स्वर्णिमले गरे जन नायक वीपीको अपमान

रिपोर्ट नेपाल | 2023 Apr 05 | 08:46 am 3989

  • महेन्द्र पाण्डेय

जन नायक वीपी कोइराला र रवि लामिछानेलाई उस्तै देख्ने पात्रका विषयमा धेरै टिप्पणी गर्ने विचार थिएन । तर मन मानेन । यो प्रकरणमा दोष शेरबहादुर देउवा र आरजु राणाकै हो । गुल्मी तमघासमा म स्कुले विद्यार्थी हुँदा त्रैलोक्यप्रताप सेन दाजुले प्राध्यापक सिके प्रसाँइले लेखेको एउटा किताव सुटुक्क दिनु भएको थियो । पंचायतका नेता (राजा)लाई सुझाव दिँदै सिके प्रसाँइले भन्नु भएको थियो –‘तपाँइले भुस्याह कुकुरलाई रत्याउने नाममा सुरुमै मासु नखुवाउनुहोस् । जुन दिन मासु खुवाउन सक्नु हुन्न त्यो दिन उ सिनो खोज्न बाहिर भौंतारिन्छ, अनि सिनो खाएर तपाईलाई नै टोक्छ ।’ नभन्दै आफ्नै आसेपासेहरुको टोकाइले राजतन्त्र समाप्त भयो । सिके प्रसाइको यो भनाई कतै देउवा र आरजुले चरितार्थ त गरेनन् ? स्वर्णिमलाई शुरुमै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो अत्यन्त गरिमामय पद दिनु गल्ती पो थियो की ? यो पद दिनु अघि कम्तीमा वीपी कोइराला भनेको को हो ? भनेर एक पेज निवन्ध लेख्न लगाउनु पर्ने थियो की ? भन्ने कुरा मनमा खेलिरहेकोले यो लेख लेख्ने जमर्को गरेँ । एक छिन घोत्लिएर –‘विदेश बसेर आएको एक महिना भित्रै यति ठूलो अवसर प्राप्त गर्ने व्यक्ति नेपालमा दुई जना रहेछन् । एक जना २००७ सालको जनक्रान्ति पछिका अर्थात नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान । अर्का एक जना देउवा प्रधानमन्त्री हुँदाको बेलामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले ।

शुसील कोइराला प्रधानमन्त्री भएको बेला विदेशबाट आउना साथ देउवाको दवावमा वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । त्यसैले कांग्रेसले अवसर नदिएर वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी तिर लाग्न बाध्य भए भन्ने कुरामा आंशिक सत्यता छ । न त वीपीले अबसर नदिएर डा. गिरि महेन्द्र तिर लागेका हुन्, न त देउवाले अवसर नदिएर वाग्ले रवि लामिछाने तिर लागेका हुन् । उनीहरु निश्चित् मक्सद बोकेका पात्र हुन् । गिरिले त कांग्रेसमा लामै समय विताएका हुन् । तर वाग्लेको हकमा भन्नु पर्दा एक दुई महिना परीक्षण पनि नगरी टपक्क टिपेर राष्ट्रिय योजना आयोग जस्तो अत्यन्त गम्भीर संयन्त्रको नेतृत्व दिनु उचित थियो ? त्यो जिम्मेवारीमा रहँदा यिनले के के काम गरे ? के के सुझाव दिए ? उनले बुँदागत रुपमा बताउन सक्छन् ? पदीय हिसावले मन्त्री सरह भए पनि प्रधानमन्त्री सरह योगदान गर्न सकिने पद हो, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भनेको त । राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएको भोलि पल्ट चितवन पुगेर वाग्लेले भने–‘वीपी कोइरालाको जत्तिकै उर्जा रवि लामिछानेमा मैले पाएँ । एउटा पाटोबाट हेर्दा यो कुरा असत्य होइन । किनकी वीपीले कथा र उपन्यास मात्रै लेखे, रविले त्यसलाई प्रयोगमा ल्याए । सेक्सका मामिलामा वीपीको भन्दा रविको उर्जा कयौं गुणा माथि हो । कल्पना गरौं त, यो युगमा चार–चार वटा श्रीमती ल्याउन सक्ने उर्जा सितिमिति को सँग होला ?

