-
महेन्द्र पाण्डेय
केही दिन अघि नेविसंघ गुल्मी जिल्ला कार्यसमितिका सदस्य अमृत भण्डारीले रिपोर्ट नेपालमा लेखेको एउटा आर्टिकलले उल्लेख गरेको विषय बस्तुले एक छिन मेरो दिमाग रन्थनियो । महाधिवेशन बर्षौसम्म नहुँदा नेविसंघ मार्फत नेपाली कांग्रेसको राजनीतिमा सक्रीय हुन चाहाने युवाहरुको मनोबल गिरेको दुखेसो उनको आर्टिकलमा मिसिएको थियो । अमृत संभावना बोकेका युवा हुन् । यो उमेरसम्म पनि नेविसंघ जिल्ला कार्यसमितिको सदस्य भन्दा माथि पुग्न नसकेकोमा उनी निराश छन् । उनको लेख पढ्दा लाग्छ, अब उनले नेपाली कांग्रेस मार्फत आफ्नो राजनीतिक क्यारियर सफल हुन्छ भन्ने विश्वास लाग्न छाडिसकेको छ ।
म नेविसंघ गुल्मी जिल्ला अध्यक्ष भएको बेला २०५४ सालमा जन्मेका हुन् । अमृत अहिले जुन उमेरमा नेविसंघ जिल्ला सदस्य छन्, त्यो उमेरमा वीपीन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि लगायतका नेताहरु नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका थिए । निधि २३ वर्षको उमेरमा नेवि संघको अध्यक्ष बनेका थिए । देउवा २५, ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाण पनि नेवि संघको अध्यक्ष हुँदा २५ वर्षकै थिए ।
त्यसैले मैले अमृतलाई निराश नहुनका लागि सम्झाउने शब्द नै पाइन । संयोगले साउनको पहिलो साता नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा सहभागी हुन हेटौंडा जाने क्रममा अमृत पनि हामी सँगै भए । वाइरोडको बाटो हुँदै भएको यात्रामा साथी कृष्ण सापकोटाले निकै संयमता पूर्वक गाडी हाँकेका थिए । अमृतलाई निराश हुन नदिन मैले आफैलाई उदाहरण दिँदै कुरा शुरु गरेँ–‘२०४२ सालमा नेपाली कांग्रेससले सत्याग्रहको आयोजना गर्दा म १४ वर्षको थिएँ । त्यतिबेला तमघासमा भएको धर पकड देखेपछि प्रजातन्त्र ल्याउनै पर्छ भनेर राजनीतिमा होमिए । नेविसंघको सदस्य बने । सरकारी पक्षको दमन त सत्याग्रह स्थगित भए सँगै मत्थर भएर गयो । तर अखिल भनिने कम्युनिष्टहरुको जमात बाट बढी दमन हुन्थ्यो । सदरमुकाम तमघासमा त हामीलाई आक्रमण गर्ने आँट खासै गर्दैनथे । तर संगठन गर्न गाउँ तिर जाँदा भने कम्युनिष्टहरुले सधै अवरोध गरिरहे । हामी सुटुक्क जान्थ्यौं, तर उनीहरुले थाहा पाइहाल्थे । २०४६ सालको जनआन्दोलनसम्म हामीले राम्रै संगठन बनाएका थियौं । जनआन्दोलन सफल भए पछि नेवि संघको संगठन विस्तारका लागि प्युठान सँग सिमा जोडिएका क्षेत्रमा जानु पर्ने भयो । किनकी त्यो क्षेत्र पुरै कम्युनिष्टहरुको कब्जामा थियो । तत्कालिन माले र मसालको पकड क्षेत्र थियो त्यो । कांग्रेसका नेता तथा कार्यकर्ताहरु त्यहाँ पुग्न निकै हिम्मत जुटाउनु पथ्र्यो । भौतिक आक्रमणबाट कसरी जोगिने ? भन्ने उपाय अवलम्वन गरेर मात्रै जानु पथ्र्यो । मिति याद भएन हामी गयौं, तर स्कुल पढ्दै गरेका कलिला किशोर किशोरीहरुलाई उचालेर हामी माथि ढुंगा मुढा समेत भयो । ढुंगा मुढा हान्ने जमातमा रहेकी त्यतिबेलाकी किशोरी एमाले मार्फत राजनीति गरेर मन्त्री समेत भएको देख्न पाउँदा मलाई खुसी नै लाग्छ, किनकी उनी त्यतिबेला देखि नै जुझारु थिइन, त्यही अनुसार उनको पार्टीले पनि मुल्यांकन गर्दै गयो, राम्रै भयो ।’
मेरो कुरा अत्यन्त ध्यान दिएर सुनिरहेका अमृतले जिज्ञासा राखे–‘तपाँइ नेता बनेर नेवि संघ गुल्मीको संगठन गर्दै गर्दा राजनीतिमा चासो राख्ने उमेर समेत भइ नसकेका मन्त्री बनि सके, तपाइ आफु कहाँ कहाँ अलमलिनु भयो त दाई ?’
