बालकृष्ण श्रेष्ठ बारे पढिएन भने जीवन अधुरो

रिपोर्ट नेपाल | 2023 Apr 28 | 04:12 pm 2889

  • महेन्द्र पाण्डे

घटना एक दशक अघिको हो । पत्रकारिता पेशाकै मेरा एकजना साथीले घर बनाउने तयारी गरेको छु पाण्डेजी, थोरै पेसा सापटी दिन सक्नु हुन्छ ? भनेर फोन गरे । मैले भने –‘म सँग खासै पैसा त छैन, तर तपाई जत्तिको मिहेनती साथीले भनिहाल्नु भयो, खोजखन्तर गरेर केही जोहो गरौंला, घर थाल्दै गर्नु न ।’ दशैंको मुखमा भेट हुँदा घर कति भयो ? भनेर सोधेँ । तर थालेकै रहेनछन् । उनले भने–‘जग पुजा त भदौंमै गरेको हो, तर फलामे डण्डीका लागि पालो कुर्नु परेकोले घर थाल्न त फागुन लाग्ने भयो ।’ बजारमा खातका खात फलामे डण्डी बेच्न राखेको देखिन्छ , तर साथी भन्छन् –‘डण्डीका लागि ६ महिना पालो पर्खनु पर्यो ।’ मैले कुरा बुझ्न सकिन । म थप स्पष्ट हुन चाहेँ ।

खास कुरा के रहेछ भने, निर्माण व्यवसायी समेत रहेका कांग्रेसका नेता जीप छिरिङ्ग शेर्पाले कुनै हितैषीलाई ‘हामा’ फलामे डण्डीको बारेमा दिएको सल्लाह ति साथीले सुनेका रहेछन् । ‘आफ्नै लागि घर बनाउने हो भने जुनसुकै हालतमा पनि हामा डण्डी बाहेक अरु प्रयोग नगर्नु है’ भनेर निर्माण व्यवसायी जीप छिरिङ शेर्पाले कसैलाई भनेको कुुरा ती साथीले बिर्सेका रहेनछन् । त्यसैले उनी जबसम्म हामा डण्डी उपलव्ध हुँदैन, तब सम्म घर बनाउन नथाल्ने भनेर पर्खेका रहेछन् । हामा डण्डीका लागि दुई महिना अघि नै सामाखुशी स्थित कान्तिपुर हार्डवेयरलाई एड्भान्स दिइसकेका रहेछन् । हामा डण्डीको माग यति रहेछ की, ६ महिना पहिला एड्भान्स रकम दिनु पर्ने ।

यो कुरा थाहा पाए पछि मेरो दिमागमा पनि ‘हामा’ भन्ने शब्द गुन्जिइरह्यो । बजारमा अरु नै ब्राण्डका फलामे डण्डीहरु प्रदर्शन गरेर राखेको देखिन्छ, मिडियामा पनि अरु नै डण्डीको विज्ञापन आएको देखिन्छ । तर मान्छेहरु हामा नै खोज्छन् किन ? भन्ने कुरा मेरो दिमागले बिर्सेको थिएन । एक महिना अघि पुराना पत्रकार भरत कोइरालाले हामा डण्डीका मालिक भेट्न जाने कुरा राख्नुभयो र हामी दुई जना कमलादी गणेश मन्दीर अगाडि भएको हामाको अफिसमा पुग्यौं । त्यहाँ पुगेपछि बालकृष्ण श्रेष्ठ सँग सहज भेट र कुराकानी भयो । भरत कोइरालाले हामा पुस्तकको बारे बताएपछि यो पंतिकारलाई उक्त पुस्तक पढ्न मन लाग्यो । त्यहाँ गएको केही समय पछि भरत कोइरालाले उक्त किताब निकालेर दिएपछि त्यो किताबको कभरपेजमा ढाकाटोपी तथा कोट दौरामा सजिएका एक जना खाइलाग्दो ब्यक्तिको तस्वीर थियो । कभर पेजमा सानो अक्षरमा लेखिएको थियो – ‘मेरो संघर्ष, पौरख र प्रतिष्ठा ’ पुस्तकका लेखक रहेछन्, बालकृष्ण श्रेष्ठ ।