साँढे सात दशकको यो अवधीमा नेपाली कांग्रेसमा कति नेता तथा कार्यकर्ता आवद्ध भए, कति मान्छे बाहिरिए, कुनै लेखा जोखा छैन । सबैको लेखा जोखा सम्भव पनि छैन । केहीको भने लेखा जोखा हुने गरेको छ । तर सबैको लेखा जोखा एकै नासले हुने गरेको छैन । सर्वोच्च नेता गणेशमान सिंह पनि आफ्नो जीवनको उत्तरार्धमा नेपाली कांग्रेसबाट बाहिरिए । सबै भन्दा लामो समय सभापतिका रुपमा काम गरेका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि नेपाली कांग्रेसबाट बाहिरिए । महामन्त्रीद्धय डा. तुल्सी गिरि र परशुनारायण चौधरी पनि नेपाली कांग्रेसबाट बाहिरिएका थिए । गणेशमान र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्र्यापण गर्ने परम्पराले निरन्तरता पाइरहेकै छ । तर गिरि र चौधरीको नाम सुन्न कांग्रेस वृत्तमा कसैले चाहँदैनन् । किनकी बर्हिगमनको उद्देश्य फरक थियो । सिंह र भट्टराईले कांग्रेसलाई बलियो बनाउन दबाव दिने, लोकतन्त्रप्रति थप प्रतिवद्ध बनाउने उद्देश्यका साथ पार्टी परित्याग गरेका थिए । तर गिरि र चौधरी कांग्रेसलाई कमजोर बनाउने र मुलुकको लोकतान्त्रिक रुपान्तरण प्रक्रियालाई अवरोध पुर्याउने उद्देश्यका साथ बाहिरिएका थिए । उद्देश्य जे सुकै भए पनि यी चारै जनाको बहिर्गमन नेपाली कांग्रेसको इतिहासका सधै चर्चायोग्य मोडहरु हुन् । गिरि र चौधरीको नाम उल्लेख नगरी नेपाली कांग्रेसको इतिहास लेखन सम्भव छैन । पार्टी परित्याग गर्नु अघिसम्म गिरि र चौधरीले पुर्याएको योगदानलाई नेपाली कांग्रेस स्वयंले विर्सन सक्ने अवस्था छैन ।

वाग्लेले २०५९ मंसिर ४ मा भएको उपचुनावमा नै काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा टिकटको आस गरेका थिए । माओवादी, एस लगायतका दलसँगको गठबन्न्धनका कारण १६५ प्रत्यक्ष तर्फको सिटमध्ये काँग्रेसले ९० स्थानमा मात्र उम्मेदवर उठाउन पाउने भएपछि सिट संख्या घटेकोले वाग्लेको सपना पुरा हुन पाएन । वाग्लेलाई काँग्रेसले टिकट दिएर अन्य पार्टीमा जानबाट रोक्नु पर्दथ्यो भन्ने मत पनि काँग्रेसवृत्तभित्र रहेको छ । टिकट नपाउँदैमा अर्को पार्टीमा जानेलाई नदिएकै ठिक, आफ्नो स्वार्थ अनुकूल नहुनासाथ पार्टीलाई धोखा दिनसक्नेले जिम्मेवारी पाएको अवस्थामा झन् “बार्गेनिङ” गर्ने थिए भन्ने मत झन् बलियो रहेको छ । पार्टीले वाग्लेलाई जिम्मेवारीबाट बञ्चित गरेको पनि हैन । उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, घोषणा पत्र लेखन समितिको सदस्य र आर्थिक फाँटमा जिम्मेवारी दिएकै हो । राज्य मन्त्री सरहको सेवा सुविधासहित राष्ट्रपतिको आर्थिक विज्ञका रुपमा पनि नियुक्ति दिने तयारी थियो । वाग्लेले नै मन्त्री सरहको पोर्टफोलियो हाइर्यारकी भए मात्र सल्लाहाकार हुन्छु, नत्र हुँदिन भनेर निहुँ खोजेका हुन् ।

पार्टी, देश र जनताका लागि सर्वश्वहरण भएका, जेल, नेल, यातना र निर्वासन भोगेका लाखौं, लाख नेता कार्यकर्ता भएको । लामो राजनैतिक इतिहास भएको पार्टी, हजारौं शहीदहरुको बलिदानीले निर्माण भएको पार्टीमो “मुसाफिर”हरु आइरहन्छन्, गइरहन्छन् । राजनीति एउटा निश्चित लक्ष्य लिएर देश र जनताका लागि निस्वार्थ भावले गरिने सेवा हो । मैले भनेजस्तो भएन, मैले पाइन, मलाई थोरै भो, भन्ने हो भने यहाँ फगत कस्ले टिकट पायो ? वा पाएन, को मन्त्री बन्यो ? वा बनेन भन्ने कुराले खास अर्थ राख्दैन अहिलेको देशको महासंकटको बेला । मलाई यो भएन र त्यो भएन, भनेर घुर्की लगाउनेहरुले सोचून् कि– ती गरीब–निमुखा, भोका नांगा जनताले के पाए ? दुःखी गरीब जनताको चुल्हो कसरी बल्दैछ कि बलेको छैन ? धनी झन् धनी र गरीब झन–झन् गरीब हुने यो देशमा वाग्लेजीहरु जस्ता अर्थविद्ले सोचुन् कि– गरीब जनता जो छन्, उनीहरुलाई के प्राप्ति भयो र लाखौं–लाख भोट काँग्रेसलाई रुख चिन्हमा हालीरहेका छन् ।

