बर्दिवास, साउन १५ : महोत्तरी जिल्लाको बर्दिवासमा एक बालकको सर्पले टोकेर मृत्यु भएको छ । पश्चिम नेपालको कैलाली जिल्लाको अत्तरिया घर भई आफन्तको आश्रयमा बर्दिवास–१४ स्थित सिद्धार्थ आवासीय विद्यालयमा युकेजीमा अध्ययनरत आठ वर्षीय बालक दशरथ ऐरको सर्पले टोकेर ज्यान गएको छ ।
विद्यालयको छात्रावासमा सुतेकै बेला सर्पले डसेको ऐरलाई आज मंगलबार बिहान मात्र सर्पदंश उपचार केन्द्र बर्दिवास पुर्याइएको थियो । केन्द्रमा पुर्याउँदा नै बालक जीवित नरहेको डाक्टरले बताएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
कक्षा ९ मा अध्ययनरत अर्का १३ वर्षीय आशीष ढकाललाई पनि सर्पले डसेको थियो । आशीष भने सघन उपचारले ठीक भएका छन् । उनलाई भेण्टिलेटरसहितको सुविधा भएको ठाउँमा थप उपचारका लागि अभिभावकले जनकपुर अस्पताल पुर्याएका इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिएका छन् ।