मेरो स्मरणमा मथुरा प्रसाद श्रेष्ठ

रिपोर्ट नेपाल | 2022 Jul 29 | 12:39 pm 4517

  • महेन्द्र पाण्डेय

त्यतिबेला गुल्मी जिल्ला सदरमुकाम तमघासमा दिनहुँ जसो कुनै न कुनै सामाजिक गतिविधिहरु हुन्थे । कहिले काँही त दिनको दुई–तीन वटा सम्म सार्वजनिक कार्यक्रमहरु हुन्थे । राष्ट्रिय दिवसका बेला त सिडिओ कार्यालयको निर्देशन तथा सहभागितामै कार्यक्रम हुने भइहाले । त्यस बाहेक विभिन्न चाड पर्वका अवसरमा जनस्तरका थुप्रै कार्यक्रम हुन्थे । विद्यालय, मठमन्दीर, साना तिना विकास आयोजना निर्माणका लागि जनसहभागिता बाहेक अर्को विकल्प थिएन । जनसहभागिताका लागि पनि विभिन्न कार्यक्रम हुने नै भए ।

१२–१३ वर्षको उमेरदेखि यस्ता कार्यक्रमहरुमा म पनि निरन्तर सहभागी हुन थालेँ । एक प्रकारले भन्नु पर्दा मलाई त्यतिबेला देखि नै समाजिक कार्यक्रममा सहभागी हुने बानी परेको हो । गन्यमान्य तथा सामाजिक अगुवाहरुले हामी किशोरहरु प्रति खासै चासो दिँदैनथे । बोल्नु त परै जाओस हामीले गरेको नमस्कार फर्काउने चलन थिएन । तर तिनै समाजिक अगुवामध्ये एक जनाले मेरो किशोर मनोभावनालाई आकर्षित गर्नु भयो । सँधै सफा र चिटिक्क परेका कपडा लगाउने, फरासिलो बोली, हामीले नमस्कार गरे पछि मुसुक्क हाँस्दै नमस्कार फर्काउने, हाल खवर सोध्ने, ज्यादै फुर्तिलो शरीर भएका एक जना भलाद्मी प्रति म आकर्षित भएँ । अरु भन्दा उहाँ किन पृथक हुनुहुन्छ ? भन्ने चासो लाग्न थाल्यो । नाम मथुराप्रसाद श्रेष्ठ हो । तमघासमा मात्रै नभएर गुल्मी जिल्लाका सबै गाउँघर सम्मकाले उहाँलाई मान्छन् भन्ने थाहा थियो, तर किन मान्छन्, उहाँको पृष्ठभूमी के हो ? भन्ने कुरा खासै थाहा थिएन ।

उहाँको पसल र मेरो घरको दुरी खासै टाढा थिएन । तर केटाकेटी उमेर भएका कारण घरमै गएर उहाँ सँग कुरा गर्ने हिम्मत भएन । जाउँ जाउँ त लाग्थ्यो, तर गएर के भन्ने जस्तो हुन्थ्यो । त्यतिबेलासम्म तमघास त्यस क्षेत्रको निकै ठूलो बजार भइसकेको थियो । जिल्ला सदरमुकाम समेत भएका कारण तमघासको साँघुरो बजारमा कर्मचारी तथा सेवाग्राहीहरुको भीड ठूलै हुन्थ्यो । किनमेल गर्न पनि टाढा टाढाबाट मान्छेहरु आँउथे । सामाजिक अगुवाहरुलाई खासै फुर्सद हुँदैनथ्यो । सानै उमेरदेखि मलाई खोई किन हो प्रजातन्त्र प्रति माया जागेको थियो र म नेविसंघ मार्फत सक्रीय राजनीतिमा लागि सकेको थिए । मलाई नेविसंघको राजनीतिमा सक्रीय बनाउनेमध्ये एक जना हुनुहुन्थ्यो, भुवनप्रसाद श्रेष्ठ । भुवन दाजु त तमघास क्षेत्रका हामी किशोरहरुका आइडल जस्तै बन्नु भएको थियो । भुवन दाईका पिता भएका कारण मथुरा बुबा पक्कै पनि कांग्रेस हुनुहुन्छ भन्ने कुरामा मलाई कुनै द्धिविधा रहेन । त्यतिबेला कांग्रेसमा आवद्ध हुनेहरुलाई नेविसंघमा सक्रीय युवाहरुले असाध्यै श्रद्धा गर्ने चलन थियो । एक दिन भुवन दाईलाई भेटन गएँ । उहाँ बाहिर कतै जानु भएको रहेछ । मथुरा बुबाले भन्नु भयो –‘एक छिन पर्ख, महेन्द्र बाबु, चिया खाएर जाउला ।’ त्यस भन्दा अघि मथुरा बुबा सँग छुट्टै बसेर राजनीतिक तथा समसामयिक छलफल गर्ने सौभाग्य मैले पाएको रहेनछु । उहाँले कुरा आरम्भ गर्न थाले पछि म आफै लज्जित हुन पुगेँ । उहाँ त गुल्मी क्षेत्रका नेताका पनि नेता हुनुहुँदो रहेछ । मलाई नेवि संघ मार्फत राजनीतिमा सक्रीय गराएको त उहाँले नै पो रहेछ । एकै ठाउँको भएर पनि उहाँलाई बास्तविक रुपमा चिन्न मलाई १६–१७ वर्षको उमेर सम्म पर्खनु परेकोमा म लज्जित भएँ ।