मरुभूमीको यात्राका क्रममा तिर्खाएको बटुवाले पानी भेटेको जस्तो भयो मलाई । हामा भनेको हारती माताको छोटकरी नाम रहेछ । बेलुका घरमा पुगेपछि पुस्तकको विषय सूचि पल्टाएँ । आत्मवृतान्त शैलीमा लेखिएको रहेछ । विषय सूचिको दोस्रो नम्वरमा रहेको ‘बाल्यकालः अन्धविश्वासको पीडा’ शीर्षकमा मेरो पहिलो ध्यान गयो । पढ्दै थिएँ, आँखाबाट भलभल आँशु आउन थाल्यो, मन त्यसै त्यसै भक्कानिएर आयो, म त घुँक्क घुँक्क गर्न पो थालेछु । श्रीमती र छोरीहरुले देखे भने के ठान्लान भनेर हत्त न पत्त ढोकामा चुक्कुल लगाए, फेसबुकको म्यासेन्जर अफ गरेँ, मोवाइल साइसेन्टमा राखेँ । अनि पढ्न थाले, जति पढ्यो उति पढौं पढौं लाग्ने । आज खाना खान नबोलाइदिए पनि हुन्थ्यो जस्तो लाग्यो । तर खाना त खानै पर्यो । खाना खाएर फेरी पढ्न थालेँ, रातिको दुई बजेछ । आधिजति त पढि सकेछु । त्यस पछि सुतेँ ।

मनमा अनेकथरी कुरा खेलिरह्यो । नखेलुन पनि किन ? किनकी यो पुस्तक नपढ्दा सम्म मलाई लाग्थ्यो, धनी बाबु आमाको छोरा भएर जन्मन पाएको भए । तर हाम्रो सामाजिक संस्कार तर कुरितीले धनी गरिव भन्दो रहेनछ । बालकृष्ण श्रेष्ठ ३२ कोठी महाजनका छोरा र नाति रहेछन् । आफूलाई आवश्यक पर्दा ऋण तथा आर्थिक सहयोग दिनसक्ने हैसियतका साहु महानजनमध्ये जंगबहादुर राणाले सबै भन्दा धनि ३२ जनालाई छानेका रहेछन् । जसलाई ३२ कोठी साहुमहाजन भनिदो रहेछ । यही परिवारमा जन्मेका रहेछन् बालकृष्ण श्रेष्ठ । तर उनले आफ्नी आमा जीवित हुँदा पनि धित मर्ने गरी आमाको दुध खान पाएनन् । १२ वर्षको उमेरसम्म पेटभरी खान समेत पाएनन्, जाडो महिनामा समेत आङ ढाकिने गरी लुगा लगाउन पाएनन् । चुरोटका बण्डल ओछ्याएर छिँडीको कोठामा भूइमै सुत्न वाध्य बनाइए । काठमाडौंको जाडो, लुग लुग काम्दै कयौं पटक बेहोस भए । चीसोका कारण निमोनियाँ भयो, तर उपचार समेत पाएनन् । २० –२२ जनाको ठूलो परिवार थियो । बालकृष्णलाई देख्ने वित्तिकै कुटी हाल्ने चलन थियो । आफ्नै काकामध्येका एक जनाले त बालकृष्णलाई कुट्नैका लागि भनेर भर्याङ्गमा ढुकेर बस्दा रहेछन् । हरेक दिन कैयौं मान्छेको कुटाई तथा कान निमोठ्याइका कारण उनका गाला सुनिए, कानमा घाउ भयो, तर गुहार माग्न जाने कहाँ ? कठै विचरा बालकृष्ण ।