उनको यो प्रश्नले मेरो दिमागमा फेरि दोस्रो झड्का लाग्यो । अब कहाँ अलमलिँए भन्नु ? २०४८ सालको आम निर्वाचन, २०४९ सालको स्थानीय निर्वाचनमा धेरै खटेँ । यो वीचमा एमालेको आक्रमण त कति खेपियो खेपियो ? दिमाग घटनामा चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन, फणिन्द्र भण्डारीलाई बाँधेर घाँस खुवाउँदा छुटाउन जाँदा भएको भिडन्तपछि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । ज्यादती नरोकीय पछि आमरण अनसन बसेपछि सीपी मैनाली र दमननाथ ढुंगानाको उच्च स्तरीय आयोगले त्यो मुद्दा फिर्ता लिएको थियो । साध्य नै भएन । २०५४ सालमा साथीहरुले नेविसंघको जिल्ला सभापति बनाए । त्यतिबेला सम्म माओवादीले आतंक आरम्भ गरिसकेको थियो । एमालेका कार्यकर्ताहरुले राति राति माओवादीको आवरणमा हामी माथि आक्रमण गर्ने नयाँ सिलसिला सुरु गरिसकेका थिए । नेविसंघको अध्यक्षको नाताले कांग्रेसका नेता तथा कार्यकर्ताको संरक्षणका लागि केही न केही गर्नु पर्ने आफ्नो दायित्वलाई सम्झेँ । गाउँ गाउँमा त सम्भव थिएन, जिल्ला सदरमुकाम तमघासमा हामीले अघोषित सुरक्षा दस्ता तयार गर्यौं । कांग्रेसका नेता तथा कार्यकर्ता माथि आक्रमणको प्रयास भएको सूचना तत्काल लिने र तत्कालै सबै साथीहरुलाई पुर्याउने संयन्त्र बनायौं । आपत विपत पर्दा तमघासमा रहेका नेविसंघका साथीहरु १० मिनेट भित्रमा जम्मा भइहाल्ने संयन्त्र पनि बनायौं । केही आपत विपतको सूचना आउना साथ ५०–६० जना साथीहरु तत्कालै जम्मा भइहाल्थ्यौं । यस्तो संयन्त्र बनेको थाहा पाए पछि तमघासमा कांग्रेसलाई आक्रमण गर्ने आँट न त एमालेले गर्न सक्यो, न त माओवादीले नै । यसको नेतृत्व वर्तमान लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गर्नुहुन्थ्यो । तर तमघासमा आफुहरु निस्तेज भएको बदला लिन कम्युनिष्टहरुले गाउँ गाउँमा हाम्रा साथीहरुलाई दुख दिन थाले । तर हामीले हरेस खाएनौं । ५०–६० जनाको दस्ता सहित हरेक गाविसमा हामी जान थाल्यौं । हामीलाई देख्दा उनीहरु डराएर भाग्ने गर्थे । तर हामी भन्थ्यौं –‘तपाईँहरु डराउनु पर्दैन, हाम्रा साथीहरुलाई आफ्ना गतिविधि गर्न दिनोस्, यही हाम्रा साथीहरुले यहाँ एक थप्पड पाएभने तपाँइहरु तमघास आउँदा दुई थप्पड भेट्नु हुने छ ।’ हाम्रो यो चेतावनी पछि उनीहरु निस्तेज भए । तर म लगायत साथीहरु माथि मिडिया प्रयोग गरेर व्याक्तिगत रुपमा बद्नाम गराउने कोसिस भयो । महेन्द्र पाण्डे गुण्डा हो, डन हो भनेर कम्युनिष्टका मुखपत्रमा अफावहहरु प्रवाह गरिए । त्यो अफवाहलाई चिर्न म आफै पनि पत्रकारितामा संलग्न भएँ ।
२०५६ सालको निर्वाचन अघि नै १८ वटा सार्वजनिक अपराधका मुद्दा कम्युनिस्टले लगाएका थिए । सयौं दिन प्रहरीको कष्टडीमा बसियो ठाउँ ठाउँका झडपमा भुवन प्रसाद श्रेष्ठको नेतृत्वमा प्रितम केसी, कविकृष्ण आमत्य, विष्णु प्रसाद बलाल, झवी मरासिनी, मिन प्रसाद श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, विष्णु गिरी, नवराज श्रेष्ठ, बद्री श्रेष्ठ, आनन्द श्रेष्ठ, श्रीप्रसाद भलामी लगायतका मैले अहिले कतिपय नाम बिर्सिए साथीहरु सहभागी हुन्थ्यौं । झडपपछि धेरै साथीलाई केही हुँदैनथ्यो तर मलाई भने तार्जेर नै गरेर मुद्दा हालिन्थ्यो । मैले यि कुरा गर्दा पछिल्लो समय पार्टीमा नेता भएका