२००७ सालमै नेपाली कांग्रेसको सदस्यता लिइसक्नु भएका उहाँ त कुसल संगठकका रुपमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पत्याएका नेता पो हुनुहुँदो रहेछ । गुल्मी जिल्लामा नेपाली कांग्रेसको अस्तित्व जोगाउन उहाँको अहं भूमिका रहेछ । ग्राम विकासको कार्यकर्ता बनेर गाउँ गाउँ छिरी अत्यन्त गोप्य रुपमा कांग्रेसको संगठन बनाउनु भएको रहेछ । पछि बुझ्दै जाँदा थाहा पाएँ –‘गुल्मी जिल्लाका कुनै घर आँगन नै रहेनछन् जहाँ उहाँका पाइला नपरेका होउन ।’ ग्राम विकास कार्यकर्ताको आवरणमा उहाँ विउ, विजन, सहित कृषि प्रविधि सिकाउन घर घरमा पुग्नु हुँदो रहेछ । केटा केटीहरुलाई पढ्न लेख्न समेत सिकाउनु हुँदो रहेछ । गोप्यता खुस्कँदैन भन्ने पुरै एकीन भए पछि पंचायती व्यवस्था के के कारणले नराम्रो हो ? किन बहुदलीय संसदीय व्यवस्था आवश्यक पर्छ ? भनेर कन्भीन्स गरिदिनु हुँदो रहेछ । उहाँले गरेको यो गतिविधिको सुँइको सम्म सरकारी प्रशासन र पंचहरुले पाएनन् । शमशेरबहादुर खत्रीको टाउको काटेर गाउँ र बजार घुमाए पछि गुल्मीमा कांग्रेस हौं भनेर खुला रुपमा देखा पर्ने हिम्मत कमैले गरे । जो देखा परे, उनीहरुका गतिविधिलाई प्रशासनले सुक्ष्म निगरानी गरिरह्यो । उनीहरुले संगठन गर्न नै पाउने कुरा नै भएन, जनता बीच जान सक्ने त कुरै भएन । त्यसैले पंचायतले ठानेको थियो–‘गुल्मी जिल्लामा कांग्रेसको गतिविधि छैन, बरु कम्युनिष्टहरुको गतिविधि बढ्न थालेको छ ।’

तर २०१५ सालमा गुल्मीका कांग्रेसको जस्तो पकड थियो , त्यो कायमै रहेछ भन्ने कुरा २०४८ सालको आम निर्वाचनमा पुष्टि भयो । गुल्मीका तीन वटै सिट कांग्रेसले चुनाव जित्यो । २०४८ सालको आम निर्वाचनमा गुल्मीको क्षेत्र नं १ बाट झकबहादुर पुन, क्षेत्र नं २ बाट भागवत ज्ञावली र क्षेत्र नं ३ बाट रुद्रमणि शर्मा भण्डारीले चुनाव जित्नु भयो । तर त्यस यता संसदीय निर्वाचनमा नेपाली कांग्रेसले कहिल्यै विजय हासिल गर्न सकेन । दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र नं. १ बाट कृष्ण बहादुर छन्त्याल र क्षेत्र नं. २ बाट चन्द्र भण्डारीले निर्वाचन जितेपनि संसदीय निर्वाचन भने नेपाली कांग्रेसले पराजय भोग्नु पर्यो । २००७ साल देखि नेपालको राजनीतिलाई नजिकबाट नियाल्नुभएका मथुरा प्रसाद श्रेष्ठले पछिल्ला दिनमा भने राजनीतिलाई भन्दा आध्यात्मक र अध्ययनलाई बढी महत्व दिएको पाइन्छ ।

