसंघ विद्यार्थी नेता हुन्)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.