काठमाडौं, असार ३ । विश्वकप क्रिकेट छनोट खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ । जिम्बाबेले टस जितेर पहिला ब्याटिङ्गको लागि निम्तो गरेको थियो । जसमा नेपालले ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालले एक दिवसीय मान्यता प्राप्त क्रिकेट खेलमा बनाएको तेस्रो ठूलो योगफल हो । जिम्बाव्वेविरुद्ध ओपनर कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो ।
भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउने क्रममा ९९ रनमा आउट भए । जिम्बाव्वेका वेलिङटन मसाकान्डाले भुर्तेललाई ९९ रनमा क्लिन बोल्ड गरेका थिए जसमा ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा म्याजाकाजाको बलमा रायन बर्लको हातमा क्याच थमाउन पुगे ।
तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोल्दै ५० ओभरको खेल सकियो । जिम्बाव्वेका नागरभाले ४ विकेट लिए, म्याजाकाजाले २ विकेट लिए भने चटारा र मुजरवानीले १/१ विकेट लिए ।