दार्चुला, माघ २७ः प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।
उनले तिंकर सडक अन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ । वि.सं २०६५र६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ ।
धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि रहेका छन् । दार्चुलामा रहेको गुरु गोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन् ।