काठमाडौं, जेठ १८ । जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने भएको छ ।
क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक हप्ता प्रशिक्षण गर्ने र अभ्यास खेल खेल्नेछ ।
नेपाली क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका पुगेको हाे । टोलीले बिहीबार आज जुन १ देखि जुन ९ सम्म प्रशिक्षण गर्नेछ । नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भएतापनि ओडीआई मान्यता भने हुने छैन ।
क्यानले दक्षिण अफ्रिकामा नेपालले अन्य खेलका लागि समेत प्रयास गर्ने जनाएको थियो तर दुई खेल मात्र खेल्ने तालिका सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोटका खेलहरू जुन १८ देखि जुलाई ९ सम्म हुनेछन् । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।
विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मा पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । समूह ए मा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका पनि छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज र जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् ।
दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर/नाेभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।