साथीहरुलाई मन्थन गरिएको कथा लाग्न सक्छ । जयप्रताप मल्ललाई बाँधेर ल्याउँदा छुटाउँदा होस, धुर्कोटमा मसालले आक्रमण गर्दा होस या रेसुंगा क्याम्पस लगायत विभिन्न ठाउँको भिडन्तमा सार्वजनिक मुद्दामा प्रहरीको कष्टडी बसियो । २०५६ सालको निर्वाचन निर्वाचनमा दर्लामचौरमा भएको विशाल आमसभामा मैले बोल्ने समयमा चारै तर्फबाट ढुंगा वर्षाइएपछि एमालेका उम्मेदवार गोकर्ण विष्टका भाई गगन विष्ट घाइते भएपछि म लगायत पदम कुँवर, नविन जिसी, अशोक ज्ञवाली, मेघनाथ अर्याल माथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरियो । पदम कुँवर, नविन जिसी र म ७५ दिन तमघास कारागारमा बस्यौं । सरकारले राजनीतिक मुद्दा ठहर गरी मन्त्री परिषदको निर्णयबाट जेल मुक्त भयौं । सरकारबाट निर्णय भएपनि जिल्ला न्यायाधिशको इजलासमा सुनुवाई हुनुपर्ने रहेछ । गुल्मी जिल्लाको इतिहासमा केन्द्रीय स्तरका बरिष्ठ कानुन व्यवसायी पुगेर बहस गरेको त्यो पहिलो हो । हामीलाई जेलमुक्त गराउन नेता चन्द्र भण्डारीको अहम भूमिका रहेको थियो ।
मुद्धाका अलवा मैले सार्वजनिक अपराधका १८ वटा मुद्धा बेहोरेँ । आर्थिक अवस्था तवाह भयो । धेरै ऋण लाग्यो । मैले त दुख पाएँ पाएँ , बुढी भइसक्नु भएकी आमाले पनि ठूलो दुःख पाउनु भयो, ज्यादै धेरै मानिसक तनाव बेर्होनु भयो ।
२०५९ सालमा नेविसंघको जिल्ला अध्यक्ष पद हस्तान्तरण गरेपछि केन्द्रीय समितिमा भुमिका पाउँछु होला भन्ने आशा थियो । नेताहरुबाट त्यो आवश्वसन पाएको पनि हो । साथीहरुको पनि चर्को दबाव थियो । तर के भएर हो कुन्नी भूमिका पाइन । जिल्ला तहमा खटेको खटै छु । केन्द्रीय तहमा पनि पत्रकारिता मार्फत जति जक्दो योगदान गरेकै छु ।
अहिलेसम्म त कांग्रेस पार्टीले नै संघर्ष बेहोरिरहेका बेला म तृण मुलको सिपाहीले के अपेक्षा गर्नु र ? भनेर चित्त बुझाउँदै आएको हो । अब चित्त बुझाउने ठाउँ पनि नेताहरुले नदिने हुनु की भन्ने लागि सक्यो । आगामी मंसीर ४ गते हुने निर्वाचनमा वर्तमान सत्ता गठवन्धनमा समेल दलहरुबीच तालमेल गर्ने निर्णय भइसकेको छ । यो सहमतिपत्रमा हाम्रा सभापति शेरबहादुर देउवाले पनि हस्ताक्षर गरिसक्नु भएको छ । अब तालमेल हुने नै भयो । तर तालमेल के का लागि ? भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर यदी पाउन सकिएन भने विद्रोह बाहेक अर्को विकल्प छैन ।
नेपाली कांग्रेसको एकल बहुमत आउने संभावना निमिट्यान्न पार्नका लागि तालमेल हुने हो भने विद्रोह बाहेक कांग्रेसलाई जोगाउन अर्को अस्त्र छैन । यदी २०४८ साल देखि निरन्तर चुनाव लड्दै र लाभ लिँदै आएका नेताहरुको व्यक्तिगत स्वार्थलाई निरन्तरता दिनका लागि तालमेल हुने हो भने विद्रोह अपिरहार्य छ ।
मेरो व्यक्तिगत सवालको कुरा हो भने यस पटक नेपाली कांग्रेसले मैदान खाली गरेर कम्युनिस्टलाई मतदान गर्ने गल्ती गर्नु हुँदैन । हाम्रो मत रुख चिन्हमा हाल्न पाउनुपर्छ । जिल्लाभर ५०० मत नहुनेलाई मतदान गर्नु भनेको कसैका लागि आफ्नो स्वाभिमान बिक्रि गर्नु हो भन्ने मेरो ठम्याई छ ।
२०४४ सालदेखि जुन शक्तिसँग बैचारिक र शारीरिक लडाई लड्दै आइयो आज त्यही शक्तिलाई मतदान गर्न बाध्य पारियो भने लोकतन्त्रवादी दाजुभाईको मतका सम्मानका लागि पनि विकल्प सोच्न बाध्य नपारियोस् । नेतृत्वलाई चेतना भया ।