२०४६ सालको परिवर्तन पश्चात नेपालका पार्टीहरुलाई नातावाद, सिण्डिकेट र बिचौलिया दलालहरुमार्फत चलाउने र निष्ठावान नेता कार्यकर्ताको तेजोवध गर्ने, गराउने खेल हुँदै आएको बारम्बार चर्चाहरु नसुनिएको होइन । हो पार्टीमा मूल्यांकन, न्याय र सन्तुलनको अभाव निश्चय पनि छ । जनतामा आधारित र स्थापित पार्टी भनेको समुन्द्र जस्तै हो । त्यहाँ अनेक चिजबस्तु बगेर आउँछन् । मोती पनि त्यहीँ, सिनो, फोहोर पनि त्यहीँ हुन्छ । चिन्न र छुट्याउन जान्नेले मोती टिप्छ, नजान्ने, नसक्नेले त्यहाँ फोहोर मात्र देख्छ । आजको दुनियाँ ब्यक्तिगत स्वतन्त्रतासहितको बहुदलीय प्रतिष्पर्धात्मक राजनैतिक प्रणालीबाट अघि बढीरहेको छ । दुनियाँका अरु बिकसित राष्ट्रहरुले लोकतान्त्रिक शासन प्रणालीबाटै देशको बिकास गरेका छन् । नेपालको सन्दर्भमा दुनियाँले पत्याएको भरपर्दो अन्तराष्ट्रिय समुदायले पत्याएको जनतामा आधारित लोकतान्त्रिक पार्टी नै छैन, नेपाली काँग्रेस बाहेक । जसको लामो र गौरवमय इतिहास होस । इतिहासका अनेक कालखण्डमा नेपाली काँग्रेसले गरेको क्रान्ति, देशका सबै परिवर्तनहरुमा गरेको नेतृत्वदायी भूमिका, क्रान्ति र शान्तिमा अहम भूमिका निभाउने अहिंसावादी पार्टीको आत्म गौरव त वाग्लेले रविको पार्टीमा गर्न पाउने छैनन् नै । पछि फेरि वाग्ले नेपाली काँग्रेसमा पुनः समाहित हुने नै छन् । अहिलेलाई पार्टी नै छोडेर, त्यसमाथि रवि लामिछानेलाई बीपीसँग तुलना गर्दै पार्टी छोडने जुन काम गरे त्यो अपरिपक्व राजनीतिको उपज हो ।

