सिद्धार्थमा सधैं जोखिम, ११ वर्षमा ५१ दुर्घटना, ७४ जनाले गुमाए ज्यान

रिपोर्ट नेपाल | 2018 Jul 30 | 07:35 am 2330

पाल्पा, साउन १४: तानसेन-बुटवल सडकअन्तर्गत सिद्धबाबा खण्ड जम्माजम्मी चार किलोमिटर हो। यही छोटो दूरीमा दुर्घटनाको शृंखला भने निकै लामो छ। ११ वर्षमा ५१ दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन्।

तीमध्ये पनि बढी दुर्घटना दुई किमि क्षेत्रमा भएका छन् । पहाडबाट खस्ने ढुंगा, माटो र पहिरोले कतिखेर सवारीसाधन पुर्ने हो, पत्तो हुँदैन।

‘घर जाँदा–आउँदा सिद्धबाबा पार नगर्दासम्म भगवान् पुकार्नुपर्छ,’ गुल्मीका विमल घिमिरेले भने, ‘वर्षा होस् कि हिउँद, सधैं त्रासमै हिँड्नुपर्छ ।’ यो सडकमा सवारी गुडेको ४७ वर्ष नाघिसकेको छ । तिनाउ ३ गड्डाका जंगबहादुर सुनारको अनुभवमा सिद्धबाबा क्षेत्रमा सुरुदेखि नै यस्तै जोखिम छ । ‘डरलाग्दो भीरमा बम हानेर खोलिएको सडक हो,’ उनले सम्झिए, ‘गाडी गुड्न थालेदेखि नै ढुंगा खस्ने र पहिरो जाने समस्या छ।’ २०२२ सालमा निर्माण थालिएको सिद्धार्थ राजमार्ग २०३५ सालमा सरकारलाई बुझाइएको हो। ‘५१ वर्षदेखि यही सडक हेर्दै जीवन बित्यो,’ सुनारले भने, ‘सिद्धबाबा सडक सुधार्न कुनै सरकारले पहल गरेन।’

यो सडकबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायत १२ जिल्लाका सवारीसाधन गुड्छन्। सिद्धबाबा क्षेत्रमा माथि पहाड छ। तल तिनाउ बग्छ। ‘डुम्रेबाट बुटवलसम्म निकै डर लाग्छ,’ बसचालक चन्द्रबहादुर थापाले भने, ‘दोभानबजार कटेपछि रामराम भन्दै चिडियाखोला पुगिन्छ।’ बर्सेनि दुर्घटना हुँदा पनि सरकारले यात्रा सुरक्षित बनाउन नसकेको उनको गुनासो छ।

कहिले रकनेट, रकसेडको चर्चा चल्छ। सुरुङमार्ग, मिनी टनेल निर्माण र पूरै पहाड काट्नेसम्मका विषयमा छलफल हुन्छ। तर कुनै काम अघि बढेका छैनन्। ‘दैनिक बुटवल आउने जाने गर्नुपर्छ, सधैं त्रासको यात्रा हुन्छ,’ तिनाउ ३ का विष्णु पाण्डेयले भने, ‘सबैभन्दा बढी डर लाग्ने चार किमि हो।’ सिद्धबाबा मन्दिर आउने श्रद्धालुसमेत पहिरोमा परेका छन् । ढुंगाले लागेर ज्यान गुमाएको खबर कान्तिपुर दैनिकमा छ।

सडक भिजन कार्यालयका इन्जिनियर पवित्रमणि आचार्यका अनुसार यस क्षेत्रमा जति राम्रो काम गर्दा पनि सडक टिकाउन सकिँदैन। ‘भौगोलिक संरचनाले नै समस्या ल्याएको छ,’ उनले भने, ‘माथिबाट ढुंगा खसेर सडक भत्केको हो।’ सडक सुरक्षित बनाउन बुटवलदेखि दोभान, झुम्सासम्म सुरुङमार्ग, हाफ टनेल, बेन्चकट, रकनेटलगायत प्रविधि अपनाउन सकिने बहस चलेको छ । सडक डिभिजनले पनि वैकल्पिक योजना बनाएको छ तर कुनै पनि निष्कर्षमा पुगेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.