अरुलाई उद्धार गर्ने प्रहरी आफैं जोखिममा

| 2018 Aug 09 | 01:37 pm 1919

बैतडी, साउन २४: जनताको जिउ धनको सुरक्षाको लागि अहोरात्र खट्ने प्रहरी आफू भने चुहिने भवन भित्र बस्न बाध्य छन् । जिल्लाको विभिन्न स्थानमा रहेका प्रहरी चौकीलाई न त सरकाले सुरक्षित भवन उपलब्ध गराएको छ न त स्थानीय सरकारले नै ।

आफ्नै भवन नहुँदाको पीडा जिल्लाका विभिन्न स्थानका प्रहरी चौकीले भोग्न बाध्य भएका छन् । वर्षाको समयमा पानी चुहिने र जाडोको समयमा सित चुहिने कठिनाइसँगै प्रहरी जीर्ण भवनमा बस्न बाध्य छन् ।

भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिएका छन् । । जिल्लामा १९ प्रहरी चौकी भाडाको भवनमा छन् ।

भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन् ।अरुको उद्धारका लागि खटिने प्रहरी कुनबेला जीर्ण भवनहरु भत्किएर आफैं उद्धारका शिकार हुनेहुन भन्न सकिने अवस्था छैन ।

सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.