आफ्नो काजक्रिया कसरी गर्ने ?

रिपोर्ट नेपाल | 2023 Jun 28 | 06:30 pm 1249

✍ बबिता बस्नेत

२०८० जेठ महिनामा बनारस गएको बेला आफ्नो काजक्रिया र श्राद्ध गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको सुनेँ । सन्तान नहुनेहरू, सन्तान भएपनि विदेशमा बस्ने र बिरामी हुँदा खासै वास्ता नगर्ने भएकाले मरेपछि काजक्रिया गर्छन् भन्ने विश्वास नभएकाहरू, सन्तान घरमै भएपनि उनीहरूसँग सम्बन्धमा तिक्तता भएकाहरू र कतिपयचाहिँ परिवार र सन्तानसँग राम्रै सम्बन्ध भएपनि आफ्नो कारणले अरुलाई किन दुःख दिनु भन्ने मान्यता राख्नेहरूले आफ्नो काजक्रिया र श्राद्ध आफै गर्न चाहँदा रहेछन् । आफ्नै घरमा गर्दा अनेक अर्थ लाग्ने, यसले त आफ्नो क्रिया नै गरिसक्यो रे… यसलाई त कसैको विश्वास रहेनछ… बिचरा सन्तान भएर के गर्नु आफ्नो क्रिया आफै गर्नुपऱ्यो… लगायतका टीकाटिप्पणीसहित कुरा काट्ने भएकाले भारत र नेपालका कतिपय मानिसहरू काशी गएर चुपचाप आफ्नो श्राद्ध गर्दारहेछन् । हिजोआज यसरी श्राद्ध गर्नेमा पुरातनवादी सोच राख्ने मानिसहरू भन्दा शिक्षित र विभिन्न पेशा, ब्यवसायमा लामो समय बिताएका मानिसहरू छन् भनेर कर्ताहरूले सुनाएका थिए । कतिले श्राद्ध मात्रै गर्ने र कतिलेचाहिँ काजक्रिया र श्राद्ध दुवै गर्ने रहेछन् ।

जीवित हुँदै काजक्रिया गर्न मिल्छ ? के तिथिका आधारमा श्राद्ध गर्ने ? कसरी गर्ने ? यो विषयमा शास्त्रले बोलेको छ भनिँदोरहेछ । यो विषयमा कुरा गर्दा कसैले सन्तान नहुनेले आफ्नो श्राद्ध गर्न मिल्छ भनेर ‘गरुड पुराण’मा नै लेखिएको छ भने र, कतिले चाहिँ ‘चतुर्वर्गचिन्तमाणौ’ मा सन्तान हुनेले पनि यस्तो श्राद्ध गर्न मिल्छ भनिएको छ भन्ने कुरा गरे । जीवित मानिसले आफ्नो संस्कार गर्दा शरीर जलाउनेबाहेक सबै प्रक्रिया पूरा गर्ने रहेछन् । कतिले कपाल र नङसहितको पुत्ला बनाइ जलाउने रहेछन् भने कतिले चाहिँ मृत ब्यक्तिको श्राद्धमा गर्ने नियमअनुसार नै तिल, जललगायतका सामाग्रीसहित गर्ने रहेछन् । श्राद्धमा ठाउँ-ठाउँमा नाम लिँदै भनिने ‘उनको (ब्यक्तिको नाम) आत्माले शान्ति पाओस्’को ठाउँमा ‘मरेपछि उनको आत्माले शान्ति पाओस्’ भनिने रहेछ । श्राद्ध गराउने गुरुहरूका अनुसार, श्राद्धको विधिचाहिँ उस्तै हुन्छ ।