यो नरकीय सजाय पाउनुमा उनको केही कसुर थिएन । उनी सोझा थिए । उनी मुल नक्षेत्रमा जन्मेका रहेछन् । जसलाई मुल्याह परेको, बाबु टोक्छ भनेर जन्माना साथ काम गर्ने एक जना नोकरलाई बेचिएको रहेछ । परिवारका सदस्यले उनलाई देख्न नहुने कुरीती रहेछ, देखिहाल्यो भने गालामा चड्कन लगाए पछि दोष मेटिन्छ भन्ने गलत मान्यता रहेछ । जसको शिकार बने बालकृष्ण श्रेष्ठ, १२ वर्षको उमेरसम्म । त्यस्तो संकटमा परेको बालक कसरी बाँच्यो होला ? कसरी यत्रो प्रगति गर्याे होला ? तर तिनै बालकृष्णले ३२ कोठी महाजनको बिँडो मात्रै थामेनन्, प्रध्यापक समेत भए, नेपालका ठूला उद्योगी भए । ठूला बैंकर्स भए । यो सबै हारती माताको कृपा ठानेका रहेछन् बालकृष्ण श्रेष्ठले । हारती मातालाई बालबालिकाकी देवी अर्थात आमाका रुपमा काठमाडौं उपत्याकाबासीले विशेष पूजा आजा गर्छन्, सम्झन्छन् । त्यसैले उनले आफ्नो उद्योगको ब्राण्डलाई ‘हामा’ नाम दिएका रहेछन् । २०७२ सलमा आएको भुकम्पले धेरै पक्कीघरहरु भत्किए, चर्किए, तर हामा डण्डी प्रयोग गरेर बनाईएका भवनहरु कत्ति केही भएनन् । बालकृष्ण श्रेष्ठ स्वयंको घर १४ तले रहेछ, तर भूकम्पले कत्ति पनि तल माथि गर्न सकेन । यो सबै हारती माताको कृपा हो भन्छन् बालकृष्ण ।

हुन त पछिल्ला दिनमा मलुकका धेरै सफल उद्योगी व्यवसायीहरुको आत्मा वृतान्तलाई समेटेर पुस्तक लेख्ने चलन सुरु भएको छ । त्यसैको निरन्तरता हो बालकृष्ण श्रेष्ठको ‘हामा’ पुस्तक । तर यो पुस्तक कुनै उद्योगी व्यवसायीको भन्दा पनि दार्शनिकको आत्मवृतान्त जस्तो देखिन्छ । पुस्तकमा अनुभव र ज्ञानलाई अत्यन्त मनोआकर्षक शैलीमा प्रस्तुत गरिएको छ । लामो समय प्रध्यापन गरेका बालकृष्ण श्रेष्ठको विषयमा उद्योगपति विनोद चौधरीले पनि आफ्नो पुस्तकमा मुक्त कण्ठले प्रसंसा गर्दै भनेका छन् –‘बालकृष्ण सरको चेलो हुने अवसर नपाएको भए आज म यो ठाउँमा हुने थिइन ।’ हुन पनि विनोद चौधरीलाई क्याम्पसको मात्रै शिक्षा दिएका रहेनछन् बालकृष्णले । उनका पिता लुनकरण दासको अनुरोधमा विनोद चौधरीलाई विशेष निगरानीमा समेत राखेका रहेछन् ।

जसरी महाभारत ग्रन्थ नपढेसम्म कुनै व्यक्तिको जीवन अधुरो हुन्छ भनिन्छ, त्यसरी नै बालकृष्ण श्रेष्ठको यो पुस्तक पढ्ने मौका नपाएको भए आफ्नो जीवन पनि अधुरो हुने रहेछ भन्ने ठम्याइ यस पंक्तिकारको रह्यो । यो पुस्तकमा के के छ ? भनेर उल्लेख गर्नु भन्दा पनि के के छैन ? भन्नु उपयुक्त हुन्छ । किनकी हरेक वर्ग तथा तह तप्काका व्यक्तिले आफ्नो जीवनमा जे जे कुरा भोग्छन् त्यो कुरा यो पुस्तकमा सबै छ । इतिहासमा नआएको कुरा पनि धेरै छन् । उदाहरणका लागि २०२७ साल बैशाख ६ गते बिहान बालकृष्ण श्रेष्ठकै घरमा नेवि संघको जन्म भएको रहेछ, घोषणा चाँही दिउसो स्वयम्भूको सत्तलमा गरिएको रहेछ । उनी स्वयं पनि नेवि संघका संस्थापक रहेछन् । यो त एउटा उदाहरण मात्रै हो । यस्ता उदाहरणीय प्रशंग त पुस्तकमा कति छन् कति ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.