म नेविसंघ गुल्मी जिल्ला अध्यक्ष रहेको बेला मथुरा प्रसाद बुबाले मलाई संस्कार र संस्कृतिका विषयमा धेरै कुरा सिकाउनुभएको थियो । त्यतिबेला उहाँ राजनीतिबाट अलि टाढा रहेर अद्धैत संस्थामा लागेर तमघासमा विभिन्न कार्यक्रमहरु गर्नु हुन्थ्यो । अद्धैत संस्थालाई केवल धार्मिक संस्थाका रुपमा मैले लिएको थिएँ । उमेर बढे सँगै उहाँ धर्मकर्म तथा आध्यात्मतिर लाग्नु भएको होला जस्तो मलाई लागेको थियो ।

समय समयमा उहाँसँग भेट हुँदा उहाँले भन्नुहुन्थ्यो –‘महेन्द्र बाबु, अबको प्राथमिकता भनेको राजनीतिक चेतना भन्दा पनि शैक्षिक चेतना हो, जनतालाई पढ्ने लेख्ने बानी बसाउनु पर्छ । हाम्रो पूर्वीया दर्शनका बारेमा ज्ञान दिनु पर्छ । अनि मात्रै प्रजातन्त्र दिगो हुन्छ, जसरी नमरी स्वर्ग पुगिन्न, त्यसरी नै नपढी संसार बुझिन्न ।’

त्यतिबेला उहाँले भनेका केही कुराहरु अहिले पनि मेरो मानसपटलमा अमेट भएर बसेका छन् ।

१.नपढेको मान्छेलाई समाजले गन्दैन, उसले जतिसुकै बकबक गरेपनि उसको अज्ञान केही क्षणमै थाहा भैहाल्छ । अनि पढ्ने मानिसले जतिसुकै ढाकछोप गरेर म पढ्दीन भने पनि उसको परिचयको एक झुल्कोले नै किरण बताइहाल्छ ।

२. मानिस पढेरै ठूला (असल) भएका हुन् । नपढी कोही पनि ठूलो (असल) हुँदैन । नपढेको मानिस रूपमा ठूलो भए पनि त्यो व्यक्तित्वमा सानो हुन्छ । पढेको मानिस रूपमा सानो भए पनि व्यक्तित्वमा ठूलो हुन्छ ।

३. मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो ।

४. पढेको मानिस होकी होइन भन्ने कुरा उसको एक झल्को अभिव्यक्ति वा एक हरफ लेखनबाटै पत्तो लाग्छ ।

५. जो पढ्छन् ती महान् छन् । जो पढ्दैनन् ती जहानका लागि मात्रै हुन् ।

आज भन्दा २६ वर्ष अगाडी मथुरा बुबाले जे भन्नु भएको थियो, त्यो पुष्टि भएको अनुभूति मलाई भएको छ । उहाँले ६२ वर्षको उमेरमा अद्धैत संस्थामा समाहित भएर अध्ययन सुरु गर्नु भयो । लगातार १५ वर्षको अध्ययन पछि विद्यावारिधी अर्थात पिएचडी सरहको उपाधी पाउनु भएको छ । त्यसैले मथुरा बुबाको विषयमा लेख्दै गर्दा अद्धैत संस्थाको विषयमा उल्लेख गरिएन भने कखरा नसिकेको व्यक्तिलाई लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य हातमा थमाएको जस्तो हुने छ ।

के हो अद्धैत संस्था ?