आफैले गर्ने श्राद्धलाई ‘आत्मश्राद्ध’ पनि भनिँदोरहेछ । मानिसहरूले आत्मश्राद्ध गर्नुको मुख्य उद्देश्य मरेपछि आत्मा नभड्कियोस्, मोक्ष/मुक्ति मिलोस् भन्ने नै हो । मुक्ति मानिसलाई जिउँदै हुँदा र मरेको दुवै अवस्थामा आवश्यक छ । कसैले आफ्नो श्राद्ध आफै गरेको छ र तिनका सन्तान छन् भने सम्बन्धित ब्यक्तिको मृत्युपछि सन्तानले काजक्रिया र श्राद्ध गर्नुलाई सही नमानिँदोरहेछ । यदि कुनै मानिसले आफ्नो श्राद्ध गरिसकेको छ र कसैलाई जानकारी छ भने सन्तान या नातेदारलाई यस्तो कार्य नगर्न सुझाव दिइँदोरहेछ । सनातनी हिन्दु धर्ममा मानिसको जीवनमा रहने १६ संस्कारमध्ये मृत्यु अन्तिम संस्कार हो । हामीकहाँ मानिस मर्नुअघि वैतरणी गर्ने चलन छ । स्कन्द पुराणमा ‘यमराजको ढोकामा वैतरणी नामको असाध्यै फोहोर नदी छ, जुन नदी तर्न धेरै गाह्रो छ’ भनी ब्याख्या गरिएकाले मृत्युको अन्तिम अवस्थामा वैतरणी नामको संस्कार गर्ने गरिएको हो । बिरामीको छेउमा नदीको आकार दिने सानो खोल्सो र केराको थामको डुङ्गा बनाइ गाईको पुच्छर समातेर वैतरणी गर्ने गरिन्छ । गाई उपलब्ध नहुने या गराउन नसक्ने अवस्थामा अन्य विधिसहित गाईको चित्र भएको पैसा समाउने गरिएको छ । यदि ज्युँदैमा वैतरणी नदी तर्नका लागि संस्कार गरिन्छ भने मरेपछि मोक्षका लागि संस्कार गर्न किन नमिल्नु ? यस्तोे तर्क पनि गर्न सकिन्छ । आफ्नो श्राद्ध आफै गरेका मानिसलाई कोही आफन्तको मृत्यु भए जुठो नलाग्ने र बच्चा जन्मिँदा सुतक बार्नुनपर्ने भन्ने रहेछ । यस्तो अवस्थामा जुठो-सुतक नलाग्ने, नुहाए मात्रै पुग्ने मान्यता रहेछ ।

मृत्युपछि हामी कहाँ जान्छौँ र के हुन्छौँ भन्ने कुरा अहिलेसम्म कसैले भन्न सकेको छैन । मानिस मरेपछि फेरि फर्किएर आएको रेकर्ड नभएकाले मृत्युपछि के हुन्छ होला ? कसैले पनि निर्धक्क भएर यसै भन्न सक्ने अवस्था छैन । हिन्दु धर्मले शरीर र आत्मालाई अलग हुन भनेको छ भने कतिले आत्मा र शरीर एकै हो पनि भनेका छन् । हिन्दु धर्ममा मानिस मरेपछि शरीर जलाएपनि आत्मा मर्दैन भन्ने मान्यता छ । महाभारतमा कृष्णले यो विषयमा अर्जुनलाई लामो समय लिएर सम्झाएका छन् । युद्धको आरम्भमा आफ्नो अघिल्तिर विपक्षीको रुपमा भीष्म पितामह, गुरु द्रोणाचार्य, कृपाचार्य लगायतका आफुले अति नै आदर गरेका ब्यक्तित्वहरूलाई देखेर अर्जुनले आफुले युद्ध गर्न नसक्ने बताएपछि कृष्णले शरीर र आत्माको बारेमा बताएका हुन् । शरीर मरे पनि आत्मा सधै जीवित रहने र अगाडि देखिएका ती महान् आत्माहरूले धर्मयुद्ध जितेकोमा पाण्डवलाई सधै आशीर्वाद दिइरहने भनी कृष्णले अर्जुनलाई युद्धबाट पछि नहट्न सम्झाएपछि अर्जुन युद्ध गर्न राजी भएका थिए । अहिले ओम शान्तिलगायतका सबै सनातनीहरूले शरीर मरेपनि आत्मा नमर्ने भनी विभिन्न तर्क अघिसारेका पाइन्छन् ।

अघि या पछिको कुरा मात्रै हो, मानिस जन्मिएपछि मृत्यु निश्चित छ । जन्मदै मानिसले मृत्युको ‘ओपन टिकट’ लिएर आएको हुन्छ भनेपनि हुन्छ । कहिले, कहाँ, कसरी भन्ने निश्चित नभएपनि एक दिन जाने सय प्रतिशत निश्चित छ । मृत्युपछि आआफ्नो धर्म संस्कारअनुसार काजक्रिया गरिन्छ । हिन्दु धर्ममा १३ दिन काजक्रिया गर्ने चलन छ । यो १३ दिनको आफ्नै महत्व छ । मानिस मरेपछि सुरुका केही समयसम्म उसको आत्माले शरीरभित्र पस्ने कोशिस गर्छ भनिन्छ । मृत्युको १३ दिनसम्म मृतकको हंस कुनै न कुनै रूपमा रहन्छ भनेर नै काजक्रियाका गर्ने गरिएको हो । मृत शरीरलाई गाड्ने संस्कार पनि छ, माटोबाट आएको शरीरलाई माटोमै बिलाउन दिनुपर्छ भन्ने मान्यताले यस प्रकारको संस्कारलाई टेवा दिएको देखिन्छ । जसले जुन विधिबाट गरेपनि धर्म, संस्कार भन्ने कुरा यस्तो मान्यता हो जसले मानिसलाई कुनै न कुनै रुपमा पछ्याइरहन्छ । धर्म संस्कार सिक्नका लागि मानिसहरू स्कुल कलेज गएका हुँदैनन्, युनिभर्सिटीमा यसको पढाइ हुँदैन तर आवश्यक समयमा मान्यताले स्वतः काम गरिरहेको हुन्छ ।

