भक्तपुर, साउन २९: भक्तपुरको लोकन्थलीमा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। मंगलबार बिहान स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए । खबर पाउनेवित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले करिव ४५ मिनेटमा बम निस्क्रिय पारेको थियो।
बमको आशंकामा उक्त क्षेत्रमासुरक्षा व्यवस्था कडा पारिएको थियो। मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका थिए।
उक्त सर्भिस ट्र्याक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको थियो । अहिले बम निस्क्रिय पारेपछि सडक सञ्चालनमा आएको छ।
मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, विप्लव समूहले नेपाल बन्दको आयोजना गरेको छ। बन्दले बिहानको जनजीवन सामान्य प्रभावित भएको छ। बिहान सञ्चालन हुने नीजि कलेजहरु बन्द भएका छन्। कतिपय विद्यार्थी तथा शिक्षकलाई बन्दबारे जानकारी नहुँदा कलेज पुगेर फर्केका छन्।