सार्वजनिक गाली गलौज कांग्रेसको परम्परा होइन । धेरै पटक नेताहरु बीच एक आपसमा बोलचाल बन्द भयो, तर एउटा पनि अपशब्द प्रयोग गरेनन् । गिरिजाप्रसाद कोइरालाको कार्यशैलीका कारण पार्टी परित्याग गर्न वाध्य भएका गणेशमान सिंह विराटनगर जाँदा अरुको घर वा होटलमा कहिल्यै बास बसेनन् । कोइराला निवासमै बसे । वीपी कोइराला निर्वाशनबाट फर्कना साथ राष्ट्रिय पञ्चायतका बहालवाला अध्यक्ष विश्ववन्धु थापा दशैंमा टिका थाप्न पुगे । पानी बाराबारको अवस्था हुँदा पनि गिरिजाप्रसाद कोइरालाले आफ्नो छोरा सरहको उमेरका शेरबहादुर देउवालाई सार्वजनिक रुपमा कहिल्यै ‘तिमी’ भन्ने शब्द प्रयोग गरेनन् । तर स्वर्णिक वाग्ले कांग्रेस र कांग्रेसका नेता तथा कार्यकर्तालाई तथानाम अपशब्द प्रयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । वाग्लेलाई कांग्रेसका कुनै पनि जिम्मेवार नेताहरुले यो अपशब्दको जवाफ फर्काएका छैनन् । वाग्ले लाभको पद पाइन्जेल दुई चार वर्ष कांग्रेसको साधारण सदस्य बने, तर कांग्रेसी हुन भने सकेका रहेनछन् । जुन कुराको थप पुष्टि आइतबार चितवनमा पुगेर गरे । उनले आफ्ना पार्टी अध्यक्ष रवी लामिछाने वीपी कोइराला सरह दूरदर्शी रहेको प्रतिक्रिया व्यक्त गरे । यस्तो प्रतिक्रिया नेपालको राजनीतिक रंगमन्चमा कुनै पार्टीको उम्मेदवारले प्रकट गरेको सायद पहिलो पटक हुनु पर्छ । कम्युनिष्ट पार्टीहरुका झण्डे कार्यकर्ताहरुले पनि आफ्ना आदर्श पुरुष पुष्पलाल र मदन भण्डारीलाई वीपी कोइराला सरह भनेर तुलना गरेको कहीँ कतै सुनिएको छैन । राजतन्त्रलाई आदर्श मान्ने तप्काले पनि राजा महेन्द्र वीपी सरह थिए भनेर कहीँ कतै टिप्पणी गरेको सुनिएको छैन । पछिल्लो समय नेपाली राजनीतिमा उरन्ठेउलाहरुको विगविगी बढ्नुमा मुख्य दोषी कोही छन् भने वीपी, पुष्पलाल र मदन भण्डारीको नाम जपेर शासन सत्ता ओगट्नेहरु नै छ । उनीहरुले प्रदर्शन गरेको कुशासनकै मानस पुत्रहुन् वाग्ले र लामिछानेहरु । उरन्ठेउला केटाहरु सँग जनता आशावादी हुँदै जानु भनेको लोकतन्त्र खतरामा रहेको संकेत हो । यो पंतिकार पनि २०४३ साल देखि निरन्तर यो पार्टीमा सकृय छ । ओठमा जुँगाको रेखी बस्दै गर्दा ति पञ्चायती कालदेखि नेविसंघको सदस्य बनेर जिल्ला सभापति बनेको कसैको दया र मायाले नभएर आफ्नै रगत पसिनाले बनेको हो । संगठन गर्ने क्रममा कम्युनिष्ट संगको भिडन्तमा पटक पटक गरी चौध सार्वजनिक अपराध र दुई ज्यान मार्ने उद्योगको सजाय पनि पाएकै हो । पहिलो ज्यान मार्ने उद्योगको मुद्दा दमननाथ ढुंगाना र सीपी मैनालीको उच्च स्तरिय आयोगले फिर्ता लिएको थियो भने दोस्रो ज्यान मार्ने उद्योगको मुद्दा २०५६ सालमा बनेको सरकारले फिर्ता लिएको थियो । संगठन गर्ने क्रममा ७५ दिनको कारागार बसाई र झण्डै तीन सय दिनको प्रहरी कष्टडी बसेको यो पंतिकार कहिल्यै पद र लाभको पद खोजेन तर स्वर्णिम वाग्ले जीहरु पार्टीमा टाउको छिराउन नपाउँदै लाभ पाइन भनेर बाहिरीनु भनेको अत्यन्तै घृणात्मक कृयाकलाप हो । यो पंतिकार वाग्ले जी को विद्वतालाई उच्च सम्मान गर्छ । तर उहाँको निर्णय गर्ने क्षमता प्रति घृणा पनि गर्छ । वाग्ले जी को विद्वतालाई सम्मान गर्न सकिन्छ विद्वता र लेखन खरिद गर्न पनि सकिन्छ । तर स्वाभिमान त्याग र सिद्धान्त पैसाले पाइने चिज होइनन् भन्न हेक्का ति विद्वान भनिने वाग्लेले राख्न सकेनन् ।

यतिबेला गिरि र चौधरीको भन्दा पनि बढी चर्चा स्वर्णिम वाग्लेले पाएका छन् । नेपाली कांग्रेसको इतिहास लेख्दा वाग्लेको नाम समावेश गर्ने ठाउँ फेला पर्न असम्भव छ । पार्टीमा उनको योगदान कहीँ कतै फेला पर्दैन । विदेशमा जागिर खाएर फर्के लगत्तै कांग्रेसले लगातार तीन वटा लाभको पदमा दिएको नियुक्तिमा बाहेक वाग्लेको नामोनिशान कांग्रेसमा छैन । तर सामाजिक सञ्जाल हेर्दा यस्तो भान हुन्छ की –‘वाग्लेले परित्याग गरेकै कारण नेपाली कांग्रेस समाप्त भयो, वाग्ले बाहेक नेपाली कांग्रेसबाट जसजसले लाभको पद प्राप्त गरे उनीहरु सबैले पैसा बुझाएका थिए, अथवा चाकडी गरेका थिए, वाग्लेले योगदान र क्षमताकै आधारमा लाभको पद प्राप्त गरेका हुन् ।’ हाम्रो समाजको नयाँ पुस्ताको दिमाग कता जाँदैछ ? अध्ययन गर्ने बानी कसरी हराउँदै छ ? एउटा समान्य चटकेले पनि कसरी नेपालको जनमतलाई प्रभावित गर्न सक्छ ? भन्ने मामिला अब गहन चिन्तनको विषय बनिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.