काजक्रियाका क्रममा पहिलो दिनदेखि तेह्र दिनसम्म जे-जे गरिन्छ तिनको आ-आफ्नै महत्व छ । मृत ब्यक्तिका नाममा चढाइएको खानेकुरा उसले खान पाउँदैन होला तर यदि आत्मा जीवित छ भने आफन्तले आफूप्रति राखेको भावनालाई उसले महसूस गर्न सक्छ । परिवारका सदस्यका लागि ति १३ दिनलाई ‘हिलिङ प्रोसेस’का रूपमा लिन सकिन्छ । आफन्तहरू आउँछन्, के भएको थियो, कस्तो अवस्थामा संसार छोड्यो लगायत उसका विगतका राम्रा कुराहरू गर्छन् । आज, भोलि, पर्सी गर्दै आफन्तहरू बिस्तारै-बिस्तारै आफ्नो मान्छे गुमाउनुको पीडाबाट बाहिर निस्कँदै जान्छन् । जीवन बाँच्ने प्रक्रियालाई सहज बनाउन पनि १३ दिनको समय महत्वपूर्ण छ । माहौलले मानिसलाई पीडामुक्त हुन मद्दत गर्छ । मृत्युसंस्कारका क्रममा विभिन्न दिनमा दिइने पानी, खाना, दानलगायतका कुरा मरेका ब्यक्तिले पाएपनि नपाएपनि बाँच्नेहरूका लागि पीडामुक्तिका कारक हुन् । फोटो अगाडि बालिएको बत्तीले मरेपछि सम्बन्धित ब्यक्ति जहाँ गएपनि अध्याँरो नहोस् भन्ने कामना हो । शन्ति र मुक्ति मरेपछि प्राप्त होउन् भनी सबैभन्दा बढी कामना गरिने कुरा हुन् ।

संस्कारको सन्दर्भमा उमेर पुगेर या लामो समय बिरामी भएर मृत्यु भएका भन्दा दुर्घटनामा या अकस्मातै मृत्युवरण गर्न पुगेकाहरूको सन्दर्भमा विशेष रुपमा काजक्रिया गर्नु पर्छ भन्ने मान्यता छ । दुर्घटनामा पर्नेहरू या भनौँ अकाल मृत्यु हुनेहरूको आत्मा बढी भड्किन्छ भन्ने छ । अनुभव बाँड्ने अवस्थामा कोही नभएकाले यसको कुनै प्रमाण छैन तर आत्मा अरु कसैको शरीरमा आएर विभिन्न कुरा भनेको सुन्नेहरू भने हाम्रो नेपाली समाजमा प्रशस्त छन् । कतिपय संस्कारमा काजक्रियाको अन्तिम दिन आत्मा बोलाउने चलन पनि छ ।

आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा पनि हो मृत्यु संस्कार । आफुलाई जन्म दिने बाबु आमाको नाममा १३ दिन बिताउन नसक्नु, तिथि श्राद्ध नगर्नु या त्यस्ता सन्तानको परिकल्पना आफैमा दुःखद हो । तर समय परिस्थितिले मानिसलाई आफ्नो काजक्रिया र श्राद्ध आफै गर्नुपर्छ कि के हो ? भनेर सोच्नुपर्ने अवस्थामा पुऱ्याइदिएको छ । मृत्युसंस्कार गर्दै जाँदा १० दिन पछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजक्रिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानहरूलाई दुःख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका उदाहरणहरू पनि छन् । जसका कारण वर्षौंपछि आफन्तले काजक्रिया गरेका घटनाहरू पनि बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । यो पङ्क्तिकारकै परिवारमा पनि यस प्रकारको घटना भएको छ । काजक्रिया मृतक प्रेतबाट आत्मा बन्ने प्रक्रिया मात्र होइन बाँच्ने आफन्तका लागि पीडाबाट बाहिरिनका लागि सहज बनाउने समय पनि हो । त्यसैले सकेसम्म समाज र हाम्रा पारिवारिक सम्बन्धहरू आत्मश्राद्धको अवस्थामा नपुगेकै राम्रो । – घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.