अद्धैत संस्था संरक्षण मञ्च डाक्टर क्षितिजचन्द्र चक्रवर्तीले स्थापना गर्नुभएको संस्था हो जहाँ चार वेद, अठार पुराणको सारबाट चक्रवर्तीले तयार पार्नुभएको ग्रन्थबारे ज्ञानको चर्चा गरिन्छ । सरल भाषामा भन्नुपर्दा अघिल्लो जन्ममा गरिएको कर्मको आधारमा यस जन्ममा कर्मको भोग गरिने हो । आगामी जन्म हामीले गरिने कर्मको आधारमा हुने भएकाले चित्त शान्त गर्दै आत्म र परामात्मबारे मनन गर्दै चौरासी लाख जुनी भोगको भवसागरको प्रक्रियाबाट बाहिर रही मुक्त हुनु भन्ने हो । चित्त शान्त गर्दै आफ्नो नित्य कर्मको भोग गरी ईश्वरको शरणमा पुग्नु भन्ने हो ।

हामीले वेदको बारेमा त सुन्दै आएका छौं यद्यपी हामीमध्ये धेरैले यसको अध्ययन गरेका छैनौं । यसर्थ यो ग्रन्थ हाम्रो लागि रहस्यमयी छ । वेद विश्वकै पहिलो धर्मग्रन्थ मानिन्छ । के विश्वास गरिन्छ भने ईश्वरले ऋषिमुनीलाई सुनाएको ज्ञानमै वेद आधारित छ । यसैले यसलाई श्रृति पनि भनिन्छ । सामान्य भाषामा वेदको अर्थ हो, ज्ञान । वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो । यसमा मान्छेको हरेक समस्याको समाधान छ । वेदमा ब्रम्हा, देवता, ब्रम्हान्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रीति रिवाज आदि सबै विषय संग्रहित छ । अग्नि, वायु, आदित्य र अंगिराले तपस्या गरे र ऋग्वेद, युजुर्वेद, सामवेद र अथर्ववेदको प्राप्त भएको मानिन्छ । प्रथम तीन वेदलाई अग्नि, वायु र सूर्य (आदित्य)सँग जोडिन्छ । एक ग्रन्थ अनुसार ब्रम्हाजीको चार मुखबाट वेदको उत्पति भएको हो । यसैगरी मानव सभ्यताको लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज पनि वेद हो ।

डा. क्षितिजचन्द्र चक्रवर्तीको निधनपछि उहाँका छोरा प्रताप चक्रवर्ती यो संस्थाको प्रमुख रहँदै आउनु भएको छ । यो संस्था मार्फत दशौं हजार नेपालीले बेद तथा १८ पुराणका रहस्यहरु अध्ययन गर्ने मौका पाइसकेका छन् । संस्थामा देशभरी ५ सय शाखा छन् । करिब ३० हजार सदस्य छन् ।

२०७९ बैशाख १२ गतेदेखि मुथुरा बुबा ९० वर्ष पुरा गरी ९१ औं वर्षमा प्रवेश गर्नु भयो । तर सक्रीयता उस्तै छ । मेरका कारण शारिरिक सक्रीयतामा कमी आउने नै भयो , तर मानसिक सक्रीयता भने अझ बढेको छ । बुबा सँग एक घण्टा मात्रै विताउने अवसर पाउने हो भने पनि धेरै ज्ञान आर्जन गर्न सकिन्छ ।

No description available.

मथुरा बुबा यो उमेरमा पनि खाली भयो कि कुनै न कुनै पुस्तक लिएर पढ्ने र लेख्ने गर्नुहुन्छ । हामीले युवत्व उमेरमा खोज्छौं तर, युवा भनेको उमेर नभएर विचार हो, भन्ने कुरालाई बुबा मथुरा प्रसाद श्रेष्ठले प्रमाणित गरिदिनुभएको छ । उहाँले लिपीबद्ध गरेका कुरालाई उहाँकी नातिनी दिया श्रेष्ठले बुबा अब तपाई बुढो हुनुभयो हिड्दा पनि लर्खराउनुहुन्छ हजुरको त्यो लिखित लिपीलाई पुस्तकको आकार दिउँ भनेपछि उहाँले मेरा अनुभुतिहरु भन्ने सानो हाते पुस्तक प्रकाशित गर्नुभएको छ । हजुर बुबा प्रतिको माया र उहाँको अनुभूति दस्तावेजीकरण गर्न प्रेरणा दिने छोरी दियालाई यो पंतिकारको स्यालुट छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.